Logo

अमेरिकी राष्ट्रपति ट्रम्पले गोप्य सूचना चुहाएको आशंका

जेष्ठ २ , २०७४ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहसँग सम्बन्धीत एकदमै गोप्य जानकारी रुसी विदेशमन्त्रीलाई उपलब्ध गराएको नाम नखुलाएका अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई जानकारी दिएका छन्।उक्त सूचना अमेरिकाको एउटा मित्र शक्तिबाट आएको थियो जसले उक्त जानकारी रुसलाई पनि उपलब्ध गराउन अनुमति नदिएको द वासिङटन पोष्टले जनाएको छ।अघिल्लो हप्ता राष्ट्रपति ट्रम्पले रुसी विदेशमन्त्री सार्गेइ लाभ्रोभसँग ओभल अफिसमा भेटघाट गर्दा पछिल्लो घटना भएको उक्त अखबारको भनाइ छ।तर बैठकमा सहभागी उच्च सुरक्षा अधिकारीले उक्त समाचार झुट्टो भएको प्रतिक्रिया दिएका छन्।

खण्डन

“यो खबर झुट्टो हो,” बैठकमा सहभागी अमेरिकी उप राष्ट्रिय सुरक्षा सल्लाहकार डिना पावेलले भनिन्, “राष्ट्रपति ट्रम्पले दुवै देशले भोगिरहेका साझा खतराहरुका बारेमा मात्रै कुरा गर्नुभएको थियो।”ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरले पनि समाचार गलत भएको बताएका छन् । राष्ट्रपति चुनावका क्रममा ट्रम्पको अभियान र मस्कोबीच साँठगाँठ रहेको आरोप ट्रम्पले खेपिरहेका छन् र त्यसमाथि अहिले पनि अनुसन्धानहरु भइरहेका छन्।तर राष्ट्रपति ट्रम्पले ती आरोपहरुलाई झुट्टो समाचार भन्दै खण्डन गरिरहेका छन् । चुनावी अभियानका क्रममा ट्रम्पले डेमोक्र्याटिक दलकी आफ्नी प्रतिद्दन्दी हिलारी क्लिन्टनलाई गोप्य सूचनाहरु ठिक ढंङ्गले व्यवस्थापन नगरेको भन्दै आलोचना गर्ने गरेका थिए।

आशंका

वासिङटनबाट बीबीसीका एन्थोनी जर्चर भन्छन पछिल्लो समाचारबाट ट्रम्पलाई ठूलो क्षति पुग्न सक्छ किनभने विगतमा गोप्य सूचनाहरु सुरक्षित रुपमा नराखेको भनेर रिपब्लिकन नेताहरुले हिलरी क्लिन्टनको निक्कै आलोचना गरेका थिए।उनका अनुसार रुससमेत जोडिएकाले पछिल्लो विवाद थप बढ्ने स्पष्ट छ।अमेरिकी संघीय जाँच ब्युरो एफबीआइले रुससँगको सम्बन्धबारे ट्रम्पको चुनावी अभियानमाथि छानविन गरिरहेको छ।यसअघिका राष्ट्रीय सुरक्षा सल्लाहाकार माइकल फ्लिनको बर्खस्तीसँग पनि रुसी राजदूत सर्गेइ किसल्याकसँगको भेटवार्ता मूख्य रुपमा जोडिएको थियो। सूचनाको श्रोतलाई जोखिममा राखिएको अवस्थामा अमेरिकाका साझेदारहरुले एकदमै संवेदनशील गुप्तचरी सूचना उपलब्ध गराउन आगामी दिनमा संकोच मान्ने अवस्था आउन सक्छ।ट्रम्पका आलोचकहरुले उनीमाथि विदेश नीति सञ्चालनको जटिलताबारे सुझबुझ नरहेको र अनुभवको कमी रहेको टिप्पणी गरिरेहका छन्।राष्ट्रपति ट्रम्प र अमेरिकी गुप्तचर समुदायबीच तनावपूर्ण सम्बन्ध रहेको थियो । राष्ट्रपतिलाई एकदमै अप्ठेरोमा पार्न सक्ने पछिल्लो समाचार घटना भएको एकसातामा नै बाहिर ल्याइएको छ।”यदी यसलाई राष्ट्रपति ट्रम्पमाथि पछाडीबाट कसैले छुरा प्रहार गरिएको रुपमा ठान्ने हो भने त्यो कहाँबाट हानियो भन्ने आशंका गर्न खासै गाह्रो पर्दैन,” ।

के भएको थियो ?

रुसी विदेशमन्त्री र रुसी राजदूतसँग ओभल अफिसमा भएको भेटघाटमा राष्ट्रपति ट्रम्पले सूचनाको श्रोत समेत खुल्ने हिसाबमा जानकारीहरु उपलब्ध गराएको द वासिङटन पोष्ट र द न्युयोर्क टाइम्सलाई अधिकारीहरुले बताएका छन् । इस्लामिक स्टेटले बनाएको हमलाको योजनासँग सम्बन्धित उक्त सूचना अरु अमेरिकी साझेदारहरुलाई सुनाउँदा पनि एकदमै संवेदनशील हुनुपर्ने प्रकृतिको भएको ती अखबारहरुले लेखेका छन् । बैठकमा सहभागी अरुहरुले गल्ती महसुस गरेको र त्यसबाट हुनसक्ने सम्भावित क्षतिबाट जोगिन भेटवार्ताका विवरणहरु अमेरिकी गुप्तचर निकाय सिआइए र न्याश्नल सेक्युरिटी एजेन्सीलाई उपलब्ध गराएको वासिङटन पोष्टले उल्लेख गरेको छ।

प्रतिक्रिया

अमेरिकी सिनेटका डेमोक्र्याट तर्फका दोस्रो उच्च नेता डिक डर्बीनले राष्ट्रपति ट्रम्पको गतिविधि खतरनाक र लापरबाहीपूर्ण भएको बताएका छन् । सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका रिपब्लिकन नेता बब कोर्करले यदी सत्य भए उक्त समाचारले एकदमै ठूलो समस्या निम्त्याउने उल्लेख गरे।ह्वाइट हाउस बाहिर बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार म्याकमास्टरले ती आरोपहरु झुट्टो भएको भन्दै आफु उक्त बैठकमा रहेको र त्यहाँ राष्ट्रपतिले श्रोत, विधी र सैन्य कारबाहीबारे छलफल नगरेको जनाएका छन् । द वासिङटन पोष्टले म्याकमास्टरको प्रतिक्रियाले उक्त समाचार पूरा खण्डन नगरेको उल्लेख गरेको छ। 

श्रोत बीबीसी

प्रतिक्रिया दिनुहोस्