Logo

नलेखेको कथा : दीपा राई पुन

 

 आमा भन्नुहुन्थ्यो

नलेख्नु छोरी दुखका कथाहरू

नसम्झनु कुनै आँसुका हरफहरू

जीवनको प्रत्येक अनुच्छेदमा

अनुभवको उत्सव लेख्नु

तर आमा

हरेक श्वासले हुल बाँधेर

किन ल्याउँछन् कष्टकै भेलहरू

जहाँ जोगिएर बाँच्न

बगरमा पलाँस छु

आदिम कालबाटै

मनमा गढेको एेना कथा

कहाँ लेख्नु पर्दों रहेछ र !

बरू प्रत्येक पाइला

त्यहि ठोक्किएर

घाइते हुँदा सम्झिन्छु

तिमीले नलेखेको कथा

यस्तै पीड़ादायी थियो होला आमा

रसाएका तिम्रा आँखाहरू

हाँसेको जब याद गर्छु

पहरामा अल्झेको चट्टानमा

सुनाखरी मगमगाएको देख्छु

त्यो तिम्रै छातिको चट्टानमा

म पनि उम्रिएर होला

हावा हुरी खडेरी झरी

सबै सहन सक्छु आमा

हो मनमा लागिरहन्छ

यिनै नलेखिएका कथाहरूले

जीवनको उत्सव मनाइरहुँ ।

प्रकाशित मिती २०७४ साल श्रावण १ गते आईतबार

   हाल ,बोस्टन अमेरिका

प्रतिक्रिया दिनुहोस्