Logo

प्रशिक्षक जोचिम लो बाट अन्तरमहादेशीय कप ठूलो उपलब्धि भएको दावी

सार ११, २०७४- जर्मनीले आइतबार अन्तरमहादेशीय कपमा क्यामरुनको सामना गर्नेछ । प्रशिक्षक जोचिम लो ठूला प्रतियोगितामा आफ्नो टिमलाई एक दशकयता सेमिफाइनल पुर्‍याउने उपलब्धिको क्रममा रहने छन् । जर्मनीलाई अन्तिम चार पुग्न बराबरी पर्याप्त छ । सन् २००६ मा लोले जर्मन टिमको नेतृत्व लिएका थिए । घरमा भएको त्यस प्रतियोगितामा टिम तेस्रो भएको थियो । त्यस यताका प्रत्येक युरोपेली च्याम्पियनसिप र विश्वकपमा जर्मनी सेमिफाइनल पुगेको छ ।

विश्वकप विजेता जर्मनीले सोचीको फिस्ट स्टेडियममा इन्डोमिनेटल लायन्सको सामना गरेकै दिन समूह ‘बी’को अन्तिम चरणको अर्को खेलमा चिलीले अस्ट्रेलियासँग खेल्नेछ । समूह अंक तालिकामा चिलीपछि गोल अन्तरमा जर्मनी दोस्रो स्थानमा छ । जर्मनी र चिली दुवैको समान ४ अंक छ । यता क्यामरुन र अस्ट्रेलिया दुवैसँग १ अंक छ । जर्मनीले एक अंक पर्याप्त भएको स्थितिमा क्यामरुनलाई भने स्पष्ट जित आवश्यक छ, अर्को चरण पुग्ने हो भने ।

‘हामीलाई बराबरी नै पर्याप्त छ । तर हाम्रो उद्देश्य समूह जित्ने हो र यससँगै सेमिफाइनल खेल्ने हो,’ प्रशिक्षक लोले भने, ‘त्यस खेलमा हामीले एक वा दुई परिवर्तन गर्नेछौं । केही खेलाडीलाई आराम दिएर नया“लाई मौका दिन यस्तै गर्न लागेका हौं ।’ जर्मनीले क्यामरुनविरुद्धको पछिल्ला दुई खेलमा जित निकालेको छ । सन् २०१४ मा विश्वकपअगाडि मैत्रीपूर्ण खेलमा भने दुवै टिमले २–२ को बराबरी खेलेका थिए । विश्वकप सुरु हुनु एक वर्षअगाडि पछिल्लो खेलमा लोले सम्पूर्ण नयाँ खेलाडीलाई अवसर दिने जोखिम उठाए ।

त्यो जोखिम आखिरमा फलदायी रह्यो र टिम अस्ट्रेलियामाथि ३–२ ले विजयी रह्यो । चिलीविरुद्धको खेल भने १–१ को बराबरीमा छुटेको थियो । लोको नयाँ टिम भने अहिलेसम्म रुसी भूमिमा प्रभावशाली देखिएको छ । क्यामरुनले भने अहिलेसम्म दुवै खेलको सुरुमा समान टिम उतारेको छ । अहिलेसम्मका दुई खेलमा क्यामरुन सुरुमा चिलीसँग निराशाजनक रूपमा २–० ले पराजित भयो । त्यसपछि उसले अस्ट्रेलियासँग १–१ को बराबरी खेलेको हो ।

मस्कोको स्पार्टक स्टेडियममा भने अस्ट्रेलियाको भेट चिलीसँग हुनेछ । त्यसमा पनि कोपा अमेरिका विजेताका लागि बराबरी नै पर्याप्त छ । ‘हाम्रा लागि चिलीवरुद्धको खेल निकै महत्वपूर्ण छ,’ अस्ट्रेलियाली कप्तान मार्क मिलिगनले भनेका छन्, ‘त्यसमा हाम्रो उद्देश्य रहनेछ, जितका लागि । चिली निकै बलियो टिम हो । तर मलाई लाग्छ, टिममा केही कमजोरी पनि छन् ।’ जर्मनीविरुद्ध गोल गर्दै चिलीका लागि सर्वाधिक ३८ गोल गर्ने खेलाडी बनेका एलेक्सिज सान्चेज त्यसमा अझै गोल थप्न उत्सुक हुनेछन् ।

एएफपी

प्रतिक्रिया दिनुहोस्