Logo

यूके डान्स अफ विजेता जसिताको क्रेज

 स्तावेज संवाददाता भाद्र २,शुक्रवार,२०७४, लन्डन-  बेलायतका युवाबीच जुलाइ अन्तिम साता गरिएको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ ०१७’ मा विजयी बनेपछि दंग छिन् २१ वर्षीया जसिता गुरुङ । ‘धेरै माया, सम्मान, साथ र अफर आएका छन्’, मिडियामा त्यति नखुल्ने जसिता शुक्रबार भन्दै थिइन्, ‘नाचले नै मलाई चिनाएकाले अब नेपाली समुदायको कार्यक्रममा पनि सक्रिय हुन्छु ।’

सपन इन्टरटेन्मेन्ट लिमिटेडले गरेको दोश्रो नृत्य प्रतियोगितामा १३ प्रतिस्पर्धीलाई उछिनेर विजेता बनेकी उनी आफूलाई भाग्यमानी ठान्छिन् । हुनपनि विजेता बनेको महिना दिन नबित्दै बेलायतस्थित ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले उनलाई विज्ञापनमा खेलाउन अनुबन्ध गरिसकेको छ भने एउटा चलचित्र समेत पाइप लाइनमा छ । 

‘फिल्मको नाम चाहिं अहिले सरप्राइज नै राखौं होला’, उनले भनिन्, ‘राम्रो रोल आए निरन्तर म्यूजिक भिडियो र फिल्म खेल्नेछु ।’मेकअप आर्टिस्ट र ब्युटी ब्लगर जसिताले ट्राभल एण्ड टुरिजममा डिप्लोमा गरेकी छन् । तर, आउँदो सत्रदेखि साउथ हयाम्पटन सोलेन्ट युनिभर्सिटीबाट मेकअप एण्ड फेसन डिजाइन पढ्ने सुरसारमा छिन् उनी । 

गुड लुकिङ र यूके डान्स अफ विजेता । उनलाई प्रेम प्रस्ताव नआउने कुरै भएन । तर, उनी भन्दै थिइन्, ‘यो करिअर बनाउने बेला हो र त्यसैमा फोकस गरिरहेकी छु । सिंगल नट रेडी टु बी मिंगल ।’ पोखराकी स्थायी बासिन्दा जसिता भूपू ब्रिटिश गोर्खा परिवारकी एक्ली छोरी हुन् । बेलायतको वीन्चेस्टरमा बसाइ छ । ‘लाहुरे परिवारमा जन्मिएकामा मलाई गर्व र भाग्यमानी लाग्छ’, उनले सुनाइन्, ‘गोर्खाहरुले विश्वमा नेपालको नाम उँचो राखेका छन्, म उनीहरुको सधैं सम्मान गर्छु ।’

१२ वर्षकै उमेरमा बेलायत आएकी जसिता यहाँको खुल्ला समाजमा घुलमिल भएर टिनएज पार गरिसकेकी छन् । प्रेम र सेक्सबारे उनको धारणा के होला ? भन्छिन्, ‘प्रेम मनबाटै आउने एउटा फिलिङ हो जसले मानिसलाई खुशी तुल्याउँछ । सेक्स नभए त हाम्रो सृष्टि नै हुने थिएन ।’ नेपाल बारम्बार गइरहने उनी नयाँ पुस्ताले च्यारिटी, सामाजिक काम र सीपबाट मातृभूमिलाई धेरै मद्दत गर्न सक्ने 
ठान्छिन् । समयले साथ दिए राम्रो च्यारिटेबल काम गर्ने सपना उनको रहेछ । 

प्रतिक्रिया दिनुहोस्