Logo

म मैनबत्ति रुँदै बल्छु : दीपशिखा शर्मा

 “कठिन सङ्घर्षका वावजूद आज बल्ल मैले किन मेरो परिभाषा खोजें ? किन मेरो हराएको पहिचान खोजें ? म आँफैलाई थाहा छैन ।मनमनै प्रश्न गर्न मनलाग्छ आखिर एक नारी हुनुको अर्थ के हो त ?एक नारी या आमा हुनुको सोझो अर्थमात्र परिचय मात्र प्राप्त गर्नु हो ? या नारी हुनुको गौरव बोध गर्नु हो ? एक छोरी,बुहारी,श्रीमती अनि आमा हुनुको अर्थ सन्तान जन्माउने जन्मसिद्ध प्राकृतिक अधिकार प्राप्त गर्नु हो ?मातृवात्सल्यले आहत भएर आफ्ना सन्तानको लालनपालनमा अहोरात्र खटिनु हो ? या आफूलाई आफ्ना सन्तानहरुलाई मायाँको सहश्रभेलमा आफूलाई बगाईरहनु हो ? अनुभुतिरुपी बर्षातको भेलहरुसरी आँसुहरुले आफूलाई पखालेर रुझिरहनु हो ? चोटमा पनि नदुखिकन अभावमा कुुण्ठित नभईकन धैर्य र साहसका साथ परिस्थितिको मुकाविला गरिरहनु हो ? एक नारी हुनु भनेकोआफ्नै बिचारमा महान् हुनु हो ? आफ्नो हाँसो खुसी सबथोक रित्याएर अरूको अनुहारमा खुसी छर्नु हो ?भोक भोकै प्यास प्यासै सन्तानहरुको भरणपोषण गर्नुमात्र हो ? या आफू सिद्धिएर आँफ्नो मन मुटु उधारेर सन्तानलाई सिउनु हो ? आमा हुुनुको मूल्य आदिम कालदेखि आफ्नै परिश्रमको पसिनाले निथु्रक्क रुझेर पलपल पोखिएर सन्तानलाई भर्नु हो ? निराशाको अगाडि आशाको सुनौलो प्रकाश बनेर छरिनु हो ? या जीवन सङ्घर्षका प्रत्येक हारजितका बाजिहरुमा हाँसी हाँसी जितको लागी प्रयासरत रहनु हो ?”

                 – दीपशिखा शर्मा

म एउटा कर्मशिल नारी,मेरो नाम फ्लोरेन्स हो । यो नाम मलाई किन राखियो आँफैलाई थाहा छैन । म जान्ने हुँदादेखी मैले आफूलाई यही नामबाट परिचित पाएँ । यसका साथै म एक पितृसत्तात्मक परिवारको बाहुल्य रहेको घरकी बुहारी । कडा नियम र अनुशासन म माथि लादिएका छन् । बिहान चार बजेदेखि मेरो दैनिकी सुरु हुन्छ । श्रीमानको बेड टी लगायत सासु ससुराको रेखदेख खानपानको तयारी गर्दैमा ९ बजिहाल्छ । छोराछोरीलाई खानापिना गराएर बिध्यालय पठाएपछि हतार हतार एक गाँस मुखमा हालेर फेरि अफिसको तयारी गर्नुपर्ने । थाहा छैन यो सङ्घर्ष कहाँनेर गएर टुङ्गिन्छ । जीवनपर्यन्त कठिन सङ्घर्ष जिम्मेवारी र पारिवारिक उत्तरदायित्व वहन गर्दै बिहान ४ बजेदेखि बेलुका १२ बजेसम्म कर्तब्यकोपसिनाले निथ्रुक्क भिजेर,शरीर,जिउ मारेर परिश्रम गर्दापनि मेरो कहिल्यै उचित मूल्याङ्कन भएन ।

दिनभर अफिसमा हाकिमको चाकडी गरेर लखतरान परेको शरीर बिसाउन घर आउँछु । घरमा सबथोक अस्तब्यस्त हुन्छ । फोहर कसिंगर अनि बेसन भरि भाँडाको खात अनि कपडाको डंगुर । पानी पनि नखाई,लुगाफाटा पनि नखोलि पुनः घरको ओभरटाईम डिउटी गर्नुपर्छ ।लाग्छ म एउटा यन्त्रमानव रोवोर्ट हुँ जो कहिल्यै थाक्न हुँदैन,दुख्न हुँदैन,झुक्नु हुँदैन । फगत अरूको खुसीको लागि अनुहारमा कृतिम हाँसो ल्याएर बाँच्नु पर्दछ । सबैलाई रिझाएर,खुवाएर बाँकी रहेको जुठो पुरो खाएर एउटा मेशिन यानी कि नीर्जीव बस्तुमा बेट्री चार्ज गरेझैं रिचार्ज हुन्छु अनि पुनः आफ्नो दैनिकीमा फर्कन्छु । छोराछोरी कराउन थाल्दछन्,

“मामु भोक लाग्यो केही बनाई दिईस्यो न प्लिज…..”

नेपथ्यबाट सासु र ससुराको आवाज आउँछ,

“बुहारी एक कप चिया बनाईदेउ त पहिला………”

“ओहो ! घरमा छिर्न पाएको छैन सबैको अर्डर सुरु हुन थाल्दछ । आखिर कस कसको फर्माईस पहिला पुरा गरुँ ?” दिनभर अफिसमा काम गरेर थाकेको शरीर लिएर भित्र पस्यो सबका समस्या हेर्दैमा ठिक्क हुन्छ । खाने समेत फुर्सद समेत हुँदैन मलाई कहिले काँही त लाग्छ यो सब अस्त ब्यस्तता छोडेर एकान्तमा गएर कसैको मुख नहेरी शान्तिको श्वास फेरेर बसुँ फेरि मनले भन्छ फ्लोरेन्स यो सब तेरो जिम्मेवारी हो । तँ यस घरकी बुहारी होस्,श्रीमती होस्,आमा होस्,सबैको हेरचाह पालनपोषण गर्नु तेरो कर्तव्य हो । भुलेरपनि तँ तेरो कर्तब्यपथबाट विचलित हुनु हुँदैन । दुःख सुख जस्तोसुकै कठिन परिस्थितिमा पनि हाँस्न जान्नु पर्दछ । फेरि अर्को मन भन्छ आखिर म मात्र यो घरको ठेकेदार हुँ त ?अरुहरुको यसमा कुनै जिम्मेवारी छैन?

बिहान ९ बजेसम्म सुकला भएर श्रीमान् हाई गर्दै बिस्ताराबाट उठिसिन्छ अनि फेरि उहाँको चर्को डाँको सुन्नुपर्छ,“फ्लोरेन्स ! मेरो सर्ट पेन्ट आईरन गरिदियौ ? मेरो जुत्ता मोजा कहाँ छ ? टावेल बाथरुममा राखिदेउ त ?………..अलिकति तातो पानी ल्याएर टेबलमा राखिदेउ”आदि इत्यादि । घरको मसिहाको त यो हालत छ भने अरूहरू ले मेरो आस पक्कै गर्नेभए । बिहानभर मलाई नै अर्डर गर्ने अनि हतार हतार फ्रेस भएर अफिस गएपछि एकैचोटी रातको ९ बजे सवारी हुन्छ । यत्तिकैमा वहाँको जिम्मेवारी खत्तम । वहाँलाई न त घरको कुनै मतलब हुन्छ नत कुनै पारिवारिक दायित्वबोध नै । यसरी पुरुषहरू घरको सम्पूर्ण जिम्मा महिलाको काँधमा हाली बिन्दासपूर्ण जीवन बिताउँछन् ।

आखिर यो भेदभाव किन र कसरी ? महिला भने घरको काममा जोतिएर अफिस धानेर पुनः घरधन्दामा नै केन्द्रित हुनुपर्ने तर पुरुषहरू एउटा जागिर धानेर आरामले जीविका चलाउने । पुरुषहरुलाई मात्र सुविधा किन भयो ?महिलाहरूको अवस्था दिनपरदिन कमजोर किन बन्दै गयो ?आज किन किन मलाई यो सब जान्न मन लाग्यो ।सवाल यो होइन कि महिलाहरू पनि पुरुषहरू झैँ बिन्दास बनेर हिँडुन् । पुरुषहरू घरधन्दा गरून् । सवाल यो हो कि किन पुरुषहरू सधैँ माथि तर महिलाहरू किन तल परे ? पुरुषहरुको घरप्रति कुनै जिम्मेवारी छैन र ?के नारी पुरुष बरावरी होइनन् र ? पुरुषहरुको परिवारप्रति कुनै दायित्वबोध छैन ?जन्मेदेखि महिलाले कसैकी छोरी कसैकी बुहारी कसैकी श्रीमती कसैकी आमा अनि अन्तमा हजुरआमा बनेर आफ्नो जीवनसमाप्त गर्नुपर्ने ?पुरुषहरू जहिलेपनि स्वतन्त्र र फुक्काफाल हुने ? पारिवारिक दायित्व जहिलेपनि महिलाको काँधमा मात्र ? के नारीको जीवनको कुनै अर्थ छैन ?के नारीहरूको परिश्रमको कुनै मूल्य छैन ?
“आज यो सोध्न मनलाग्यो मलाई आदिम कालदेखि पितृसत्ताको जाँतोबाट पिल्सीएका तमाम महिलाहरू आजको एक्काईसौं शताब्दीको पूर्वसन्ध्यामा आएरपनि महिलाहरू हुबहु त्यही युग भोगिरहेका छन् जुन कालान्तरमा मेरा पुर्खाहरुले भोग्दै आएका थिए ।मेरी जिजु आमा,हजुर आमा अनि मेरी आमालेपनि त्यै बुहार्तन भोगेर आए जुन आज म भोगीरहेको छु ।

एक छोरी, छोरी बाट बुहारी अनि आमा हुँदासम्म झेल्नुपरेका उतारचढाव हण्डर र ठक्कर का वावजुद पनि मैले मेरी आमालाई कहिल्यै सोधेकी छैन आमा हुनुको अतिरिक्त मूल्य कति हो ?ती आमाहरुलेपनि पक्कैपनि कसैलाई सोधेका छैनन् होला यो शब्द । अनि म आज एक आमा भएर म आफ्नो पसिनाको मूल्य निर्धारण कसरी गरुँ ?

मेरी आमाले गरेको त्याग तपस्या समर्पण अनिजीवनरुपी काँढेदार क्याक्टसहरुलाई पन्छाउँदै मरुभुमी नै मरुभुमीको बगरमा यात्रा गर्दा गर्दा चिथोरिएर रक्ताम्य हुँदै छिचोलेका ती उकाली ओरालीहरुमा म मेरी आमाको रगतले कट्कटिएका पाईतालाका डोबहरु देख्छु । उनको त्यो साहस,धैर्य ,पीडा र भोगाईमा म मेरी आमालाई मदर टेरेसाको अनुहार देख्छु । एक दिन दुःखीको चहर्याएको घाउमा मल्हम लगाउने महान् बत्ती लिएकी केटी फ्लोरेन्स नाँईटिंगेल देख्छु । घर, परिवार ,कर्तब्यबोध अनि जिम्मेवारीले थलिएर लखतरान परेकी मेरी आमाले शायद उनका दुःख सुख समेत बिसाउने कोही भेटिनन् होला ।

पितृसत्तात्मक परिवारको चरम शोषण,मानसिक,यातना,थकित,पीडित भएको थिलोथिलो शरीर लिएर एकान्तमा कति आँसुको आहाल बगाईन् होला ?उनको दर्द र वेदनामा मल्हम लगाउने कोही यस्तो मानवरुपी भगवान् भएन होला शायद । ठिक मेरी आमाको कालो अँध्यारो विगत र मेरो अहिलेको वर्तमान अवस्था उही छ । बर्षौंबर्षपछि पनि समाजमा कुनै पनि सकारात्मक परिवर्तन आउन नसक्नु पक्कैपनि विडम्बना हो”

 “कठिन सङ्घर्षका वावजूद आज बल्ल मैले किन मेरो परिभाषा खोजें ? किन मेरो हराएको पहिचान खोजें ? म आँफैलाई थाहा छैन ।मनमनै प्रश्न गर्न मनलाग्छ आखिर एक नारी हुनुको अर्थ के हो त ?एक नारी या आमा हुनुको सोझो अर्थमात्र परिचय मात्र प्राप्त गर्नु हो ? या नारी हुनुको गौरव बोध गर्नु हो ? एक छोरी,बुहारी,श्रीमती अनि आमा हुनुको अर्थ सन्तान जन्माउने जन्मसिद्ध प्राकृतिक अधिकार प्राप्त गर्नु हो ?मातृवात्सल्यले आहत भएर आफ्ना सन्तानको लालनपालनमा अहोरात्र खटिनु हो ? या आफूलाई आफ्ना सन्तानहरुलाई मायाँको सहश्रभेलमा आफूलाई बगाईरहनु हो ? अनुभुतिरुपी बर्षातको भेलहरुसरी आँसुहरुले आफूलाई पखालेर रुझिरहनु हो ? चोटमा पनि नदुखिकन अभावमा कुुण्ठित नभईकन धैर्य र साहसका साथ परिस्थितिको मुकाविला गरिरहनु हो ? एक नारी हुनु भनेकोआफ्नै बिचारमा महान् हुनु हो ? आफ्नो हाँसो खुसी सबथोक रित्याएर अरूको अनुहारमा खुसी छर्नु हो ?भोक भोकै प्यास प्यासै सन्तानहरुको भरणपोषण गर्नुमात्र हो ? या आफू सिद्धिएर आँफ्नो मन मुटु उधारेर सन्तानलाई सिउनु हो ? आमा हुुनुको मूल्य आदिम कालदेखि आफ्नै परिश्रमको पसिनाले निथु्रक्क रुझेर पलपल पोखिएर सन्तानलाई भर्नु हो ? निराशाको अगाडि आशाको सुनौलो प्रकाश बनेर छरिनु हो ? या जीवन सङ्घर्षका प्रत्येक हारजितका बाजिहरुमा हाँसी हाँसी जितको लागी प्रयासरत रहनु हो ?”

मैले नारी हुनुको मूल्यमा बाँचेका मेरी जिजु आमा,मेरी आमा लगायत प्रत्येक नारी अनुहार समाज र उनीहरूको दिनचर्या र ब्यवाहारमा देखे भोगेको यथार्थ सत्य हो यो । म एक कर्तव्यपरायण नारी ! मैनबत्ती जस्तै दिनरात आफूलाई जलाएर सदैव अरूको खुसी र चाहनाको लागि बाँच्छु । आफू अँध्यारोमा रहेरपनि अरूलाई उज्यालो प्रकाश छर्ने कोसिस गर्छु । अरूको खुसी र जरुरत पुर्तिको लागी आफ्नो रगत र पसिना साट्छु । मेरो श्रम र मेहनतको कुनै मूल्य छैन यहाँ । मेरो चाहना रहर अनि हाँसो हाँसो खुसीको कुनै अर्थ छैन यहाँ ।“भनिन्छ अरूलाई उज्यालो लिन चाहनेले आँफै जल्नुपर्छ ” । यो फर्मुला ममाथि लागू भएको छ । फलतः मेरो हाँसो खुसी सबथोक परिवारको लागी समर्पण गरी उनीहरूकै लागी मेरो सम्पूर्ण जीवन बलिदान गरिरहेको छु ।

बालककालमा पढेकी थिएँ फ्लोरेन्स नाईटिंगेल को कथा । आज त्यही कथा म माथि लागु भएको छ । बुढा भएका सासु ससुराको स्याहार सुसार गर्नु उहाँहरूलाई समयमा खाना खुवाउनु मेरो नियमित दैनिकी बनिसकेका छन् । छोरा छोरीको स्याहार सुसार खानपान लगायत श्रीमानको हेरचाह पनि मेरो काँधमा थपिएको छ । मलाई लाग्छ यो मेरो जिम्मेवारी र कर्तव्य हो । घर परिवारलाई खाना खुवाएर एक पटक म सबैको ओछ्यान ओछ्यान पुग्नुपर्छ । जुनको टहटह उज्यालो सँगै गलित र थकित शरीर लिएर ससुरा बाबाको दम को औषधी लगायत सासु आमाको सुगर,प्रेसरको औषधी टाइम टेबल खुवाउने,उहाँहरूलाई न्यानोमा राख्ने,नुहाई धुवाई गरिदने,सफासुग्घर गरिदने,ओछ्यान मिलाईदिने,तातो पानी चिसो पानीको व्यवस्था गराएर पुनःछोराछोरीको कोठामा जानुपर्छ । उनीहरूको पढाई लेखाई लगायत श्रीमानको स्याहार सुसारको जिम्मेवारी पनि मै माथि छ । अनि बल्लमात्र मैले फुर्सद पाउँछु ।

मेरो डयुटी बल्ल १२ बजे सकिन्छ । ४ घण्टाको बिश्रामपछि पुनः मेरो दिनचर्या सुरु हुन्छ । यो मेरो जागिर होजसमा न मैले कुनै तलब पाउँछु न त मेरो परिश्रमको कुनै अतिरिक्त मूल्य तोकिएको छ । सिर्फ टाईमटेबल अनुसार चल्नुपर्छ । यसमा म एक ईन्चपनि तलमाथि झर्नु हुँदैन । विवाह भएर घरमा भित्रिएको दिनदेखि मेरो यो दैनिकी टुटेको छैन ।लाग्छ म कहिल्यै हार्नु हुँदैन,कहिल्यै थाक्नु हुँदैन,कहिल्यै बिरामी पर्नु हुँदैन ।

मलाई थाहा छ म ढलेको दिन मेरो परिवारको जहाज डुब्छ । मध्यरातमा फ्लोरेन्स नाँईटिंगेल झैँ बत्ती लिएर रोगीहरुलाई झैँ परिवारका ओछ्यान ओछ्यान चाहार्नु,उनीहरूको दुखेको घाउमा मल्हम लगाउनु,उनीहरूको हर जरुरत पुरा गर्नु मेरो नियमित कर्तव्य हुन् । यसमा नै म मेरो जीवन देख्छु,संसार देख्छु अनि भविष्य देख्छु । शदिंयौदेखि चल्दै आएको पितृसत्तात्मक परिवारले मलाई यही सिकाएको छ ।उनीहरूको नजरमा शायद एक नारी भएर जिउनुको अर्थ नै यही होला । जीवनपर्यन्त कर्तब्यपथबाट विचलित नभई अगाडी बढ्नु नारी धर्म होला । कबिला युगका मुठ्ठीभर पुरुषहरुले सबला महिलाको हातबाट कमान खोसी अवला अनि निरीह बनाएर महिलामाथि चरम अत्याचार गरी लादेको पितृसत्तात्मक परिवारको वास्तविक परिभाषा नै यही होला । अनि अनायस आँफैमाथि प्रतिप्रश्न गर्न पुग्छु मेरो नाम फ्लोरेन्स राखिनु भित्रपनि कुनै कारण छ कि………..?

[email protected]

प्रकाशित मिति २०७४ साल असार १७ गते शनिवार

प्रतिक्रिया दिनुहोस्