Logo

एकल नाटक ‘जूनकिरी’ असोज ३ र ५ मा पुन: मञ्चन गरियो

स्तावेज, आश्विन ६ गते, शुक्रबार२०७४ , काठमाडौँ – कलाकार नानी थापाको लेखन, निर्देशन र एकल अभिनय रहेको नाटक ‘जूनकिरी’ पुन: मञ्चन गरिएको छ । जमलस्थित नाचघरमा गत भदौ २६ गतेदेखि झण्डै एक साता चलेको एकल नाटक जूनकिरीले दर्शकको ध्यान तान्न सफल भएपछि पुन: मञ्चन गरिएको हो । यही असोज ३ र ५ गते नाटक पुन: मञ्चन गरिएको छ । दिउँसो २:१५ बजे र ५ बजे दुई सो प्रदर्शन भएको थियो ।

 जूनकिरी सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका- १४ मा रहेका ५६ घर भूकम्पपीडित माझी परिवारका लागि स्वेताश्री फाउन्डेसनले संचालन गरिरहेको एकीकृत माझी बस्ती विकास परियोजनाका निम्ति आर्थिक सहयोग जुटाउने अभियान स्वरूप गत भदौ २६ गतेदेखि असोज ५ गतेसम्म पुनः मञ्चन गरिएको कलाकार नानी थापाले बताइन्।

लोटस स्कुल अफ फोटोग्राफी एण्ड भिडियोग्राफीको प्रस्तुति रहेको यस नाटकमा जूनकिरी र आकाशको जूनबीचका समानता र केही भिन्नतालाई प्रस्तुत गर्दै एउटी सामान्य गाउँकी युवती कसरी व्यावसायिक ‘हाई प्रोफाइल कल गर्ल’ हुन पुग्छे भन्ने देखाइएको छ। एक दशक जीवनकालको यात्रामा ऊसँग जोडिएका र छुट्टिएका केही पात्रहरूको कथा पनि सँगसँगै बुन्दै लगिएको छ।

 आँटिली र विद्रोही स्वभावकी पात्र जूनकिरी नाटकभित्र महिला सशक्तीकरणको एउटा दरिलो संदेश बोकेर पूरै समाज, कानुन, राज्य व्यवस्था र विश्व समुदायलाई नै कडा व्यंग्य गर्दै चुनौती दिन्छे।  नाटकमा साहित्यमा रुचि भएकी जूनकिरीले नाटकभित्र गीत, नृत्य, कवितालगायत विधामार्फत् अभिनयका नौवटै रसबाट पात्रको मनोवैज्ञानिक विचलन देखाइएको छ।

आधुनिक युवा पुस्ताको सोच र अनेकन भ्रमहरूलाई चिर्दै किशोर अवस्थामा देखिन सक्ने विभिन्न समस्यालाई उनीहरु स्वयं, परिवार र समाजले सही ढंगले समाधान र सम्बोधन गर्नुपर्ने कुरा पनि नाटकमा उठाइएको छ। 

प्रतिक्रिया दिनुहोस्