Logo

मनिषा कोइरालाबाट भक्तपुर क्यान्सर अस्पताललाई एक लाख सहयोग प्रदान

सार १४ बुधबार,२०७४   भक्तपुर – क्यान्सर बिरामीको सेवामा जुट्दै आएकी मनिषाले अस्पताललाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्। उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरेकी हुन् । सहयोग रकम हस्तान्तरण गर्दै अभिनेत्री कोइरालाले क्यान्सरविरुद्धको अभियानमा आफू सदैव लागिपर्ने बताइन्।

‘म आफैँ क्यान्सर जितेर आएकी हुँ। त्यसकारण यसको पीडा मलाई राम्ररी थाहा छ,’ उनले भनिन्, ‘मेरो सहयोग निरन्तर रहनेछ। यो त सुरुवात हो।’ उनले क्यान्सरलाई समयमै पत्ता लगाउन र यसबारे जनचेतना जगाउन क्यान्सर परीक्षण शिविर सञ्चालनका लागि सहयोग गर्न तयार रहेको बताइन्।अस्पताल भ्रमणका क्रममा नेपाल क्यान्सर रिलिफ सोसाइटीले अभिनेत्री कोइरालालाई क्यान्सर जनचेतनाको सद्भावना दूत बन्न प्रस्ताव गरेको छ।

संस्थाको उक्त प्रस्तावपछि कोइरालाले आफू धेरै संस्थाको सद्भावना दूत रहेकाले थप बोझ नबढाउन आग्रह गरिन्। उनले क्यान्सरका विषयमा जनचेतना फैलाउन आफू जहाँ पनि जान तयार रहेको प्रतिबद्धता भने जनाइन्।अभिनेत्री कोइरालालाई अस्पतालका अध्यक्ष श्रेष्ठसहित अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाशराज न्यौपाने, पूर्व मेडिकल डाइरेक्टर डा. राजेन्द्रप्रसाद बराल लगायतको टोलीले अस्पतालको अवलोकन गराएका थिए। उक्त क्रममा मनिषाले अस्पतालका उपचार कक्षा र बिरामीबारे जानकारी लिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्