Logo

कविता : तिमी भाग्यमानी छौ

   दृष्टि शर्मा
तिमी भाग्यमानी छौ ! किनकी
तिमी मर्द हौ, कोहि सँग डराउँदैनौ
जहाँ  पुगेपनि हराउँदैनौ,
तिमी समाजका हर हतकडी अनि
जेल, नेल तोड्न सक्छौ ।
मलाई  भने नारी भएकै भरमा
लगाइन्छ हर लान्छना ,
खन्याईन्छ मट्टीतेल
सल्काइन्छ आगो र
मेटाइन्छ अस्तित्व !
तिमी भाग्यमानी छौ किनकी
तिमी प्रगति पथमा हिंड्छौ सरासर
म काला अक्षर भैंसी बराबर ।
तिमी पढेर बुझ्दछौ ,जान्दछौ र लेख्दछौ
गजल ,मुक्तक अनि कविताहरु
म मुख दर्शक बनेर हेर्दै छु रमिताहरु ।
तिमी भाग्यमानी छौ किनकि
तिमी गर्भमै सुरक्षित छौ
सत्कारित छौ
सम्मानित छौ ,
तिमिलाई त छुट छ यहाँ
कहिले भेल बाढी त कहिले
कञ्चन बनेर सुसेलिदै निरन्तर
निरन्तरतामा अघि  बढ्न ,
तर म तालको पानी झै
जहाँको तहि बग्दै बग्दिन ।
“क ” मा नै अल्झिरहन्छु सधैं
“ज्ञ” मा त पुग्दै पुग्दिन ,
तिम्रो जीवनको  गन्तव्य र निश्चितता छ
यो मौसम यो समय तिम्रै पक्षमा छ ।
यहि समयको पाउँमा घोप्टिएर
सविनय  गरिरहेछु म
यो बाँच्ने सास्ती नसिकाउ भनी,
केवल हावाका झोक्काहरुमा
कुदिरहेका छन महङ्गा सपना मेरा,
र बाटो बिराएको बादल जस्तो
छरिएको छु यत्रतत्र !
तिमी कैयौं सुन्दर फूलहरु टिप्छौ
आगनमा सजाउछौ हेरेर रमाउछौ
तिमिलाइ त छुट छ यहाँ
बैसालु भवरा बन्न
थुङ्गा थुङ्गामा चुम्न
भुनभुनाउदै घुम्न,
त्यसैले हर दृष्टिकोणले तिमी
भाग्यमानी छौ !!
     सुर्खेत
प्रतिक्रिया दिनुहोस्