Logo

कविता : कोपिलाहरूको अवसान

       –  सिन्धु पौडेल
 बसन्ती गुलावसँगै
फक्रीन लागेका तिम्रा बैंस हेरेर
सुन्छु डुल्दै छन् रे
वरिपरी केहि अभिशप्त नजरहरू
विषाक्त भावना बोकेर
लुट्न तिमी र तिम्रो अस्तित्वलाइ
एक हुल छाडा भमराहरु !
तर मनमा दृढ संकल्प र
आँखामा सपना बोकेर
जून छुन निस्केकी तिमी
के थाहा ?
साँझ परेपछि
अँध्यारोलाई  काखि च्यापी
फर्किन्छ्यौ भन्ने
सुन्दर बिहानीको किरणसँगै
नविन कोपिलाहरूलाई
गोडमेल गर्न निक्लिएकी तिमी तर कठै !
फूलवारीले माली गुमाएछ
के थाहा ?
तिमीलाई पारिजातहरू
सूर्योदय भन्दा पहिला नै
झर्छन् भनेर।
हो यस्तै छ ,
 शदियौंदेखि चलिआएको
दुर्भाग्य र नियति।
त्यसैले तिमी हिँड्दा
दुरी नापेर हिँड
अनि शब्द तौलेर बोल
किनकी तिम्रो घरको छानो
सुरक्षित छैन,
र झ्याल ढोका मजबुत नहुनुको
नियती तिमीले भोग्न नपरोस।
म तिमीलाई पाईलै पिच्छे
साथ दिन पनि त सक्दिन
भोको पेटले
रामायण पढेको चाहिँ
कहाँ थाहा छ तिमीलाई?
मेरो दैलोमा
जूनको उज्यालो टिपेर
छर्न आकाशसम्म पुग्न खोज्ने तिमी र
र परतन्त्रलाई आत्मसमर्पण नगर्ने
हार्न नजान्ने
तिम्रा यि हठि स्वभाव र निर्णय
अनि चरा जस्तै स्वतन्त्र र
फूल जस्तै स्वछन्द
बिशाल आकाशको छातिमुनी
स्वईच्छाले डुल्ने
तिम्रा रहरहरूको गन्तब्य
टुङ्गिनु हुदैनथ्यो।।
प्रकाशित मिती २०७४ साल असार १ गते विहिबार 
दस्तावेज संवाददाता
हाल, ईजरायल

 

प्रतिक्रिया दिनुहोस्