Logo

उदियमान गायक बासुदेव बास्कोटाको ‘तिमी नै छौ चन्चल’ अल्बम भाईरल बन्दै

रामप्रसाद ढुंगेल,दुबई, जेष्ठ ४, २०७४ – रोजगारीका सिलसिलामा ८ वर्षअघि घरदेश छाडी परदेशको बाटो तय गरेका झापा चारपानेका बासुदेव बास्कोटाले ६ वर्षे मलेसिया बसाइमा पनि फुर्सद हुने बित्तिकै गीत गुन्गुनाइरहे । सपना गायक बन्ने जो थियो । तर, सबैका सपना सजिलै पूरा हुँदैनन् । सबै रामकृष्ण ढकालहरुले आफ्नो भाग्य चम्काइदिने, गोरेटो कोरिदिने गोपाल कर्माचार्य पनि पाउँदैनन् । सपनाहरु सजिलै पूरा हुने सौभाग्य सबैले पाउँदैनन् पनि ,तर, निराश भएनन् बास्कोटा ।
           काम गरिरहे, दाम कमाइरहे । काम र दामको गोलचक्करमा कतै अल्झिए वा हराए बास्कोटा । कतै छुटे जस्तो भयो संगीतमोह । कामको प्रकृति नै त्यस्तै थियो । तर, आफ्नो मनभित्रको संगीतमोह भने मरेको थिएन । दाम कमाउने र काम पाउने थलो मात्र रहेन परदेश । विभिन्न क्षेत्रमा रुचि भएका नेपालीहरुले काम र दामसँगै नाम पनि कमाइरहेका छन् । नेपाली गीतसंगीतको उत्थान तथा विकासका लागि प्रवासमा रहेका नेपालीहरुले पनि ठूलो योगदान दिइरहेका छन् । व्यवसायिक रुपमा सबै सफल नहोलान्, तर, व्यवसायिक बन्ने गोरेटो धेरैले प्रवासबाटै कोरेका छन् । गीतसंगीतको क्षेत्रमा त्यस्तै गोरेटो कोर्ने हजारौमा एक हुन्– बास्कोटा ।
      कर्मले डोहोर्याउँदै दुई वर्षअघि बास्कोटा जसै युएई आइपुगे, उनले अनुकूल सांगीतिक वातावरण पाए । साथी संगी र जीवनसंगीनीले पनि उनको संगीतमोहमा लाग्न उक्साइरहे । सामाजिक र साँस्कृतिक रुपमा युएईमा क्रियाशील झापाली समाजको आजीवन सदस्य भएपछि उनको संलग्नता साँस्कृतिक विभागमा बड्न थाल्यो । समाजले आयोजना गर्ने विभिन्न अनलाइन प्रतियोगिता तथा सांगीतिक कार्यक्रममा गाउन थालेपछि उनको संगीतमोह युएई आएको वर्ष दिनभित्रैमा बौरियो, मौलायो अनि झाँगियो पनि । उनले साधनामा पनि जोड दिए । अन्ततः साहित्यमा विशेष रुचि भएका बास्कोटाले आफै गीत रचना गरे अनि आफै भरे संगीत । अनि पहिलो छुटीमा वैशाख १२ गते नेपाल गएका बेला काठमाडौंमा गीत रेकर्ड गराउन सफल भए ।

       ‘जूनभन्दा नि राम्री, फूलभन्दा नि सुन्दर

      को छ होला दुनियाँमा, तिमी नै छौं चञ्चल’
       

      आफ्नै शब्द, संगीत र स्वरमा सजिएको यो गीतको म्युजिक एरेन्ज राजिब शाहीले गरेका हुन् । पुतलीसडकको आफ्नै स्टुडियोमा रेकर्ड गरिएको यो गीतले आफ्नो सांगीतिक यात्राले गति लिने गायकको विश्वास छ ।
        बाल्यकालमै आफ्नी आमा हरिमाया बास्कोटोको निधन भएपछि बुबा बलराम बास्कोटाबाटै आमाको पनि माया पाएको बताउँछन् गायक । सानैमा आमा गुमाए पनि बाबुले पुनः विवाह नगरेका कारण आफ्ना बुबालाई आदर्श र महान् बुबा मान्छन् गायक । बुबाकै माया र प्रेरणाका कारण संगीतमा लागेको बताउने बासुदेव मेची बहुमुखी कलेजमा बीबीएस अध्ययन गर्दै कलेजका मञ्चहरुमा गीत गाएको सम्झँदै नोस्टाल्जिक भावमा गीत संगीतमै जीवन समर्पित गर्ने बताउँछन् ।
         नेपाली सांगीतिक आकाशमा नयाँ सेन्टिमेन्टल गीत थपेका छन् बास्कोटाले युएईको नेपाली समुदायबाट । रोजीरोटीका लागि परदेशमा पुग्नेहरुले पैसा कमाएर परिवारको गर्जोमात्र टारेका छैनन्, साहित्य, गीतसंगीत, पत्रकारिता, समाजसेवामा लागेर आफ्ना अधुरा सपनाहरु पूरा गरिरहेका छन् । उक्त गीत सार्वजनिक भएसँगै बास्कोटाको गायक बन्ने सपनाले साकार रुप लिएको छ । नवगायक बास्कोटाको उज्जवल सांगीतिक यात्राको अग्रिम शुभकामना ।

प्रतिक्रिया दिनुहोस्