Logo

गर्विणी समय : दीपा राई पुन

बिचारहरु असमन्ज्यस्यतामा

हावाको वेगसँग दौडदा

एक मोडमा ठोक्किएर

मलाई उठेर भन्छ

अनुरोध यो क्षणको

ख्याल गर्नु

समय गर्विणी भएको छ

म आफ्नै छाति छामेर

अचम्मले झस्किएँ

अनि बोधताको गर्वले मुस्कुराए

मेरो डढेलो झैँ जलेको मनलाई

आगोको भुङ्ग्रोमा पिल्सिएको

देशलाई

थाई नपाइ आगोकै झिल्काले

ह्वार ह्वार बलेको यो घडी

नागरिकका मनहरुलाई

मलम लाउन कोहिँ आउने आशले

समयले जन्माएको

महान व्यक्तित्वहरुलाई

मैले क्षमा माग्दै भने

तिमीले हिंडेको बाटो हिंड्न

नसक्दा

तिमीले भनेको कार्य गर्न नसक्दा

तिम्रो बिचारहरुको कदर नहुदा

तिम्रै असल भावनाहरु धरधरी

रोएको देखेर

मैले नै समयलाई गर्विणी हुन

अनुरोध गरें

समय र जीवनको भूगोल

पल्टाउदा जल्दै मेटिएको इतिहास पढ्छु

चेतन अवचेतन मनभित्र गढेर

सुकसुकाई रहेको विश्वाश जाग्दा

संस्कृति

सम्पदा

सभ्यता

शदियौं देखिको मानवीयता

फेरि पुनर्जन्म हुन्छु भन्छ

कामना गर्छु म अब

संस्कृति आ-आफ्नै जन्मोस्

सम्पदा हराभरा भएर फूलोस्

सभ्यताले सगरमाथा छुन सकोस्

सत्य युगको स्वबोध मनुष्यता

पशु पन्क्षी,प्रकृतिको भाषा

बुझियोस्

सत्यम शिवम सुन्दरममा

डढेलो लाउने चेष्टा नगरोस्

कसैले

यसैले समय गर्विणी भएको छ

प्रत्येक मुटु जलन रापमा अमृत

बर्सन असिनाले चुटेको पत्रदल जीवन

नहुन

आफै जन्मेको ठाउँलाई देश भन्न पाउन

आफ्नै पसिना घोप्टाएर एक पेट भर्न

मौलिक सिर्जना रितिरिवाज संस्कारको

अपहरण हुने छैन अब

आफ्नो सुरक्षा आफै गर्न

आफ्नो निर्णय आफै गर्न

हामीलाई समयले जन्माइरहेछ

बारम्बार आफैबाट आफू हुन

समय गर्विणी भएको छ

हामी मान्छे भएर जन्मनुपर्छ

अब । 

हाल बोस्टन ,अमेरिका

प्रकाशित मिती २०७४ असार ७ गते बुधबार

प्रतिक्रिया दिनुहोस्