कविता – परदेशबाट तिहारको सम्झना
– सिन्धु पौडेल
जसरी तिहारको आगमनमा
फूल्छन् ढकमक्क सयपत्री-मखमली
आँगनको डिलमा उत्साह बोकेर
त्यसै गरी झुल्दाहुन् आँखाको डिलमा
आँसुका दानाहरु घरदेशीका
परदेशी आउने बाटो हेर्दै ।
फरियाको सप्कोले आँसु पुछ्दै गरेकी
आमालाई सम्झाउँदो हो भाइ
लुकाएर आँसु पुरुष आँखाभित्र
धेरै सालहरु बिते
तिहारमा आउँदा मखमली जस्तै नओइलाउने
दीर्घायुको कामना बोकेर आउने
परदेशी दिदीको दीर्घ प्रतीक्षामा
झुठो बोलेकी छैन दिदीले
बाध्यता यता झन् चर्कोछ ।
नसम्झिनू,
प्रत्येक तिहार नजिकिदै गर्दा
बाचा भुल्छे दिदीले
किमार्थ त्यसो होइन
यो मन अझ बेसी रोएकोछ
तथापि,
एक धर्को सप्तरङ्गी टीकाको साथमा
एक अञ्जुली आशीर्वाद पठाइएदिएकी छु मनमनै
हाँसेर ग्रहण गर्नू, रोएर होइन ।
देउसी/भैलोमा साथी-सङ्गीहरुले
मेरो खोजीमा मन अमिलो नपार्नू
बरु पल्टाउनू सम्झनाका
ती थुप्रै तिहारहरु
जहाँ म एकसाथ रमिरहेकी हुनेछु
म पनि यहाँ भौतिक रुपमा कैदी छु
चार दिवालभित्र श्रम बेच्दै
तर आत्मा त्यतै पठाइदिएकी छु
सङ्गै छन् अनेक पुराना सम्झनाहरू
फूल टिपेको,माला गासेको
देउसी-भैलो खेलेको,दीपावली गरेको
गाई पुजेको,भाइ पुजेको
टीका-माला लगाको ।
भाइ,
यी सबै सम्झनाहरू पठाईदिएकी छु
तिनै सङ्ग मानाउनू तिहार
रमाउनू तिहार
परदेशमा त तिज/तिहार पनि
केवल सम्झनामा त आउने रहेछन्
समयले साँचे
अर्को सालको तिहार मनाउँला
छुटेका सप्पै तिहारहरुको
एकमुष्ट सम्झनामा ।