Logo

न्युजिल्यान्डमा नेपथ्य गुन्जियो

स्तावेज संवाददाता श्रावण १४,शनिबार ,२०७४ अकल्यान्ड – सांगीतिक समुह नेपथ्यले शुक्रबार पहिलोपटक न्युजिल्याण्डमा आफ्नो प्रस्तुती दिएको छ । अनौठो प्राणी ‘किवीको घर’ भनेर चिनिने प्रशान्त महासागरको यो सामुन्द्रिक टापु सगरमाथाका प्रथम आरोही सर एडमन्ड हिलारीको देश हो। 

त्यसैले पनि यस देशसँग नेपालीहरु भावनात्मक रुपमा नजिक छन्। न्युजिल्यान्डमा रोजगारी तथा अध्ययनका क्रममा नेपाली समुदाय बस्दै आएका छन् ।  केही नेपालीहरु स्थायी रुपमै यहाँ बसोबास गर्छन् । सन् २००८ पछि नेपालीभाषी भूटानी शरणार्थीहरु पनि यहाँ नागरिकका रुपमा बस्दै आएका छन्। 

यही देशको राजधानी अकल्यान्डस्थित ‘स्काई सिटी थियटर’मा नेपथ्यले सांगीतिक प्रस्तुती दिएको छ । उक्त कार्यक्रममा ठूलो संख्यामा नेपालीहरु कार्यक्रममा उपस्थित भएका थिए । अकल्यान्डमात्रै नभएर क्राइस्ट चर्च तथा अन्य शहरहरुबाट पनि कन्सर्ट सुन्नका लागि नेपालीहरु आएका थिए। 

    कार्यक्रममा नेपथ्य समुहका अगुवा तथा गायक अमृत गुरुङले सगरमाथाका प्रथम आरोही सर एडमन्ड हिलारीलाई सम्झिएका थिए। उनले हिलारीले नेपालको खुम्बु क्षेत्रको विकासमा समर्पित स्वर्गिय हिलारीका कारण पनि न्युजिल्यान्डको समाजसँग नेपाली समुदाय निकै नजिकबाट जोडिएको बताए।

आफ्ना चर्चित गीतहरु सुनाएपछि गुरुङले नेपाल फर्किए लगत्तै नेपथ्यले नयाँ एल्बम रिलिज गर्ने खुलासा समेत गरे। गायनका क्रममा अमृतलाई सदाझैँ ड्रम सेटमा ध्रुव लामा, कि बोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए।

    आयोजक समुहका राज महर्जनले नेपथ्यको यात्रासँगै अन्य कलाकारलाई समेत न्युजिल्यान्ड आउनका लागि ढोका खुलेको बताए। ‘नेपाली सांगीतिक टोलीको यो पहिलो यात्रासँगै यहाँ एउटा नयाँ इतिहासको निर्माण भएको छ,’ महर्जनले भने। 

   अकल्याण्डको यो प्रस्तुतीसँगै नेपथ्यले यस वर्ष सुरु गरेको पृथ्वीकै दक्षिणी गोलार्द्दको सांगीतिक यात्रा पनि सम्पन्न भएको छ। यसअघि नेपथ्यले अष्ट्रेलियाको मेलवर्न, एडिलेड र सिड्नीमा कन्सर्ट गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्