Logo

कविता : रेगिस्तानको बालुवामा सपनाको खेती

 

 – सिन्धु पौडेल (दस्तावेज संवाददाता )

रेगिस्तानको यो उराठिलो बालुवामा

पचास डिग्रीको तापसँगै

हाल्छु सुस्केरा

कामले लखतरान ज्यानलाई पलभर बिसाएर

हेर्छु नील गगन

देख्छु तिमीलाई नै

र सम्झिन्छु ती सुदूर अतीत

एक्कैछिनको लागि हराउँछ यो मन त्यतै ।

                        …

नाचिरहन्छन् यी आँखाभरि झझल्कोहरु

खेलिरहन्छन् मस्तिष्कमा तिम्रै सम्झनाको बयली

तिमी मेरो नयन पथ हुँदै हाम फाल्छ्यौ आँसु बनेर

आँखाको डिलमा थमाएर राख्नै सक्दिन म तिमीलाई

किन झरिरहन्छ्यौ तिमी यसरी हर क्षण मेरो परेलीबाट

यति बेला तिमीलाई भुल्ने बहानामा

म सँग छन् मात्र तिम्रा तस्बिरहरू

जो मैले जतनसाथ लिएर आएको थिएँ रेगिस्तानमा l
                    …

मुटुको ढोका घुरुक्क उघारेर

यहीँ आउँछन् तिम्रा यादहरू

लुसुलुसु मैलाई चिहाउन

र थाल्छन् नाच्न छमछम

सम्झनाका कर्खाहरु मिलाउदै

कानैनेर आएर ठोक्किँदा तिम्रो कोकिल कण्ठ

भुतुक्क हुन्छु तिर्सनाले पुन:

ती सुमधुर शब्द लहरीमा

कहिले पाउँला हराउन फेरी ?
             …

छोडिदेऊ बरु अब

ती हिमशैलका चिसा डेटिङको झझल्को दिन

म त बालुवामा उसिनेको मन बोकेर पिल्सिरहेको छु

यद्दपी, हाम्रा अनेक प्रेमिल घुमफिरमा

मैले उडाएको चुरोटको धुवाँ

तिम्रो केशरासीमा मुस्कुराइरहेको शिरफूल छिचोल्दै

जब कावा खान्थ्यो

अनि तिमी लघु रिसमा

हाम्रो प्रेमको मूल्य सोध्दथ्यौ

अब त जन्मदिनको उपहार

शिरफूल दिन कति साल पर्खिनु पर्ने हो मैले

भाग्यले न पसिना चिनायो न त सपना

तिमी आकाशको जून चाहन्थ्यौ

हो, …त्यही जून टिप्न

रेगिस्तानको बालुवामा
सपनाको खेतीपाती गरिरहेछु म

सपना पुरा हुनु नहुनु पनि त

भाग्यकै खेल होला नि  !

 

  हाल,ईजरायल

प्रकाशित मिति २०७४ साल भाद्र २३ गते शुक्रवार
            *

प्रतिक्रिया दिनुहोस्