Logo

नयाँ फिल्म ‘कान्छी’ को शीर्ष भूमिकामा श्वेता

स्तावेज संवाददाता ,श्रावण ३१, गते ,२०७४ काठमाण्डौं – झन्डै ३३ वर्षअघिको फिल्मको नामबाट निर्देशक आकाश अधिकारीले ‘कान्छी’ निर्माणको घोषणा गरेका छन् । भदौ २ देखि छायांकनमा जाने बताइएको उक्त फिल्ममा आकाशले दयाहाङ राई र श्वेता खडकालाई मुख्य जोडीका रूपमा उतार्ने भएका छन् । श्वेताले पछिल्लो पटक आकाशकै निर्देशनमा फिल्म ‘कोहिनूर’ खेलेकी थिइन् । ‘कान्छी’ को शीर्ष भूमिकामा रहेकी श्वेताले नै फिल्ममा लगानी समेत गरेकी हुन् ।

‘ आजभोली सबै विदेश गएर मात्रै कमाउन सकिन्छ भन्ने सोच गाउँ गाउँसम्म पुगेको छ । अधिकांश युवाहरु बिदेशिएको कारण गाउँमा अहिले भवितब्य पर्दा समेत मलामी जाने  युवाहरू पनि पाउन छोडिसक्यो । यस्तो अवस्थामा हामीले फिल्म मार्फत देशभित्रै पनि  प्रशस्त सम्भावनाहरू छन् है भन्ने सन्देश दिन खोजेका छौं,’ याम थापाको पटकथा रहेको फिल्मबारे आकाशले थपे, ‘तर फिल्मको मूल कथा भने प्रेम नै हो ।’ फिल्म तल्लो र उपल्लो मुस्ताङ क्षेत्रमा खिचिने फिल्मले एक हिमाली गाउँ र त्यहाँका गाउँलेबीचको कथा बुन्ने बताइएको छ । 

सोमबार गरिएको फिल्मको घोषणा कार्यक्रममा उपस्थित दयाहाङले गाउँका युवाहरूको कथामा फिल्म आधारित रहेको जानकारी दिँदै भने, ‘विभिन्न पेसामा आवद्ध साथीहरूले गाउँमा एउटा विकास निर्माणको काम गरिरहेको हुन्छ । त्यो काम गर्दै जाँदा विभिन्न बाधा आइपर्छन् । प्रेमसम्बन्ध नै मुख्य बाधक बनेर आइदिन्छ ।’ उनले पनि फिल्म खासगरी प्रेमकथामा केन्द्रित रहे पनि गाउँका विविध आयामलाई पनि समेटिएको बताए । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा शम्भुजित बाँस्कोटा, राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत रहने बताइएको छ । यसै वर्षको माघ २६ मा रिलिज गर्ने लक्ष्य राखिएको ‘कान्छी’ मा दयाहाङ र श्वेताका साथमा अनु शाह, प्रज्ज्वल सुजल गिरी, नीर शाह, भूमिका श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्