Logo

मधुपर्कको ‘अमूर्त’ विमोचन

स्तावेज संवाददाता, जेष्ठ ३० , २०७४ ,काठमाडौँ –  मधुपर्क साहित्यिक मासिक पत्रिकाको ५०औँ वार्षिक उत्सवका अवसरमा सो पत्रिकाले आज आफ्नो ‘अमूर्त’ सांस्कृतिक विशेषाङ्क सार्वजनिक गरेको छ ।  गोरखापत्र संस्थानको एक विशेष साहित्यिक पत्रिका मधुपर्कले स्वर्ण वर्ष प्रवेश गरेको अवसरमा ‘अमूर्त ‘ संस्कृति विशेषाङ्कको विमोचन सहित स्रष्टा सम्मान गरी आफ्नो वार्षिकोत्सव मनाएको हो । 

 २०२५ साल जेठ ३० गतेबाट प्रकाशन सुरु भएको मधुपर्क साहित्यिक पत्रिकाले यो वर्ष ५७६औँ अंक प्रकाशित गरेको छ । साहित्यिक पत्रकारितामा नियमित मासिक मध्येको अगुवा मानिने मधुपर्कको सो ५७६औंँ पूर्णाङ्क यहाँ आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी वाङ्मय पुरुष शत्यमोहन जोशीले संयुक्तरुपमा विमोचन गर्नुभएको हो । राजधानीमा आज आयोजित एक भव्य समारोहकाबीच वयोवृद्ध साहित्यकार श्यामदास वैष्णव र प्रा. डा. चुडामणि बन्धुलाई सम्मान पनि गरिएको छ ।

 विशिष्ट व्यक्तित्वहरु शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेले सम्मान पत्र र नगदसहित ‘मधुपर्क सम्मान’ समर्पण ग्रहण गर्नुभएको थियो ।  यसैगरी मधुपर्क प्रकाशनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रा. डा. प्रेम खत्री, साल्ट ट्रेडिङ लिमिटेड र मधुपर्कका डिजाइनर भानु भट्टराईलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।

 विशेषाङ्कमा नेपालका ‘अमूर्त’ सम्पदाको परिचय, कात्तिक नाँच, दाफा सङ्गीत, मुन्धुम, लोकवार्ता, घाटु नृत्य, मूर्तिकला, वाग्मती सभ्यता, खार्पूनाथ आदिबारे विज्ञहरुको लेख, रचना समावेश छन् । कार्यक्रममा यसअघि घोषणा गरिएको रु २५ हजार राशिको मधुपर्क सम्मान यस वर्ष भाषाविद् चूणमणि बन्धू र कवि श्यामदास वैष्णवलाई प्रदान गरियो ।  गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरे, शताब्दी वाङ्मय पुरुष जोशी, सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ  लगायतले पत्रिकाको निरन्तरताको कामना गर्नुभयो  । 

  दक्षिण एसियामै ५७६औँ पूर्णाङ्क प्रकाशित हुने सम्भवतः मधुपर्क नै पहिलो साहित्यिक पत्रिका भएको जानकारी सो पत्रिकाका सम्पादक श्रीओम श्रेष्ठ रोदनले दिनुभयो  । कार्यक्रमका अतिथिका रुपमा संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे सहित संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोख्रेल, संस्थानका महाप्रबन्धक सुशील कोइराला, मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार शैलेन्द्र साकार, राजनीतिक व्यक्तित्व तथा साहित्यकार प्रदीप नेपाल, पूर्वमन्त्री तथा साहित्यकार एसपी कोइराला, नेता दिनानाथ शर्मा लगायतका बरिष्ठ साहित्यिक धरोहरहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्