Logo

सर्वोच्चले सदर गर्‍यो ट्रम्पको नीति, ६ देशका नागरिकलाई अमेरिका प्रतिबन्ध

वासिङ्टन डीसी अमेरिका,असार १७, २०७४- मुस्लिम बाहुल्य भएका ६ देशका नागरिकलाई अमेरिका जान प्रतिबन्ध लाग्ने  भएको छ । अमेरिकी सर्वोच्च अदालतले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति सदर गर्दै कार्यान्वयनका लागि फुकुवा गरेकाले पाँच महिनाअघि घोषित कानुन लागू भएको हो । 

 राष्ट्रपति भए लगत्तै ट्रम्पले मुस्लिम बाहुल्य रहेका इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमन गरी ६ देशका नागरिक माथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने कानुन घोषणा गरेका थिए । तर अधिकारवादी र अदालतको विरोधले ती देशका नागरिक र शरणार्थी माथिको यात्रा प्रतिबन्धको कानुनको कार्यान्वयन हुन सकेको थिएन । त्यतिबेला व्यापक मात्रामा विरोध मात्रै भएन, संघीय अदालतले कार्यान्वयन नगर्न आदेश नै दिएको थियो । तर, बिहीबार सर्वाेच्चले ट्रम्पको नीति सदर गरिदिएको छ । फैसलामा उक्त कानुन पूर्ण रूपमा प्रतिबन्ध लगाउने गरी नभई आंशिक कार्यान्वयनका लागि फुकुवा गरिएको छ । पहिले नै प्रवेशाज्ञा भएका नागरिक, अमेरिकामा स्थायी रूपमा बसोबास गर्ने परिवारका वास्तविक आफन्तजन र त्यहाँ व्यापारिक सम्बन्ध भएका नागरिकका हकमा भने यो कानुन लागू नहुने सर्त फैसलामा उल्लेख छ । अहिलेको लागि ती ६ देशका नागरिकलाई ९० दिनको र शरणार्थीलाई १२० दिनको प्रतिबन्ध लगाउन पाउने अदालतको आदेशमा छ । 

 आदेशको अधिकारवादीले विरोध गरेका छन् । बिहीबारबाट कानुन कार्यान्वयनमा आएसँगै जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकारवादीहरू उपस्थित भएर अध्यागमनका अधिकारीलाई प्रवेशाज्ञा लिएर आएका नागरिकलाई नफर्काउन आग्रह गरिरहेका थिए । उनीहरूले यो कानुनको कार्यान्वयन हुनुभन्दा अघि नै प्रवेशाज्ञा प्राप्त गरेका नागरिकलाई नरोक्न आग्रह गरिरहेका थिए । 

   एएफपी 

प्रतिक्रिया दिनुहोस्