Logo

एउटा पाठकको आँखामा, “यत्ति भए पुग्छ ” – नबराज क्षितिज

बराज क्षितिज,दस्तावेज संवाददाता श्रावण १२,बिहिबार, २०७४ समाजसेवा , पत्रकारिता र साहित्यको त्रिवेणीमा सललल बगिरहेका जे. सागरको नयाँ गज़ल संग्रह “यत्ति भए पुग्छ ” गत  जुलाई १४ तारिकमा अबुधावीमा एक कार्यक्रमका वीचमा लोकार्पण भएको छ । यु ए ई का लागि नेपालका कार्यबाहक राजदूत नेत्र बहादुर  टन्डन ज्युको प्रमुख आतिथ्यमा लोकार्पर्ण गरिएको गज़लकार जे. सागरको नयाँ गज़ल संग्रह “यत्ति भए पुग्छ” मा जम्मा ७४ वटा  गज़लहरु संग्रहित छन् ।
   
     
जे. सागरको वास्तविक नाम  जयराम पराजुली हो । साहित्यमा झुकाब राखी शब्दहरुलाई मुर्त रुप्  दिदादिदै , अक्षरहरुलाई न्याय गर्दागर्दै , शब्दहरुको सिर्जनाहरु फ़ुलाउदा  फ़ुलाउदै  जे. सागर भएका हुन् । मेरो ठम्याई सहि होला या नहोला , तर आम  नेपाली साहित्य प्रेमीहरुले उनलाई जे . सागर भनेर चिनेका छन्  ।
    बुवा चेतनाथ पराजुली र आमा छायादेबी पराजुलिको कोखबाट सिन्धुपाल्चोकको बतासे वडा नं.३ मा जन्मनुभएका जे. सागरको स्थाई बसोवास काठमाडौं हो । प्रबासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर कलम चलाइरहने श्रष्टा हुन् जे. सागर । आवुधावी युएई मा आफ्नो कार्यक्षेत्र बनाएका जे. सागरले प्रवासका अक्षरहरु (बृहत गज़ल संग्रह ) प्रकाशन गर्दा प्रमुख संयोजकको भूमिका निर्वाह गरेका थिए ।
  गज़ल , मुक्तक , कविता, व्यंग्यात्मक आलेख तथा समसामयिक सामाजिक विषयबस्तुमा कलम चलाउन रुचाउने जे. सागर इनास नेपाली भाषा तथा साहित्य बिकास एवं प्रवर्द्धन ग्लोबल समितिका सह सचिब हुन् भने इनास युएईका संरक्षक हुन् । NRNA अल ऐन शाखामा सचिब भएर काम गरेका जे. सागर , सिन्धुपाल्चोक सेवा समाजका सल्लाहकार पनि हुन्  । साथै अक्षरहरुको आवाज , श्रष्टा भेटघाट तथा  सिर्जना वाचन डबलीका संथापक सदस्य हुन् ।
 
   
प्रबासमा भएका गज़लमनहरु जागरुक भएका छन् , त्यो सहि हो तर सबुत हुन् जे. सागर र जे. सागरका “यत्ति भए पुग्छ ” गजल संग्रह । रेगिस्तानमा बसेर पनि नेपाली साहित्य त्यसमा पनि  नेपाली गजलको अस्थित्व निर्माण र गज़ल उत्थान गर्न अथक प्रयास गर्ने  शसक्त हस्ती हुन् , जे सागर ।
   नेपाली गज़लको सुन्दर र फराकिलो बाटोमा हिड्दा-हिड्दै , गज़लमय बाटो अझ शसक्त बनाउन एउटा प्रयास गरेका छन् जे. सागरले । बि. स. २०७४ सालदेखि हरेक बर्ष एक जना गज़लकारलाई पुरस्कार र सम्मान गर्ने हेतुले रु २,००,००० अक्षरुपि  (दुई लाख रुपैया मात्र ) को अक्षय कोष खडा गरेर  नेपाली गज़ल क्षेत्रमा निकै राम्रो र उदाहरणीय काम गरेका छन् ।
 
   जबसम्म गज़लले हृदयलाई छुँदैन तबसम्म शेरहरुको अर्थ रहँदैन तर जे. सागरका गज़लहरु हृदय छुने मात्र होइनन् , हृदयमा बस्न सफल छन् । उत्कृष्टताको कसीमा निकै राम्रा अंक ल्याएर पास हुने खालका गज़लहरु छन् । पुरातन सोचबाट माथि उठेर आफ्नो गज़लमा यथार्थताको पस्मिना ओढाएर हरेक गज़लहरुलाई यथार्थपरक बनाएका छन् ।
 
चेहरामा मुस्कान छैन , उ त्यो पक्कै नेपाली हो ।
यात्रा छ ठेगान छैन , उ त्यो पक्कै नेपाली हो ।।
 
 समाजमा घटेका सामाजिक विषयबस्तुको चिरफार गरि सफल अपरेशन गर्ने जे. सागरले , भूगोलको जुनसुकै धरातलमा बसेपनि साहित्य र सिर्जना मर्दैन भन्ने प्रमाण दिएका छन् “यत्ति भए पुग्छ “ ।
 
 प्राय दिनदिनै यो वा त्यो बहानामा आन्दोलन र जुलुस गर्ने र गराउन जनताहरुलाई उत्तेजना फैलाउने र भित्रभित्रै मिलेर जनताहरुलाई धोका दिने राजनीतिज्ञहरु प्रति रिसको ज्वाला यसरी पोखेका छन् ।
 
 किन निस्क्यो जुलुस ? प्रष्ट पारिदेउ ।
के चल्छ भित्र खासखुस प्रष्ट पारिदेउ ।
 
आजभोलि नेपाली गज़लमा शास्त्रीय बहर र शास्त्रीय छन्दको प्रयोग भैरहेकोछ । बहरबद्द गज़ल लेखनमा निकै अगाडि आइसकेको छ नेपाली गज़ल र गज़लकारहरु त्यो राम्रो पक्ष हो  । तर बहर बिना गज़ल नै हुदैन भन्नेहरुलाई मुतोड जवाफ दिएका छन्  उनले , उनको कृतिको शुरुवाती गज़लबाटै यसरी ,
 
 काट्नेले त कसैगरे कुरा काटिहाल्छन् ।
अहिले आहा ! भन्छन् भरे कुरा काटिहाल्छन् ।।
 
 गज़ल जस्तो लाग्ला यसलाई गज़ल नभन्दिनुस् ।
 नत्र फेरि ती बहरे  कुरा काटिहाल्छन् ।।
 
 त्यसो त  आजभोलि नेपाली साहित्यमा गज़लले ठाडो हस्तक्षेप  गरेको कुरा नकार्न मिल्दैन । साहित्यका अरु विधाहरु भन्दा श्रोता सर्जक कमाउन सफल भएको छ । त्यस्तै हरेक एफएमहरु र रेडियोहरुमा गज़लकै चर्चा हुनु र गज़लकै कार्यक्रमहरु प्रसारण हुनुले पनि आजभोलि नेपाली गज़लले नेपाली साहित्यमा हस्तक्षेप गरेको कुरा प्रष्ट हुन्छ ।
 
हास्यब्यंग्य तर्फ पनि कलम दौडाउने जे. सागरले ब्यंग्यात्मक गज़लहरु पनि यस कृतिमा समावेश गरेका छन् । समाजमा बेइमान गरेर पैसा कमाएकाहरु र समाज सेवाको नाममा पैसा कमाउने र राजनीतिक आस्थालाई पैसामा किनबेच गर्नेहरुलाई व्यंग्य गर्दै यसो भनेका छन् ।
 
जान्ने पर्ने एउटा काम नजानेर  गल्ति भो ।
लामो हात र छलछाम नजानेर गल्ति भो ।।
 
दोसल्लाको गन्ति  यो समाजसेवा रहेछ ।
मुखमा सेवा जेबमा दाम नजानेर गल्ति भो ।।
 
आदर्शको के मूल्य अवसरको अगाडि
कहिले रुख कहिले घाम नजानेर गल्ति भो ।।
 
हरेक गज़लहरु फूल जस्तै सुन्दर लेख्छन् जे. सागर । फूललाई सिगार्नुको कुनै अर्थ रहदैन । हरेक गज़लका मतला देखि मक्ता सम्म सुन्दर फूलका थुंगाहरु जस्तै लाग्छन् उनका गज़लहरु ।
 
ओत् लाग्न ठुलै रुख छान्नु भन्थे मेरा बा ले ।
मान्छे  चिनी संगत गर्न जान्नु भन्थे मेरा बा ले ।।
 
 अत्याउछ्न् नआत्तिनु , मत्याउँछन् नमात्तिनु ।
आफ्नो लक्ष्यलाई ईश्वर मान्नु भन्थे  मेरा बाले ।।
 
जे सागरको हृदयमा गज़लको रंग छ । चाहे आकाशमा उडिरहदा होस् चाहे भुइमा गुडिरहेको बेला होस् , गज़लका शेरहरु लेखिरहने जे. सागरले आफु जन्मी हुर्केको गाउँलाई यसरी सम्झिन्छन् ।
 
अझै मेरो पैतालाको डाम होला  मेरो गाउँमा ।
बरको रुखमा कोतरेको नाम होला मेरो गाउँमा ।।
 
सडक पानी बत्ति कलेज सबै थोक पुग्यो अरे ।
पहिले भन्दा निकै तामझाम होला मेरो गाउँमा ।।
 
रेगिस्तानमा आफ्नो कर्मथलो बनाएर जे. सागरले वाध्यताले बिदेशिनु परेका झन्डै आधा करोड नेपालीहरुको प्रतिनिधित्व हुने गरि १४ शेरमा गज़ल लेखेका छन् । प्रबासमा गएकाहरु प्रति घरपरिवारले कसरी सम्झन्छन् , भन्ने कुरा स्पष्ट परेकाछन् , यो गज़लमा यसरी ,
 
सेता भए केश काला ए !  परदेशी घर फर्क ।
परदेशैले ज्यान खाला ए ! परदेशी घर फर्क ।।
 
रेखो पाखो बिराउला साग सिस्नु संगै खाउँला ।
आफ्नै देशमा जे भैजाला ए ! परदेशी घर फर्क ।।
 
दशैं दशैं जस्तो हुन् , तिमि बिना बर्षौ भयो ।
नभएको टिका टाला ए ! परदेशी घर  फर्क ।।
 
 प्रवासमा रहेर पनि नेपाली साहित्य र त्यसमा पनि नेपाली गज़ललाई निरन्तर मायाँ गर्ने जे. सागरको “ यत्ति भए पुग्छ ‘ गज़ल संग्रह वास्तबमै सुन्दर गज़ल फूलहरुको संग्रह हो । आगामी दिनहरुमा पनि यस्तै शसक्त गज़लाकृति नेपाली साहित्यलाई दिनुहुनेछ भन्ने शुभकामना छ ! र अन्तमा यो कृतिले सम्पूर्ण पाठकहरुको मन छुन सकोस् , यति भए पुग्छ ।
 
    दमौली तनहुँ
( हाल आवुधावी युएई )
प्रतिक्रिया दिनुहोस्