Logo

मुस्लिम समुदायले शनिबार नै मनाए ‘बकर इद’

       घण्टाघर नजिकैको कश्मिरी मस्जिदमा बकर इद मनाउन आएका मुस्लिमहरुको रौनक यस्तो थियो 

स्तावेज संवाददाता,भाद्र १७ गते शनिवार २०७४,काठमाडौँ – मुस्लिम धर्मावलम्बीले आफ्नो दोस्रो ठूलो पर्व बकर इद (इद उल अजहा) शनिबार मनाएका छन् । काठमाडौको घण्टाघर नजिकैको कश्मिरी मस्जिदमा बकर इद मनाउन आज बिहानैदेखि हजारौंको संख्यामा मुस्लिम समुदायका मानिसहरु भेला भएका थिए ।

मुस्लिम धर्मावलम्बीले आजै देशभरका मस्जिद, मदरसा र इदगाहहरूमा हर्षोल्लासपूर्वक मनाएका छन्  । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रही आएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका मस्जिद, मदरसा र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको थियो । खास पर्व शनिबार परे पनि सरकारले आइतबारको लागि सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष निर्दोष अलीले जानकारी दिए । “अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो,

 जसअनुसार छोरा इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको हो” , पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उनले भने । यसको सम्झनामा खसीबोका, राँगालाई बलि दिई तीन भाग लगाएर एक भाग गरिबलाई, अर्को भाग इष्टमित्रलाई र अन्तिम भाग परिवारलाई खुवाइ हर्षोल्लासपूर्वक बकर इद पर्व मनाउने गरिएको उनले बताए ।

मुस्लिमका प्रमुख पञ्चकर्ममध्ये नमाज पढ्नु, हज (तीर्थ यात्रा) गर्नु, जाकात (दान) गर्नु, कुर्वानी (बलिदान) गर्नु र रोजा (व्रत) बस्नु हो । नेपालको जनसङ्ख्या विसं २०६८ अनुसार मुस्लिम धर्मावलम्बीको सङ्ख्या ११ लाख ६६ हजार छ, जसको प्रतिशत ४.४ हुन आउँछ । बाँके, रौतहट, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, कास्की, तनहुँ लगायतका जिल्लामा मुस्लिम धर्मावलम्बीको बाहुल्यता रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्