Logo

कथा : नन् स्टप यादहरु

 
नबराज क्षितिज
 
 
“मेरो उत्तर शायद उन्लाई चित्त बुझेन क्यार ! फेरि भनिन्” कि आस्तिक हुनुस् कि पुरै नास्तिक हुनुस् ” मैले भने ” पुरै आस्तिक भएर दिनदिनै मन्दिर गएर दियो बाल्नेहरुको जीवन किन दियो जस्तै उज्यालो हुँदैन ? ” उनी मौन रहिन् एक्छिन् । ॠषि धमलाले झैं छिटो छिटो प्रश्न सोधिनन् । एक्छिन पछि अर्को प्रश्न म तिर फालिन् , ” तपाइलाई सबै भन्दा मन पर्ने उज्यालो र मन नपर्ने दृश्य कुन हो?” एक्छिन त मनमा रिस पनि उठ्यो । छेउ न टुप्पाको प्रश्न किन सोध्दैछिन् मसँग ? ” आमाको अनुहारमा खुसीले ल्याएको उज्यालो मलाई संसारको सबैभन्दा मन पर्ने उज्यालो हो र आमाको आँखामा पिडाको आँसु भरिएको दृश्य मलाई सबै भन्दा खराब लाग्ने दृश्य हो । म चाहन्छु सकेसम्म यो दृश्य देख्न नपरोस् ।” मेरो उत्तर सुनेपछि उनी भावुक भईन् । आँखाको बैशाखी टेक्दै सम्झनाहरु बहिरहे सायद । केही समयपछि सम्हालिदै भनिन् ” मैले आमा गुमाएको एक बर्ष भयो । आमाको बार्षिक पुन्य तिथीको लागि म नेपाल आएकी थिएँ । तपाईँको उत्तरले मैले मेरी आमालाई सम्झिएँ ।”
                – नवराज क्षितिज 
नारायणघाटको पुलचोकमा केहिबेर पर्खिएपछि निधारमा मध्यपश्चिम यातायात लेखेको बस रोकियो । फुच्छे झोला झुन्ड्याउदै बस भित्र चढें । हिजो बेलुकासम्म मन अमिलो बनाउँदिन भनेर सोचिरहेथें तर बाइ भन्दै गर्दा परेलीहरुमा आँसु फलिहालेछ । म बस्नुभन्दा अगाबै आँसुका ढिक्काहरु म बस्ने सिटमा बसिहाले । समय जिन्दगी बनेर थोपा थोपा बग्दोरहेछ निरन्तर । म युद्दमा हारेको सिपाही झैं लाचार भएर गाडिमा बसिरहें । मानौं मेरो सिङ्गो तौल भन्दा मेरो टाउकोको तौल धेरै छ आज त्यसैले शिर झुकिरहेछ ।
 
     बिदा सकेर फर्कने बेलामा सँधै मेरो मुटुमा तीखो काँडाहरुले एकनास कोतरिरहन्छ , तर पनि म बिना प्रवाह आइरहन्छु प्रवास । परिस्थितिले बाध्यताको लगाम लगाइदिएको जो छ , नआएर सुखै छैन । म जस्तै बिदेशिनेहरु आधा करोडभन्दा धेरै छन् , घर छोडेर निस्केने बेलामा सबैको हालत यस्तै त होला , मनमनले सोचिरहन्छु । धर्तीमा उज्यालो पोखिरहेको थियो म नारायणघाटबाट निस्कदा । काठमाडौं आइपुग्दामा काठमाडौंभरी  सुनौलो घाम पोखिइसकेछ । चितवनबाट काठमाडौं सम्म आइपुग्दा बिदाइका क्षणहरु पटकपटक आँखामा ठोक्किन आइपुगे र पटकपटक मन अमिल्याएर गए ।
 
   ” एक बर्षमा त आइहालिन्छ, अनि कहिल्यै फर्कन्न । यतै केही ब्यबसाय गरेर बस्छु । उनी घर धन्दा गर्लिन् , म छोरा पढाउँछु , स्कुल पुर्याउँछु र बिदा हुने बेलामा लिन जान्छु । पुगे मीठो मसिनो खाउँला, नपुगे आधापेट मात्र खाउँला । आहा ! कति रमाइलो हुन्छ होला परिवार सँगै बस्न पाए त !” सोचिरहन्थें तर कल्पनाको सुन्दर उडानलाई वास्वबिकतामा अवतरण गर्दा मन नराम्ररी अत्यासिंदो रहेछ । धेरै अगाडिदेखि पढ्न मन लागेका पुस्तकहरु जीवा लामिछानेको ” सरसर्ती संसार” अक्षरकाकाको “देउती” ब्यन्यामिनको आडु जिबिदम्(खबुज) हरिबंश आचर्यको ” हरिबहादुर” टिपें काउन्टरमा पैसा तिरेर म एयरपोर्ट छिरें । साहित्य मन पराउनेहरुलाई मन परेको पुस्तक पाउनु भनेको भोक लागेको बेलामा खिर पाउनु जस्तै हुँदोरहेछ ।
 
     बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँच सकेपछि प्रस्थान कक्षमा बसिरहें । समय अझ पन्ध्र मिनेटजति बाँकी नै छ । घरमा फोन गरें, बियोगको मलिन आवाज मेरो कानमा ठोक्किरह्यो तर सँधै यसरी नै मनमा पिडाको भारी राखेर पनि त हुँदैन । मैले सम्झाएँ । उनी सम्झिइन् अथवा सम्झिए जस्तै गरिन् तर मेरो भारी मन हलुका भयो । छोरासँग बोलें मन हलुका बनाएर कुराकानी टुङग्याएँ । सँधैं मनमा तुवाँलो बसिरह्यो भने जीवन कसरी चल्छ र ? ईतिहाद एयरवेज बोईङ EY-292 को 12F मा मेरो सिट रहेछ । सरासर गएँ देउती निकालें । अरु पुस्तकरु हेण्डब्याग मै राखें र देउती पढ्न शुरु गरें ।
  ” नमस्कार ”  सिष्टाचारका औंलाहरु जोड्दै एक युवती मेरो आडैको सिटमा बसिन् । कसैकसैको बोली त यति मीठो हुन्छ नि ! आवाजमै संगीत मिसाए जस्तो । मधुर आवाज पट्टि हेरें र नमस्कार फर्काएँ । परिचय भयो पाटनकी रजनी शाक्य रहिछिन् । ब्रीस्वेन अष्ट्रेलियामा परिवारसँगै बस्दिरहिछिन् । एक महिनाको लागि नेपाल आएकी रे, आवुधावीमा एक घन्टा ट्रान्जीट रहेकोले  सँगै यात्रा गर्ने अवसर मिलेको रहेछ हाम्रो ।
   ” मलाई पनि साहित्य मन पर्छ ।” बोल्ने निउँमा मेरो हातबाट मैले पढिरहेको “देउती” लिईन् । सरसर्ती हेरेपछि मसँग अन्तर्वार्ता लिउँलाझैं गरि प्रश्न गरिन् । “पुस्तकको पाना पढ्नु र जीवनको पाना पढ्नुमा के फरक पाउनुहुन्छ ?” ” पुस्तक पढेपछि जीवनको पानालाई ठूलो फ्रेममा राखेर हेर्न सकिदोरहेछ ।” मैले उत्तर दिएँ । 
 
   मेरो उत्तर खस्न नपाउदै फेरि अर्को प्रश्न तेर्स्याइहालिन् ” तपाईं आस्तिक कि नास्तिक?” पहिले कुनै टक सो चलाउँदी रहिछिन्  क्यार ! प्रश्न सोध्ने मान्छे नभेटेर मसँगै प्रश्नहरु सोधिरहेकी छिन् , लागेको बानी हतपत कहाँ छुट्छ र? मनमनै सोचें  ।” म पुरै आस्तिक पनि होइन, र पुरै नास्तिक पनि होइन । हिड्दाहिड्दै बाटोमा मन्दी भेटिए भेटियो भने दर्शन गरिहाल्छु तर दर्शन गर्नकै लागि मन्दिर खोजिरहँदिन ।” मैले उत्तर दिएँ ।
 
      मेरो उत्तर शायद उन्लाई चित्त बुझेन क्यार ! फेरि भनिन्” कि आस्तिक हुनुस् कि पुरै नास्तिक हुनुस् ” मैले भने ” पुरै आस्तिक भएर दिनदिनै मन्दिर गएर दियो बाल्नेहरुको जीवन किन दियो जस्तै उज्यालो हुँदैन ? ” उनी मौन रहिन् एक्छिन् । ॠषि धमलाले झैं छिटो छिटो प्रश्न सोधिनन् । एक्छिन पछि अर्को प्रश्न म तिर फालिन् , ” तपाईंलाई सबै भन्दा मन पर्ने उज्यालो र मन नपर्ने दृश्य कुन हो?” एक्छिन त मनमा रिस पनि उठ्यो । छेउ न टुप्पाको प्रश्न किन सोध्दैछिन् मसँग ? ” आमाको अनुहारमा खुसीले ल्याएको उज्यालो मलाई संसारको सबैभन्दा मन पर्ने उज्यालो हो र आमाको आँखामा पिडाको आँसु भरिएको दृश्य मलाई सबै भन्दा खराब लाग्ने दृश्य हो । म चाहन्छु सकेसम्म यो दृश्य देख्न नपरोस् ।” मेरो उत्तर सुनेपछि उनी भावुक भईन् । आँखाको बैशाखी टेक्दै सम्झनाहरु बहिरहे सायद । केही समयपछि सम्हालिदै भनिन् ” मैले आमा गुमाएको एक बर्ष भयो । आमाको बार्षिक पुन्य तिथीको लागि म नेपाल आएकी थिएँ । तपाइको उत्तरले मैले मेरी आमालाई सम्झिएँ ।”
 
  मलाई पनि नमज्जा लाग्यो । सहानुभूति दिदै भनें ” मानिस जन्मनुभन्दा अगाडि नै मृत्युको फाईलमा स्वीकारोक्तिको हस्ताक्षर गरेर जन्मिएको हुन्छ । ढिलो र चांडोको कुरा मात्र हो सबैको अन्तिम बाटो मृत्यु नै हो । अर्को कुरा मानिसको जीवन भनेको अर्कैको उपहार हो, उनिहरुको चाहना बिपरित हामी एक दिन पनि धेरै बाँच्न सक्दैनौं । धैर्य गर्नुस् । भोलिको दिनहरुमा हामी सबैको अन्तिम बिन्दु त्यही मृत्यु नै हो , मृत्यु अकाट्य छ ।” मेरो कुरा सुनिरहिन् र भनिन् “कोसिस गर्छु , सुझाबको लागि धन्यवाद ।”
 
  एयर होस्टेजहरु ट्रली गुडाउदै हामी छेउ आइपुगे र कुन खाना खानुहुन्छ भनेर सोधे । मैले चिकन विरयानी मगाएँ रजनीले पनि चिकन विरयानी मै सहमतीको टाउको हल्लाईन् । तपाईं बिदेश किन आउनुभएको? खाना खाइसकेपछि उनले सोधिन् । जवाफ मसँग उस्ले चाहे भन्दा धेरै थियो ।आफू किन गएको भनेर कहिल्यै आत्मसमिक्षा गरेकी होलिन् कहिल्यै ? अरुलाई किन बिदेश गएको पो भन्दिरहिछिन् , मेरो मनले त यहि भन्दैथियो तर उस्लाई सुनाइन् ।
 के सोचिरहनुभएको?
 
 किन आउनुभएको बिदेश ? मैले भन्नै कर लाग्यो यो पटक त ” जिन्दगीको अभावहरुले मलाई टोकिरहदा मेरा आफन्त र साथीभाइहरुलाई धेरै अनुनय बिनय गरें  तर कसैले मेरो अनुनयलाई नसुनेपछि म बिदेशिएको ।”
  उन्ले फेरि अर्को प्रश्न सोध्नु अगाबै मैले बार हाल्दै प्रसङ्ग मोडिदिएँ । सायद उन्लाई अझ धेरै प्रश्न सोध्न मन थियो होला । शायद यो मामलामा मैले उनलाई न्याय गर्न सकिन किन कि म जवाफ दिदादिदै अवाक भैसकेको थिएँ । 
 
  कुनै कुनै साथीहरु आधा बाटोमै भेटिन्छन् र आधा बाटोबाटै छुट्छन् । त्यस्तै भन्यो रजनी सँगको भेट ।आकाशमा उड्नैलाग्दा भेटेका थियौं र जमिनमा उत्रनेबेलामा छुट्दै थियौं । हवाइजहाज भुई टेक्न खुट्टा तन्काउदै थियो । उन्ले भनिन् ” तपाइलाई धेरै सम्झिरहने छु ।” सम्झने र बिर्सने पूर्ण अधिकार तपाइमा शुरक्षित छ , जसो गर्नुहुन्छ गर्नुस् तपाइको मर्जीमा ।” म यति धेरै बिरसिलो नहुनु पर्ने थियो शायद । मेरो उत्तर सुन्दै गर्दा उनलाई लाग्दो हो कति बिरसिलो मान्छे होला ! हो म बिरसिलै छु छुचो बोल्छु झुटो बोल्दिन ।
  जहाजका पाङ्राहरु आवुधावी एयर्पोर्टमा बजारिए । यात्रा यादगार बनाइदिनुभएकोमा धन्यवाद र तपाइको बाँकी यात्रा सहज र सफल होस् भन्ने कामना सहित म निस्किएँ । म निस्किएको बाटोभरी उन्ले आँखा ओछ्याईरहिन् । 
 
     पासपोर्टमा एराइभलको छाप हानेपछि म मेरो लगेज खोज्न १६ नम्बर बेल्टमा पर्खिरहें लगेज आइपुग्न निकै समय लाग्यो यो पटक किन हो कुन्नी? घरमा फोन गरेर सुरक्षित अवतरण भएको जानकारी गराएँ । म बाहिर निस्कदा लगभग एक घन्टा भैसकेको रहेछ । जब म ट्याक्सी मा चढें , इतिहादको EY 292 विमान उडिहाल्यो । रजनी आकाशमा उडिरहिन् म बाटोमा गुडिरहें ।
  कोठामा आइपुगेपछि झोला खोलें हर्लिक्सका 3 वटा सिसाहरु भित्र आँप, लप्सी र मुलाको अचारहरु देखें । फेरि घर फोन गरें ” तिम्रो यादसँगै आगोका फिलिङ्गोहरु पनि पठाइरहेकि छ्यौ ? मन पोल्नेगरी यादहरु आइरहेछ । ” मेरो कुरा सुनेपछी उन्को हाँसो मेरो कानमा गुन्जिरह्यो र भनी ” मैले पनि सम्झिरहेकी छु” हो हामीले सम्झिरहेका छौं एक,आपसमा ………. यादहरु आइरहन्छन् ………. नन् स्टप यादहरु ……..
प्रकाशित मिती २०७४,जेष्ठ २९, गते सोमबार
प्रतिक्रिया दिनुहोस्