Logo

बुद्ध, प्रताप र निशान नेपाल आइडलको ग्राण्ड फिनालेमा, सागर भए आउट

स्ताबेज संवाददाता भाद्र २४ गते शनिवार २०७४,काठमाण्डौं – शुक्रवारको नेपाल आईडलको प्रस्तुति निकै नै कौतुहलता र सनसनीपूर्ण रह्यो । किनकि नेपाल आईडलको हरेक शुक्रवारको प्रस्तुति एलिमिनेसनको हुनेगर्छ । अर्थात् रिजल्ट डेको रूपमा सधैँ झैँ यो शुक्रवार पनि को बाहिरीने हो भन्ने कौतुहल्ता सबैलाई नै भइरह्यो ।

चौंथों राउण्डसम्म आई पुग्दा चारै जना कन्टेस्टेन्टहरु आईडल बन्ने योग्यका भईसकेका छन् । आईडल बन्ने विषयमा भने सबै दर्शकहरुको आ–आफ्नै मुल्यांकन छ । यो राउण्डसम्म आई पुग्दा हरेक एलिमिनेसनमा सजिलैसँग यही नै बाहिरन्छ भन्ने अनुमान लगाउन भने कसैले सकेनन् । त्यही क्रमको निरन्तरता चौथो राउण्डको एलिमिनेसनमा पनि भयो ।

चौंथो राउण्डको पहिलो प्रस्तुतिमा पोखराका बुद्ध लामा र चितवनका सागर आलेले “प्रेम दिवस” बोलको गीत गाएका थिए । शुक्रवार कमेन्ट डे नभएपनि सँगै गाएका सागरलाई भन्दा बुद्धको प्रस्तुतिलाई अथिति जजका रूपमा गएका कवि तथा रचनाकार वसन्त चौधरीले लजाएको कारणले गीतमा खासै खुल्न नसकेको कमेन्ट गरेका थिए ।

त्यसै गरी दोस्रो राउण्डको प्रस्तुतिमा नेपाल आईडलका शान निशान भट्टराई र सबैका खास प्रताप दासले आफ्नो प्रस्तुति दिएका थिए । निशान र प्रतापले “तिम्रो आखामा आशु हेरी हाँस्ने दिन नआओस्” बोलको गीतमा आफ्नो प्रस्तुति दिएका थिए । बुद्धको प्रस्तुतिमा कमेन्ट गरेका कवि तथा रचनाकार वसन्त चौधरीले निशान र प्रतापको प्रस्तुतिमा भने खुलेरै प्रशंसा गरे ।

चौंथो राउण्डको तेस्रो प्रस्तुतिमा सबैका खास गोदावरीका प्रताप दासले आफ्नो प्रस्तुति दिएका थिए । उनले राजु लामाले गाएको “सायद तिम्रो बाटोमा मेरो पाइला नहोला” बोलको गीत गाएका थिए र उनलाई बुद्ध लामाले साथ दिएका थिए ।

प्रस्तुति दमदार भए पनि गीतको शब्द र मेलोडि दुवैले मिस्टेक गाएको भन्दै जजको रूपमा रहेकी इन्दिरा जोशीले जजमेन्ट डे नहुँदा पनि कमेन्ट गर्दै भनिन्,“एलिमिनेसन डे हो भन्दैमा हल्का तयारीमा नआउनुस् । यो डेको पनि उत्तिकै महत्त्व हुन्छ जति अरू दिनको प्रस्तुतिमा हुने गर्छ । गीत बिगार्नु राम्रो होइन ।”

नेपाल आईडलको चौंथो राउण्डको चौथो प्रस्तुतिमा निशान भट्टराई र सागर आलेले संयुक्त प्रस्तुति दिएका थिए । दुवैले “धेरै दिन र रात बित्दै गए तिम्रो सम्झनामा” बोलको गीत गाएका थिए । दुवैको प्रस्तुतिपछि सबै जजले खुलेरै प्रशंसा गरे । तर अथिति जजको रूपमा रहेका कवि तथा रचनाकार वसन्त चौधरीले भने सागरलाई अझैं खुलेर गाउन सुझाव दिएका थिए ।

चारै जना कन्टेस्टेन्टहरुले नेपाल आईडलको मञ्चमा चौंथो राउण्डको प्रस्तुति दिएपछि कन्टेस्टेन्टहरुले दिने प्रस्तुतिको क्रम सकिएको थियो । प्रस्तुतिको क्रम सकिए लगत्तै प्रतीक्षाको घडी पनि निकै नै कौतुहल्ताको विषय बन्यो । अघिल्लो बिहीबारको भोटको आधारमा यो शुक्रवार एक जना कन्टेस्टेन्ट बाहिरीने पक्का थियो । यो नै नेपाल आईडलको नमिठो एउटा वास्तविक नियम पनि हो ।

नेपाल आईडलको त्यही नियमको कसीमा बाँधिए सागर आले पनि । सागर आलेको यात्रा नेपाल आईडलको मञ्चमा चौंथो राउण्डमा पुगेर रोकियो । रियालिटी शो नेपाल आइडलको ग्राण्ड फिनाले (अन्तिम तीन) मा बुद्ध लामा, प्रताप दास र निशान भट्टराई प्रवेश गरेका छन् । शुक्रबार भएको अन्तिम एलिमिनेसनमा दर्शकबाट सबैभन्दा कम भोट पाएर सागर आले आउट भएका हुन् । नेपाल आइडलमा अघिल्लो हप्ता दर्शकले गरेको भोटको आधारमा ग्राण्ड फिनालेमा प्रवेश गर्ने तीनजना प्रतिस्पर्धी चयन गरिएको हो।
यो राउण्डमा सागर बाहिरीनुलाई दर्शकले पत्याउन सायदै सकेनन् । सागरको नाम एलिमिनेसनमा घोषित भए लगत्तै नेपाल आईडलको मञ्च र सबै दर्शक दिर्घाहरु नै मौन रहे ।

सागरको बारेमा सबै जजहरुले खुलेरै प्रशंसा गरे । सागर स्वयंले पनि आफू बाहिरीनुमा अरू साथीहरूले अवसर पाउँछन् भनेर उदार हृदयको सफा व्यवहार पस्किएका थिए । सागर एलिमिनेसनमा परे लगत्तै नेपाल आईडलको चौंथो यात्रा सकियो । तेस्रो राउण्डको शुरुवातसंगै नेपाल आईड अब को बन्छ भन्ने चासोको विषय निकै नै गम्भीर भएको छ ।

एपीवान टेलिभिजनले प्रिमेन्टल मिडिया र १९ टिभी लिमिटेडको अन्तर्राष्ट्रिय फरम्याट अनुसार नै निर्णायकले भिटो प्रयोग गरी अघिल्लो साताको एपिसोडलाई ‘नो इलिमिनेसन एपीसोड’ घोषणा गरेका थिए। चारैजना प्रतियोगी एकसाता सँगै रहन पाउँदा खुशी भएका थिए। यो साताको निर्णयले अघिल्लो साताको सागरको खुशी यस पटक खोसिएको छ।

नेपाल आइडलको अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर २२ मा कतारमा हुँदैछ। फाइनलमा पुगेका तिनै जना खाली हात फर्कनु पर्ने छैन। तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन्।

सागर आलेमगर थिए सबैका प्रिय 

नेपाल आइडलका लागि नारायणगढबाट अडिसन दिएका सागर सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्लस टु अध्ययन गर्दै छन् । २० वर्षीय सागर चितवनको नारायणगढ निवासी हुन् । औपचारिक रूपमा कहिल्यै संगीत नसिकेका उनको परिवारमा भने साङ्गीतिक माहोल छ । गीत संगीतप्रति आस्था र विश्वास छ।

सबै प्रकारका गीत गाउन र सुन्न मन पराउने उनलाई नारायण गोपाल गुरुवाचार्य, भक्तराज आचार्य, ज्ञानु राणा, तारा थापा र एड्रियन प्रधान मनपर्ने गायक गायिका हुन् । नेपाल आइडलमा उत्कृष्ट चारसम्मको यात्रा तयगर्न सफल उनी उत्कृष्ट तीनमा परेकामध्ये बुद्ध लामाको स्वर मन पराउँछन् । यहाँसम्म आइपुग्नुलाई उनले ठुलो उपलब्धि ठानेका छन् । नेपाल आइडलमा आएपछि आफूलाई सबैले चिनेको सागरले बताए। ‘यहाँ आउँदा बच्चैजस्तो थिएँ कसैले चिन्दैनथे। अहिले सबैतिरबाट फोन गरेर बाबु के छ खबर भन्छन्। कुनै देशबाट फोन गर्न छुटाएका छैनन् जस्तो लाग्छ ,मलाइ सबैजनाले माया गर्नुभएको छ’ उनको भनाई थियो ।

 
‘मेहनत, नयाँ शैलीको स्वर र श्रोता दर्शक एवं परिवारको माया, साथ र आशीर्वादले यहाँसम्म आउन सकेँ’, उनले भने। नेपाल आइडलमा यहाँसम्मको यात्राले आफ्नो साङ्गीतिक यात्रा अगाडि बढाउन सजिलो हुने उनले विश्वास लिएका छन् । र उनले जादाजादै भनेका छन् । म बाहिरिदा नेपाल आइडल लाई कुनै गाली गलौज र कुनै पनि आरोप नलगाइदिनुहोला भन्दै उनले अनुरोधपनि गरेका छन्  । निर्णायक कालीप्रसाद बाँस्कोटाले यस हप्तापनि दर्शकले भोट गर्न पाएको भए सागर आउट नहुने बताएका छन् । सागरले आफ्ना फ्यानहरुलाई आफू आउट भएकोमा दुख नमान्न र जथाभावी टिप्पणी नगर्न आग्रह गरेका छन्। ‘ मेरो फ्यान फलोइङ जति हुनुहुन्छ प्लिज नेपाल आइडललाई केही नभदिनुहोला’  दर्शकहरुसँग उनको अनुरोध थियो ।

प्रतिक्रिया दिनुहोस्