Logo

पलेँटी शृंखलामा शान्ति ठटालको सांगीतिक प्रस्तुति: ६ दशक लामो यात्राको उत्सव मनाईंदै

सार ९ , २०७४ काठमाडौँ: नेपाली संगीतमा लामो समय व्यतीत गरेकी गायिका तथा स‌ंगीतकार शान्ति ठटाल एकल सांगीतिक प्रस्तुतिका लागि काठमाडौँ आएकी छन्। उनी पलेँटी शृंखलामा प्रस्तुति दिन दार्जिलिङबाट काठमाडौँ आएकी हुन्। ठटालले असार १६ गते शुक्रबार नेपालयको आर पाठशालामा पाँचौँ प्रस्तुति दिँदै छन्। अम्बर गुरुङको संगीतमा ‘सम्हालेर राख’, ‘मेरो दुखी मन’ जस्ता कालजयी गीतबाट चर्चित बनेकी ठटाल एक प्रसिद्द संगीतकार पनि हुन्। उनले फिल्म ‘परालको आगो’ र ‘बाँच्न चाहनेहरू’मा संगीत गरेर फिल्ममा संगीत भर्ने पहिलो महिलाका रूपमा ऐतिहासिक परिचय बनाएकी छन्। उनले ईश्वर बल्लभबाट रचिएको ‘एउटा नीलो सूर्यास्त’लाई काव्य संगीत (क्यान्टटा) शैलीमा कम्पोज गरेकी छन्। सिक्किमको साँस्कृतिक विभागमा लामो समय संगीतको नेतृत्व गरेकी ठटालको बसोवास हाल दार्जिलिङमा रहेको छ।

गायिका एवं संगीतकार ठटालले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू ‘मुनामदन’, ‘कुञ्जिनी’ र ‘म्हेन्दो’मा आधारित सांगीतिक सृजना पनि गरेकी छन्। ‘फेरि आफूलाई प्रस्तुत गर्नका निम्ति नेपाल आउन पाएकामा मलाई गर्व महसुस भइरहेको छ’, ठटाल भन्छिन्, ‘निकै अघि चुँडिएको नेपाल र दार्जिलिङ बीचको सांगीतिक सेतुलाई पलेँटीले फेरि जोड्ने काम गर्दै आइरहेको देख्दा मलाई खुसी लागिरहेको छ।’ शान्ति ठटाल संगीतकारका रूपमा पलेँटीमा प्रस्तुत हुन लागेको बताउँदै पलेँटीका संयोजक गायक तथा संगीतकार आभास भन्छन्, ‘अग्रज संगीतकारहरूले कुनै समय रचना गरेका महत्त्वपूर्ण सिर्जनाहरूको जानकारी समेत कसैलाई नहुनु र त्यसको रेकर्डसमेत सुरक्षित राखिएको नपाइनु दुर्भाग्य हो।’

पलेँटीको एउटा उद्देश्य त्यस्ता सिर्जनाहरूलाई व्यवस्थित पारेर आउने पुस्ताका निम्ति सुरक्षित राखिदिनु पनि भएकाे उनी बताउँछन्। ‘हामी आशा गर्छौं, शान्ति दिदीले ती संगीतको फेरि सम्झना गर्न सक्नुहोस् र हामीले त्यसलाई सुरक्षित पार्न सकौँ’, आभास भन्छन्। रवीन्द्र भारती विश्वबिध्यालयबाट औपचारिक संगीत शिक्षा प्राप्त गरेकी ठटालका कम्पोजिसनलाई लामो समयदेखि पलेँटीसँग आवद्ध गायिका मीना निरौला र दार्जिलिङबाट आएकी गायिका सोनू राईले गाउनेछन् । सक्रिय गायनबाट अवकाश लिएकी ठटाल पुनः संगीत साधनामा आउन लागेकी हुन्। ठटालको यो प्रस्तुति नेपाली संगीत क्षेत्रको लागि उल्लेखनिय उपलब्धि हुने आभास बताउँछन्। उनी भन्छन्, ‘संगीतमा उहाँको छ दशकभन्दा लामो योगदान आफैँमा अमूल्य छ र यो संगीत क्षेत्रकै उत्सव हो। त्यो उत्सवकै रूपमा यसपालिको पलेँटी प्रस्तुत हुँदै छ।’ पलेँटीमा दिनेश रेग्मीले किबोर्ड, बुद्ध लामाले बाँसुरी, सुन्दर महर्जनले पर्कसन, सन्देश महर्जनले तबला र सुरजकुमार प्रधानले गितार बजाउनेछन्।

प्रतिक्रिया दिनुहोस्