Logo

ग्लोबल नेपाली फिल्म अवार्ड युनिटले नेपालमा पनि गर्यो ‘विशेष कार्यक्रम’

स्तावेज संवाददाता कार्तिक १८ गते शनिबार २०७४,काठमाण्डौं – गत अगष्ट १९ अर्थात् भदौ ३ गते अमेरिकाको कोलोराडोमा भव्य र सभ्य रुपले सम्पन्न गरिएको दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड आयोजक समितिले नेपालमा पनि सो अवार्डको विशेष कार्यक्रम भब्यतापूर्वक सम्पन्न गरेको छ । नेपाली कला क्षेत्रका अग्रज तथा नयाँ कलाकारहरूको उपस्थिति र विभिन्न प्रस्तुतिका साथमा कलाकार एवं पत्रकारहरुको सम्मान गर्दै राजधानीमा अवार्ड विशेष कार्यक्रम सम्पन्न गरिएको हो ।

 नेपाल पर्यटन बोर्डमा शनिवार आज आयोजित सो कार्यक्रममा अमेरिकाको कोलोराडोमा आयोजित अवार्डमा सहभागी हुन नपाएका तथा अवार्ड सफलतापूर्वक सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका कलाकार र पत्रकार साथै विभिन्न व्यक्तिलाई अवार्ड तथा मायाको चिनो प्रदान गरिएको थियो । गोरखापत्र दैनिकका दीपक श्रेष्ठ, बिआरटी नेपाल डटकमकी सुष्मा देवकोटा, दस्ताबेज अनलाइनकी सम्पादक दीपशिखा शर्मा र सिएनएनई डटकमका सम्पादक सूर्य चन्दलाई मिडिया सपोर्टका लागि सम्मान सहितको मायाको चिनो प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नायक आर्यन सिग्देल, निर्देशक तथा पत्रकार गणेश पाण्डे, सङ्गीतकार तारा प्रकाश लिम्बु, गायिका मिना निरौला लगायतलाई ग्लोबल नेपाली फिल्म अवार्ड २०१७ ले सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा आवार्ड आयोजना, प्रवर्द्दन र सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग पुर्‍याउने शेर्पा ब्रुअरी , नेपाल पर्यटन बोर्ड, प्रभु बैङ्क, सिटौला ब्रदर्श, चलचित्र विकास बोर्ड, होटेल कन्ट्रीभिल्ला, नेपाल टेलीकम, कलाकार सुनिल कटुवाल, नवल खड्का, मोहन निरौला लगायतलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

जादुगर तथा हास्य कलाकार महादेव त्रिपाठी, नायिका तथा आइटम डान्सर दीपा थापा मगर, अर्की नायिका तथा मोडेल डान्सर दिपासा बिसी, गायिक मिना निरौला, विश्वकै होचा कलाकार दिपेन शाह,रमेश श्रेष्ठ, लगायतका कलाकारको प्रस्तुति रहेको कार्यक्रममा नायक शिव श्रेष्ठ र कलाकार लक्ष्मी गिरीले पनि साथ दिँदा कार्यक्रमको रौनक बढेको थियो । 

अवार्ड विशेष यस कार्यक्रमा कलाकर्मीहरु सुनिल थापा, आकाश अधिकारी, शिव श्रेष्ठ, नवल खड्का, विनोद मानन्धर, केदार घिमिरे (माग्ने बुढा), आर्यन सिग्देल, लक्ष्मी गिरी, राम केशर बोगटी लगायतको बाक्लो उपस्थिति रहेको थियो । अवार्डको बारेमा र अवार्डमा सहयोग गर्ने बिभिन्न संघ सस्थालाइ ग्लोबल फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले धन्यबाद दिनुभयो । 

आगामी ग्लोबल फिल्म अवार्ड – २०१८ अष्ट्रेलियामा आयोजना भव्यतापूर्वक गरिने घोषणा गर्नुभयो ।  उक्त अवसरमा नेपाली चलचित्रका ख्याति प्राप्त व्यक्तिहरुको साथै सेलिब्रेटीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको अन्तमा अमेरिकाको कोलोराडोमा सम्पन्न भएको अवार्डको भिडियो दृश्यपनि देखाईएको थियो । 

फोटो सौजन्य, बीआरटी नेपाल डट कम

प्रतिक्रिया दिनुहोस्