Logo

नेपाली ग्रामीण परिवेशको जीवन्त कथा, ‘अनि देउराली रुन्छ’

जेठ २८, २०७४ काठमाडौँ – नेपालको ईतिहासमा धेरै उथलपुथलहरु भए,राजनैतिक व्यवस्थाहरू परिवर्तन भए, शासकहरू फेरिए, तर दलित, उत्पीडित र निम्न वर्गका दुःखका भारी कहिल्यै हलुका भएनन्। उनीहरूले दुःख र पीडाका भारी बिसाउन देउरालीका चौतारीहरूको सहारा लिनुपर्ने अवस्था आजसम्मपनि बिध्यमान छ। साहुहरू गाउँ समाजका हर्ताकर्ता हुने परम्परागत नेपाली चलन बर्तमान लोकतान्त्रिक संघीयगणतन्त्र व्यवस्थामा पनि जारी छ। लालचरुपी मुखौटा भिरेका साहुुले सोझा गाउँलेलाई दिने दुःख राणा र पञ्चायतकाल भन्दा रूपमा मात्र फरक छ, पीडाको सवालमा भने त्यतिकै चर्को छ। कविला युगमा कहलाईने समाजका साहुहरू समयअनुसार रुपान्तरित हुँदै गएर नेता, मास्टर, सरकारी कर्मचारी, ठेकेदार, पसलेका रूपमा बिकसित भएका छन् । कथित छद्मधारी साहुका जाल प्रपन्चले नेपाली इतिहासमा लादिएको दासत्वकोझल्को दिन्छन्। यिनै साहुहरूको सदाबहार रूप मञ्चन भइरहेको छ ‘अनि देउराली रुन्छ ‘ नाटकमा ।
       बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको यस नाटकमा नेपालको ग्रामीण परिवेशको कथा समेटिएको छ। गाउँघरमा उकाली ओराली गर्दा थकाइ मार्ने ठाउँ देउराली र चौतारी बनाइएको हुन्छ । गाउँघरमा हुने सार्वजनिक छलफलको थलो पनि यस्तै देउराली र चौतारी हुन्छन्। अनि देउराली रुन्छ नाटकमा देखाइएको देउराली शहर बजार पुगेर फर्किंदा र मेलापातको कामले असिनपसिन भएका बेला थकाइ मार्ने संगमस्थल हुन्छ। त्यही देउराली गाउँका ठूलाबडाहरूको काला कर्तुत कार्यान्वयन गर्ने थलो पनि बन्ने गरेको छ । साहुले सर्वसाधारणलाई दिएको दुस्खको साक्षी त्यही देउराली बनेको छ।

       रंगकर्मी जीवन बरालले निर्देशन गरेको अनि देउराली रुन्छमा भिर पहरा,पहाडमा घाँस काट्दै गरेका महिला र युवतीहरू, दाउरा काट्दै युवतीहरूलाई सिट्टी बजाएर जिस्क्याउने युवक र बजारबाट फर्केका पुरुषहरू सबै रमाइरहेकै छन्। उनीहरू ख्यालठट्टा गर्दै खुसी साटिरहेका हुन्छन्। त्यही बेला गाउँका ठूला ठालु अर्थात् साहु र उनका आसेपासे,हुक्के गाउँलेको खुसीमा आँसुको भेल बगाउने र मेलमिलापलाई छिन्नभिन्न पार्ने प्रपञ्च रच्छन्, जसको परिणामस्वरुप साहुको गोजीबाट गाउँले गरिबमाथि दमन गर्ने अस्त्र पैसाका रूपमा बाहिर निस्कन्छ।

        गरिबीले थलिएको रणध्वजलाई जवान छोरीको विवाह गर्नका लागि पैसाको सख्त जरुरत पर्छ । एक जना गाउँमा पैसावाल साहुसँग छोरी अन्माउनका लागि उनी ऋण माग्न पुग्छन् । बल्लबल्ल हारगुहार गरेर पाएको ऋणले रणध्वजको छोरी अन्माउने तयारी हुन्छ । विवाहका सामग्री तयार गर्न र जन्तीलाई स्वागत सत्कार गर्न ऊ व्यस्त रहन्छ । रणध्वजलाई उसको छोरीको जीवन नै धरापमा पार्ने गरी साहुका सहयोगीले रचेको षड्यन्त्र थाहा हुँदैन। धम्कीका वावजुद विवश भएर रणध्वज एउटी छोरीका लागि आएका जन्तीलाई अर्कै छोरी अन्माएर पठाउँछ।

 अर्कै युवकसँग जीवनका बिताउने भनेर देवी देवता अनि देउराली भाकेकी उनी अर्कैकी श्रीमती बन्न बाध्य हुन्छिन् । मन मिलेको  युवकसँग प्रेम विवाह गरेर सुन्दर जीवन बिताउने सपना बोकेकी उनी राक्षसी व्यवहारको पुरुषको पत्नी बन्न बाध्य हुन्छिन्।                   विवाह गर्नलाई दुलहीको पहिरनमा सजिएकी कसरी साहुका सहयोगीको षड्यन्त्रमा पर्छिन् र त्यसका पछाडि कति परिवारको खुसी खोस्ने प्रपञ्च लुकेको हुन्छ भन्ने कुराको सस्पेन्सले दर्शकलाई उत्सुक बनाउँछ। विवाह मण्डपमा बस्न तयार परेकी बेहुली हराएपछि अर्कै छोरीलाई अन्माउनुपर्ने रणध्वजको बाध्यता र उनकी जेठी छोरीको विवाहले परिवार र समाजमा उथलपुथल मच्चिन्छ। नाटकले समाजमा हुने यस्तै घटनालाई मञ्चमा जीवन्त रूपमा प्रस्तुत गरेको छ।

       मनबहादुर मुखियाले सन् १९७२ लिखित तत्कालिन समयमा  दार्जिलिङ, कालिङपोङ र गान्तोक लगायतका क्षेत्रमा र पछि काठमाडौँमा पनि मञ्चन गरिएको नाटक हो, ‘अनि देउराली रुन्छ।’ त्यतिबेलाको पहाडी परिवेशमा लेखिएको नाटक चार दशकपछि काठमाडौँमा मञ्चन हुँदा पनि यी घटना आजैका हुन् कि भन्ने भान हुन्छ। यसो हुनुको कारण नाटकको कालजयी रचना त हो नै, अर्को पाटो हाम्रो समाजमा रहेको साहुप्रथाको अन्त नहुनु बरु बहुरूपी आवरणमा देखापर्नु हो। नाटक हेर्दै गर्दा मञ्चमा भइरहेका क्रियाकलापले आफ्नै बस्तीका नयाँ आवरणका साहुहरूलाई मष्तिष्कमा नचाउन बाध्य पार्छन्। साहुहरूका कर्तुतले तिनका तीता स्मृतिलाई दिमागमा ठाउँ नदिऊँ भन्दा पनि सकिन्न।
             नाटकको सुन्दर पक्ष जीवन्त कथा साथै त्यसमा प्रयोग भएको गीत र संगीत पनि हो। नाटकमा बेहुली अन्माउने बेला बज्ने गीत ‘हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ किर ?’ होस् कि मेलापातमा युवतीहरूलाई जिस्क्याउन गाइने ‘देउरालीका ठिटी हो, नक्कल पार्नुपर्दैन ‘र गाइनेको वेदना बोकेको गीत ‘सारंगीको तारले मेरो मनको गीत गाउँछ’ले नाटकलाई अझसशक्त बनाएका छन्। देउसी भैलोको वातावरणले जेठमै दशैँ तिहारको माहोल सिर्जना गर्छ। अभिनय अनुसारको कलाकारको पहिरनले नाटकलाई बलियो बनाएको छ। शिल्पी थिएटरको सुन्दरता स्टेज निर्माणमा झल्किएको छ ।

         पहाड, देउराली र गाउँका दृश्य मञ्चमा उतार्न गरिएको मञ्चको परिकल्पना र निर्माण रमणीय छ । त्यसमाथि छाता ओढ्नुपर्ने गरी झरी पार्नु र त्यसैबेला रणध्वजको जायजेथा साहुले हजम गरेर बस्ती निकाला र दुखान्तले दर्शकको मन रुझाउँछ । कुमार आलेको मञ्च परिकल्पना प्रशंसायोग्य छ । नाटकमा कलाकारहरूले गाउँले परिवेशलाई जीवन्त रूपमा मञ्चमा ल्याएका छन् । नाटकलाई समयानुकूल बनाएको भने पनि पुरानै संवाद शैलीले गर्दा नाटकको सुरु र बीचका केही दृश्यमा  भने अस्पष्ट छ। नाटकमा रंगकर्मी एवं रेडियोकर्मी लुनिभा तुलाधरको दोहोरो भूमिकाले दर्शकलाई भरपुर मनोरञ्जन त दिएको छ नै, नेपाली नारीको वास्तविकता पनि देखाएको छ। चन्द्रप्रसाद पाण्डेय,पवित्रा खड्का,निरज सुवेदी, अनिल सुब्बा, जानवी बोहरा, सुमन कुइँकेल, कोपिला ढकाल, संगीता उराव, के.सी राजा, झकेन्द्र विसी र बाल कलाकारहरू काव्य बराल, मुना पाण्डेय, सन्देश पाण्डेयको अभिनयले नाटकलाई जीवन्त र प्रशंसायोग्य बनाएको छ।  
     नाटक असार ५ गतेसम्म मञ्चन हुनेछ। 

प्रतिक्रिया दिनुहोस्