Logo

आर्मी र पूर्वाञ्चल भिड्दै

जेष्ठ ९, २०७४- सर्वाधिक धनराशिको प्रधानमन्त्री कप वान डे क्रिकेटको मंगलबार उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र पूर्वाञ्चल क्षेत्र भिड्ने भएका छन् । यी दुईसँगै नेपाल पुलिस क्लब र सुदूरपश्चिमाञ्चल क्षेत्र समूह ‘बी’ मा छन् । 

समूह ‘ए’ मा नेपाल एपीएफ क्लब, मध्यमाञ्चल, मध्यपश्चिम र पश्चिमाञ्चल छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । प्रतियोगिता विजेताले २० र उपविजेताले १० लाख रुपैयाँ पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५ हजार तथा हरेक म्यान अफ द म्याचले ५ हजार पाउने छन् । 

राष्ट्रिय खेलाडीले भरिएको आर्मीका कप्तान विनोद भण्डारीले भने, ‘धेरैपछि वान डे खेल्न पाउँदा खेलाडी उत्साही छौं ।’ नेपाल क्रिकेट संघ निलम्बनमा रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषदले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरको सहयोगमा प्रतियोगिता गर्न लागेको हो । २७ महिनापछि पहिलो पटक वान डे राष्ट्रिय प्रतियोगिता हुन लागेको हो । नेपाली राष्ट्रिय टोली र परिषदका क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाले हङकङसँगको खेललाई यो प्रतियोगिता आधार हुने बताए । प्रतियोगिता प्राविधिक समितिमा पनि रहेका टमाटाले भने, ‘राष्ट्रिय टोलीको छनोटमा यस प्रतियोगितामा गरेको प्रदर्शन पनि मूल्यांकन हुनेछ ।’

 सुदूरपश्चिमको नेतृत्व सुरेन्द्र चन्द, मध्यपश्चिमको नेतृत्व सुवेन्दु पाण्डे, पूर्वाञ्चलको नेतृत्व पुष्प थापा र मध्यमाञ्चलको नेतृत्व शरद भेषावकरले गर्दै छन् । पश्चिमाञ्चलको कप्तान अझै टुंगो लागिसकेको छैन । विभागीय टोलीमा मन्जित श्रेष्ठले पुलिस र ज्ञानेन्द्र मल्लले एपीएफको कप्तानी गर्नेछन् । एपीएफका नियमित कप्तान पारस खड्का अमेरिका भ्रमणमा रहेकाले सहभागी हुने छैनन् । 
    सोमबार पत्रकार सम्मेलनमा ८ मध्ये ६ कप्तानले लामो समयपछि वान डे क्रिकेट हुन लागेकाले खेलाडी सकारात्मक रहेको र भविष्यमा अझ यस्तो प्रतियोगिता खेल्न पाउने आशा लिए । ‘धेरैपछि वान डेको राष्ट्रिय प्रतियोगिता हुँदै छ । त्यो पनि सर्वाधिक धनराशिको, यसले विस्तारै हाम्रो क्रिकेटमा सुधार भइरहेको देखाएको छ,’ शरदले भने । 

सुशील पुलिसमा फर्किए 

चितवनका देव्रेहाते स्पिनर सुशील कँडेल पुलिस क्लबमा फर्किएका छन् । यसअघि पनि उनले पुलिसबाट खेले पनि त्यसपछि विभागीय टोली छाडेका थिए । अहिले फेरि पुलिसबाट खेल्ने भएको टोलीका प्रशिक्षक मनोज कटुवालले बताए । सुशीलले धनगढीमा अघिल्लो महिना सम्पन्न सगरमाथा धनगढी प्रिमियर लिगमा सर्वाधिक १७ विकेट लिएका थिए । सुशीलसँगै गत वर्ष बंगलादेशमा आईसीसी यू–१९ विश्वकप खेलेका शंकर रानाले पुलिसबाट खेल्ने छन् । स्पिनर प्रेम तामाङ पुलिसको १४ सदस्यीय टोलीमा रहेका छैनन् । त्यस्तै आर्मीले देव्रेहाते स्पिनरद्वय सुसन भारी र साहब आलामलाई टोलीमा समावेश गरेको छ । 

प्रतिक्रिया दिनुहोस्