Logo

नेपालमा क्रिकेट खेल

यूएईले नेपाललाई दियो विशाल लक्ष्य

काठमाडौं – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले एकदिवसीयमा सबैभन्दा ठूलो लक्ष्य पाएको छ । आसिफ खानको कीर्तिमानी शतकमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको हो । खानले नटआउट रहँदै ४२ बलमा ११ छक्का र ४ चौकासहित १०१ रन बनाएका हुन् । आसिफ खान एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् ।

बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको हो।यसअघि लिग-२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो ।त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारेका हुन् ।

त्यस्तै यूएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाए । ४९ बल सामना गरेका उनले ६ छक्का र २ चौकासहित उक्त योगफल तयार गरेका हुन् ।नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा २ मेडन राख्दै उनले १९ रन खर्चिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए ।

त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै ८ ओभरमा गुल्सन झाले ६३ रन खर्चिए । ४ ओभरमा कुशल मल्लले ३८ रन दिँदा आरिफ शेखले १ ओभरमा ६ रन दिए ।

बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।

पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ । नेपाल क्रिकेट संघका अनुसार बिहीबारको खेलका लागि मैदानको क्षमता बराबरको टिकट बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्