Logo

मेलबर्नमा नेपथ्य गुन्जियो

स्तावेज संवाददाता,असार २६, सोमबार,२०७४- मेलबर्नको प्लानेट सेकर्समा प्रस्तुतिसहित नेपथ्यले अस्ट्रेलिया यात्राको शुरुवात गरेको छ । यती फुटबल क्लबको आयोजना र म्याग्दी ओभरसिजको संयोजनमा शनिबार भएको कन्सर्टमा दर्शकहरूको उल्लेख्य उपस्थिति थियो । मेलबर्नमा नेपथ्य दुई वर्षभन्दा अलिक बढी समयपछि सुनिँदै थियो ।

यसअघि लोक रक ब्यान्ड विनाशकारी भूकम्पको भोलिपल्ट उक्त थलोमा उभिएको थियो । विज्ञप्ति अनुसार नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले त्यो क्षण सम्झिँदै थपे, ‘यति बेला पनि वर्षातले गर्दा हाम्रा पहाड र तराईमा बाढीपहिरोले धेरै गाउँलाई बिथोलेको समाचार आइरहेकै छन् ।’ अनि उनले संकटग्रस्त आफ्नो समाजका लागि एकजुट हुन आह्वान गर्दै केही गीत सुनाए ।
उनले नेपथ्य स्थापनाको यो रजत वर्षमा ब्यान्डका समयक्रममा आबद्ध हुने सबै सहयात्रीलाई सम्झिँदै ब्यान्डकै पहिलो गीत गाए–

‘आँगनैभरि हिउँ नै झरे…’ । नेपथ्यले ‘शिरफूल शिरैमा…’ सहित केही नयाँ गीत पनि सुनाए ।
अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । नेपथ्यको अर्को प्रस्तुति एडिलेडमा हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्