Logo

एनआरएनएको अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी, त्रिपक्षीय प्रतिस्पर्धामा कसको पकड बलियो ?

             अध्यक्ष पदका उम्मेदवारहरु क्रमश:भवन भट्ट ,जमुना गुरुङ र टेकबहादर कार्की (टीबी)

गैरआवासीय नेपाली संघ (एनआरएनए)को भावी अध्यक्षका लागि वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना गुरुङ (घले)ले पनि उम्मेदवारी घोषणा गरेकी छन् । एनआरएनएको सातौं विश्वसम्मेलन आगामी शनिबारदेखि काठमाडौंमा शुरु हुँदैछ ।

यसअघि एनआरएनएको अध्यक्षका लागि भवन भट्ट र टीबी कार्कीेले उम्मेदवार घोषणा गरिसकेका थिए । घले पत्नी जमुनाले उम्मेदवारी घोषणा दिए पछि एनआरएनएको चुनावमा नयाँ तरंग आएको छ । दुई कार्यकाल अध्यक्ष खाइसकेका शेष घलेले विधानअनुसार अवको कार्यकालका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्न नपाउने भएपछि आफ्नी पत्नीलाई अगाडि सारेका बुझिएको छ ।

यसअघि छैटौं विश्व सम्मेलनबाट घलेकै प्यानलबाट उपाध्यक्षमा विजयी भएका भवनले भने छुट्टै प्यानल बनाइसकेका छन् । यद्धपि भट्टले आफ्नो प्यानल भने औपचारिक रुपमा घोषणा गरेका छैनन् । उम्मेदवार चयनको अन्तिम चरणमा आईसीसी सदस्य जमना गुरुङपनि अध्यक्ष पदमा भिड्ने निष्कर्षमा पुगेपछि प्रतिस्पर्धा अत्यन्त रोमान्चक हुने भएको छ । शभेच्छुकहरुको चौतर्फी दवाव र एनआरएनएमा बढेको ध्रुवीकरण एवं शेष घलेको कार्यकालमा शुरु गरिएका लोकप्रिय योजना अलपत्र पर्ने संकेत देखिएपछि जमुना गुरुङ स्वयं अध्यक्ष पदमा लड्ने निष्कर्षमा पुगेको गुरुङ निकट सचिवालय श्रोतले बताएको छ । उपेन्द्र महतो,देवमान हिराचन,जीवा लामिछाने हुँदै शेष घलेसम्म आईपुग्दा एनआरएनएको छवी नेपालमा ह्वात्तै बढेको छ ।

 नीडर स्वभावकी जमुना गुरुङ धनाढ्य र सफल महिलाहरुको सूचिमा पर्न सफल छिन् । घले दम्पतीको ६४ करोड ७० लाख डलर सम्पती रहेको छ । शेष घले अध्यक्षमा निर्वाचित भएपछि जमुना देशको हरेक नीति निर्माण र कार्यहरुमा पूर्ण रुपले लागिपरेकी छिन् । त्यसैले पनि अध्यक्ष पदमा उनको उम्मेदवारी अपरिहार्य भएको बिश्वस्त श्रोत बताउँछ ।

अध्यक्ष पदको दाबेदारको रुपमा लिईएका भवन भट्टमा भिजनको कमी भएको एवं समय ब्यवस्थापन गर्न नसक्ने भन्दै उनको हातमा नेतृत्व हस्तान्तरण गर्दा एनआरएनएको छवी बिग्रीने घले पक्षको दाबी छ । तथापि भवन भट्ट एनआरएनएका अभियन्ता हुन् । उनले एनआरएनएमा दुई कार्यकालको भूमिका निर्वाह गरिसकेका छन् । रेष्टुरेन्ट ब्यवसायबाट आर्थिक समृद्धिको फड्को मारेका भवन भट्टले नेपालमा दैनिक पत्रिका प्रकाशन गर्नुका साथै भौतिक पूर्वाधार कम्पनीको अध्यक्ष पनि बनिसकेका छन् । अपितु त्यो संस्था धरासयी बनिसकेको छ । भवन भट्टलाई सघाउन उपाध्यक्ष कुमार पन्त,एनआरएन संरक्षक जीवा लामिछाने एवं डा. उपेन्द्र खुलेर लागिपरेका समेत बताईएको छ ।

अध्यक्ष पदका अर्का दाबेदार हुन् टेकबहादर कार्की (टीबी) । अघिल्लो चुनावमा उनी शेष घलेसँग पराजित भएका थिए । उनिसँग गल्फको बलियो भोट रहेको बताईएको छ । भवन भट्टको एकल उम्मेदवारी देखिएपछि टीबी कार्की पुन मैदानमा उत्रिएका हुन् । उनि कुनैपनि हालतमा भवन भट्टलाई सहयोग गर्ने मनस्थितिमा नरहेको बताईएको छ । यसकारण पनि कार्कीको उम्मेदवारी बलियो रहने लगभग निश्चीतप्राय छ ।

को को छन् त अन्य सम्भावित उम्मेदवारहरु ?

बर्तमान उपाध्यक्ष कुमार पन्त उपाध्यक्षमै दोहोरिने भएका छन् । युकेका कुल आचार्य ,अमेरिकाका खगेन्द्र जी.सी.र सोनाम लामा,कतारका नरेन्द्र भाट,पुष्प थापा,चिरन्जीवी थापा पनि उपाध्यक्ष पदमा भिड्ने देखिएको छ । एनआरएनएको बिधानमा उल्लेख गरिए अनुसार खल्लामा दुई र महिला उपाध्यक्ष एक गरी तीनजना उपाध्यक्ष रहने व्यवस्था छ । महिला उपाध्यक्षमा सपिला राजभण्डारीको व्यापक चर्चा छ । बर्तमान प्रवक्ता रन्जु थापापनि महिला उपाध्यक्षमा लड्ने प्रवल सम्भावना रहेको छ ।

 महासचिव प्रत्यासी उम्मेदवारमा बर्तमान महासचिव डा. बद्री के.सी. दोहोरिने भएका छन् । तथापि डा. के.सी.को उम्मेदवारी घोषणा भईसकेको छैन । सचिव अर्जुनकमार श्रेष्ठ पनि महासचिव पदका दाबेदार मानिएका छन् । भट्ट के.सी लाई रोज्ने कि श्रेष्ठलाई रोज्ने भन्ने दोधारमा छन् । के.सी. को उम्मेदवारी कायमै रहँदा श्रेष्ठलाई घलेको पनि समर्थन रहने देखिएको छ । श्रेष्ठ यसअघिनै एनआरएनए यूरोपका संयोजक भएर लोकप्रिय भएका उम्मेदवार हुन् । श्रेष्ठ बुद्धिजिवी एवं सचिवालय सञ्चालनका लागि योग्य मानिन्छन् । त्यसकारण के.सी. र श्रेष्ठलाई मिलेर आउन शुभेच्छुकहरुले दवाव दिईरहेका छन् ।

यसैगरी महासचिव पदकै अर्का आकांक्षी एनआरएनए हङकङको दुई कार्यकालको सफ नेतृत्व गरेका त्रिलोक गुरुङ रहेका छन् । उनलाई शेष घलेको दह्रो समर्थन रहेको छ । उनि एनआरएनए भित्र ईमान्दार र स्वच्छ छवी रहेको व्यक्तिको रुपमा चिनिन्छन् ।
त्यसैगरी कोषाध्यक्ष पदमा बेलायतबाट मुछेन्द्र गुरुङ ,र सहकोषाध्यक्ष पदमा डेनमार्कका सापकोटाको चर्चा रहेको छ । सचिव पदको उम्मेदवारीमा जानकी गुरुङ,डीबी क्षेत्री,गंगा राई,महेन्द्र लम्साल,गणेश के.सी. रहेका छन् ।

 युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका शिव बरुवाल,स्वीटजरल्याण्डका डा.बिनय श्रेष्ठ,बेलायतका थर्क सेनले आफ्नो उम्मेदवारी घोषणा गरीसकेका छन् । जर्मनीका दावा जी.शेर्पा,बेल्जियमका प्रेम गुरुङ ,बेल्जियमकै गंगाधर गौतम,हल्याण्डका हरि पौडेलको पनि चर्चा छ । एसिया प्यासिफिक संयोजकमा जापानका गोविन्द्रप्रसाद श्रेष्ठ को चर्चा छ । युरोप उपक्षेत्रीय संयोजकमा युरोपका संजय देव श्रेष्ठले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

 मध्यपूर्व संयोजकमा कतारबाट आरके शर्माले उम्मेदवारी दिने भएका छन् । उनी कतारका सफल व्यापारी हुन् । अर्का युवा व्यवसायी उमेश अधिकारी पनि मध्यपूर्व संयोजकका उम्मेदवार हुन् । हाल उनी गल्फमा महासंयोजक पदमा कार्यरत छन् । तथापि उनले उम्मेदवारी दिने या नदिने भन्ने बारेमा सुनिश्चित हुन सकेको छैन । साउदी अरबका धर्म के .सी . पनि गल्फ संयोजक पदका आकांक्षी हुन् । तर पछिल्लो समय उनको छवी धमिलिएको छ । अमेरिका क्षेत्रीय संयोजकमा एसी शेर्पा ,गौरी जोशी,श्री पराजुलीको चर्चा शिखरमा पुगेको छ । महिला संयोजकमा रजनी प्रधान र युवा संयोजकमा लोकराज शर्माले उम्मेदवारी दिने भएका छन् ।

प्रकाशित मिति २०७४ साल आश्विन २६ गते बिहिवार

प्रतिक्रिया दिनुहोस्