Logo

अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको शानदार जित

 एक सय ११ रनको शतकीय पाली खेलेपछि अभिवादन गर्दै भारतीय कप्तान विराट कोहली । एपी/रासस

निवार, असार २४, २०७४ –  भारतले पाँचौं तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको छ । जितसँगै भारतले पाँच खेलको शृंखला पनि ३-१ ले आफ्नो पक्षमा पारेको छ ।

टस जिती पहिले ब्याटिङ रोजेको घरेलु टोली वेस्ट इन्डिजले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय पाँच रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले ३६.५ ओभरमै केवल दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

भारतको जितमा कप्तान विराट कोहलीले अविजित एक सय ११ रनको योगदान गरे । उनले एक सय १५ बलको सामना गरी दुई छक्का र १२ वटा चौका पनि प्रहार गरे । ८४ रनको कुल स्कोरमा दुवै ओपनर ब्याट्सम्यानलाई गुमाएपछि कोहली र दिनेश कार्तिकले भारतलाई लक्ष्यसम्म पुर्‍याएका थिए । कार्तिकले पनि अविजित ५० रन बनाए । कोहलीलाई गतिलो साथ दिएका कार्तिकले ५२ बलको सामना गरी पाँच चौका हिर्काए ।

त्यसअघि ओपनर ब्याट्सम्यान अजिनक्या राहाने ३९ र शिखर धवन चार रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । क्यारेबियन बलर अल्जारी जोसेफ र देवेन्द्र बिसुले एक एक विकेट लिए । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि विकेट किपर ब्याट्सम्यान साई होपले सर्वाधिक ५१ रन बनाएका थिए । ओपनर कायल होपले पनि ४६ रन जोडेका थिए । जासन होल्डरले ३६ रन थपे भने रवम्यान पोवेलले ३१ रन बनाए ।

भारतीय टोलीका बलर मोहम्मद सामी एक्लैले चार विकेट हात पारे । उमेश यादवले तीन विकेट लिए भने हार्दिक पाण्डेय र केदार जादबले एक एक विकेट हात पारे । उक्त खेलमा कोहली म्यान अफ दी म्याच घोषित भए । म्यान अफ दी सिरिजको पुरस्कार पनि भारतीय टोलीकै अजिनक्या राहानेले पाए । आगामी आइतबार भारत र वेस्ट इन्डिजबीच एकमात्र टी ट्वेन्टी खेल खेलिनेछ ।

    एजेन्सी

प्रतिक्रिया दिनुहोस्