Logo

कविता : वर्षदिनको दशैं र दिवंगत खुशीहरु

    – ©गणेश खड्का

  मनले रहरभरी अँगालेका र सपनाभरी सँगालेका

 खुशीका दस्ताबेजहरू च्यापेर

 एक मुट्ठी ‘दसैँ’ सुख भोग्नका निम्ति

 जीवनहरु एक साल मरिहत्ते गर्छन् ।

  दशैं,वर्ष दिनपछि एकफेर छेउमै आउँछ

 र भोका पेटहरुलाई हाउगुजी देखाएर भाग्छ

 एक पसार ‘दशैं’ खुशी हाँस्नका खातिर

 मनहरू एक बर्खा झरी रुझ्छन्

 फेरी दशैं नाङ्गा आङहरुमा काउकुती लाउँदै

 खितिती… खितिती … हाँस्छ र तर्किन्छ ।

 दशैं घडीको सूई झैँ एक फन्को मारेर पुन: पदार्पण गर्छ

 एक अन्जुली ‘दशैं’ रौस मान्नका लागि

 ज्यानहरु एक हिउँद ठिही कटाउँछन्

 दशैं खाली शिरहरुमा रिनको भारी बोकाएर

 संस्कृतिको तमसुक गरिदिन्छ

 र, सुईँकुच्चा ठोक्छ एक वर्षको बाटोमा ।

 दशैंका पूर्वसन्ध्याहरु, कहिले भुईँचालोले खर्लप्पै खाइदिन्छ

 फेरी कहिले बाढी/पहिरोले सर्लक्कै निलिदिन्छ

 अनि धड्किन्छन् मुटुहरु अधिकतम् रेक्टरस्केलभन्दा बढी

 घर लिपपोत गर्ने र बाटाघाटा सिंगार्ने उमङ्गहरु

 दशैं आउनुपूर्व नै शोकाकुल बन्दछन्

 लामाटारले आफ्नो पिठ्युँमा विमान जाक्दा

 र सुनकोशीले गाम-बेंसीको छातीमा मनपरी खेल्दा

 दुर्घटनामा दिवङ्गत आफन्त मनहरुको क्षतिमा ।

 दशैंको छेकमा, निमुखा रहरहरु स्वर्गिय हुँदाछन् छरपस्ट

 रेगिस्तान र मुग्लानमा दिवङ्गत खुशीहरु

 मलाया र लाहुरमा पुगेर भक्कानिन्छन्

 अभावको ढाड सेक्दै बाध्यताका खकन तोक्माहरु

 धराने नुन/तेलसँगै अक्करको भिरमा ठोकिएर दुख्छन्

 भोकमरी,अनिकाल र महङ्गीले आक्रान्त कहर दशैं

 थुप्रै रुकुम-रोल्पाहरुमा क्वाँ … क्वाँ… डाको छोड्छ ।

 यहाँनेर, संस्कृतिको शंखघोष उराल्दै दशैं भित्रिदै गर्दा

 राष्ट्रिय पोशाकले सहादत प्राप्त गरेकोछ

 दौरासुरुवालको बियोगमा बिधवा सारीचोलोको दशैं

 फुङ्ग उडेकोछ उजाडिएको बस्तीजस्तो

 नातिनीहरुले यसपालि मिनिस्कर्टमा ठाँटिएर

 हजुरबासँग दशैंको टिका/जमरा थाप्लान्

 नातीहरुले आशीर्वादमा धोती बेर्ने हुन् कि

 टाईसुट भिर्ने हुन् ?

 वर्षदिनको दशैंमा,

 महिना नाघी डिले डेलिभरी भएर

 बल्ल/बल्ल पैदा भएका जुम्ल्याहा

 शान्ति र संविधान हुर्किने हुन् कि होइनन् भन्ने भय पाल्दै

 आमाको छाती चरचरी दुखेको बेला

 साम्प्रदायिकता र बिखण्डनकारी धुन्धकारीहरुले

 सदभाव र भाईचाराको स्तम्भ भत्काउँदै गर्दा

 उत्साह र उमङ्गका चङ्गाहरु उड्लान्-नउड्लान् ।

 यद्धपी , संस्कृति फगत भतुवालाई बिगौती हुनुहुदैन

 समानता र सकरात्मकताको आँगनमा

 मालश्री र मङ्गल धुन गुन्जिनुपर्छ

 टिका/जमरा मौलाएर परम्परा धान्नुपर्छ

 दशैं खसीले होइन, खुसीले मान्नुपर्छ

 आडम्बरमा होइन, ‘दशैं’ मनमा आउनुपर्छ ।

  दशैंको मुखमा,

 भवितव्यमा परेका समस्त ज्ञात/अज्ञात

 स्वर्गिय रहरहरु र दिवङ्गत खुशीहरुले

 चीर शान्ति प्राप्त गरून् परलोकमा

  जीवित आत्मा,सपना र विपनाहरुले

 दिगो शान्ति भोग्न पाऊन् इहलोकमा

 र, सधैंसधैं मान्न पाऊन्,

 संस्कृतिको अग्लो धरोहर सबैको साझा दशैं

     

      इटहरी , सुनसरी

    हाल, फ्रिगेट आइल्याण्ड, सेसेल्स 

प्रकाशित मिति २०७४ साल भाद्र ३१ गते शनिवार 

नोट: (बिगत लामो समयदेखि साहित्य साधना गरिरहनुभएका बरिष्ठ साहित्यकार गणेश खड्का अन्तर विध्यालय कविता प्रतियोगिता, २०४९ ( इन्सेक, भोजपुर – प्रथम ), द रेयुकाइ नेपाल धनकुटा शाखा र हुसाडेक धनकुटा द्दारा आयोजित कविता प्रतियोगिता २०५२, क्रमश: दोश्रो-प्रथम, नव कलाकार साँस्कृतिक समुदाय धनकुटाद्दारा आयोजित ” सिर्जनात्मक साहित्य लेखन प्रतियोगिता ” २०५२-२०५३ मा दोश्रो, श्रम साप्ताहिक उत्कृष्ठ वर्ष साहित्यकार २०६१, नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाद्दारा आयोजित तेश्रो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सव २०१२, प्रथम ( हेम-सरिता पाठक, भानुभक्त काव्य पुरस्कार ) जस्ता दर्जनौं पुरस्कारबाट बिभुषित हुनुहुन्छ । ) 

                                – सम्पादक 

 

 

प्रतिक्रिया दिनुहोस्