Logo

फिल्म ‘ब्लाइन्ड रक्स’ले धेरैका आँखा रसाए

स्तावेज ,श्रावण २९ गते आईतबार २०७४,काठमाडौं – सृष्टि केसी नेपाली चलचित्र अव जगतमा कुनै नयाँ नौलो नाम होइन । उनी वाल्यकालदेखिनै पढाइमा अब्बल थिइन् । उनको  दिमाग तीक्ष्ण र अतिरिक्त क्रियाकलाप (नृत्य) मा उस्तै पारंगत थियो । टिनएज बित्दै थियो, अचानक आँखाले राम्ररी देख्न छाडे । चिकित्सकको शरण पुग्दा निको हुनुको सट्टा उल्टो डाक्टरको प्रेसक्रिप्सनले दृष्टि झन् गुम्दै गयो र अन्तिममा उनले पुरै दृष्टि गुमाइन्  । 

अन्धो भएपछि नेपाली समाजले हेर्ने दृष्टिकोण बदलियो । समाजले उनीप्रती गरेको अपहेलना, हेय, असहयोग आदि इत्यादि बाट उनले कहिल्यै हरेस खाइनन्  बरु, यसलाई एउटा शक्तिका रुपमा बदलेर वाधा, व्यवधान पन्छाउँदै उनी अगाडि बढिन्  । आफूजस्ता धेरैको प्रेरणाश्रोत र सहयोगी बनिन् । राष्ट्रिय अन्तर्राष्ट्रिय प्लेटफर्ममा उनी नै छाइन् । दुवै आँखा देख्ने आम मानिस भन्दा झन् बढि सक्षम भएर समाजमा एउटा उदाहरण बनिरहिन्  । 

दृष्टिविहीनहरुको हक अधिकार सुनिश्चित गर्न क्रियाशिल संस्था “ब्लाइन्ड रक्स”की संस्थापक सृष्टिकै वास्तविक जीवनमा बनेको फिल्म (बायोपिक) ‘ब्लाइन्ड रक्स’ को शनिबार अल्डरसटस्थित प्रिन्सेस हलमा रेड कार्पेट ग्रयाण्ड प्रिमियर शो भइरहंदा धेरैका आँखा रसाए , दर्शकहरु निकै भावुक बने । 

प्रिमियर शोमा आमासंगै पुगेकी सृष्टिले सयौं दर्शक र फिल्म निर्माण टिमबीच भनिन्, ‘आजबाट सृष्टिले दृष्टि पाउनेछिन्, उनको सपनामा हजारौं आँखा थपिएका छन् ।’ ताली गडगडाहट नरोकिंदै सृष्टि थप्दै थिइन्, ‘यस फिल्मले मेरो वास्तविक जीवन चित्रण गरेको छ । मलाई आशा छ यसले दृष्टिविहीन र अपांगता भएकालाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन ल्याउने छ ।’

प्रिमियर शोका प्रमुख अतिथि राजदूत दुर्गाबहादुर सुवेदीले दृष्टि गुमाएकी सृष्टि अनाथ, दृष्टिविहीन र असहायका लागि संसारकै राजदूत हुन् भन्दै प्रशंसा गरे । ‘सृष्टि चेतनाकी दृष्टि, सृजना, भावना र सम्भावनाकी प्रतिक हुन्’, राजदूतले थपे, ‘सृष्टि संकल्प, संघर्ष, प्रतिज्ञा र सफलताको प्रतिबिम्ब हुन् ।’

सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा निर्देशक मिलन चाम्स र निर्माता निकेश लिम्बुले ‘बायोपिक’ फिल्म व्यवसायिक र चर्चाको हिसावले जोखिमयुक्त भएपनि आफूहरुले समाज परिवर्तनको उद्देश्य राखेर त्यो जोखिम ग्रहण गरेको बताए ।

चाम्स इन्टरटेनमेन्ट एण्ड एन फिल्मस एण्ड क्रियसनको ब्यानरमा बनेको उक्त फिल्म प्रेरणादायी रहेको दर्शक प्रतिक्रिया थियो । दृष्टिविहीन समाजका वाधक वा घृणाका पात्र होइनन्, बरु अवसर र हौसला पाए उनीहरु जहाँपनि सक्षम छन् त्यसकारण सम्मान गरौं भन्ने सन्देश फिल्ममा छ । बेनिसा हमालले सृष्टिको भूमिकामा न्याय गरिदिएकी छन् । गौरी मल्ल, बैंकर अनिल शाह, अर्पण थापा, नजिर हुसेन लगायत कलाकारको अभिनय पनि तारिफ योग्य छ । 

प्रतिक्रिया दिनुहोस्