नयाँ किर्तिमान कायम राख्दै बाहुबली-२
वैशाख २९, २०७४,विश्वमा फिल्म बजारको क्रेज बढ्दो छ । बढ्दो व्यापारकै कारण फिल्मको विषयवस्तु समेत सिर्जनात्मक कम, बिकाउ ज्यादा हुँदै गइरहेको आरोप पनि फिल्मकर्मीले खेप्दै आएका छन् । तथापी गत साता रिलिज भएको भारतीय फिल्म ‘बाहुबली २’ सिर्जनात्मक हिसाबले जति चर्चा भएको छ, त्यो भन्दा बढी आम्दानी गरेको रेकर्ड राखेर दर्शक दिर्घाबिच नयाँ किर्तिमान राख्न सफल भएको छ।
एसएस राजामौली निर्देशित ‘बाहुबली २’ ले यतिबेला विश्वव्यापी रूपमा दस दिनमा एक हजार करोड भारु कमाउन सफल भएको छ । यसअघि कुनै पनि भारतीय फिल्मले यति धेरै कमाइ गर्न सकेका थिएनन् । ‘बाहुबली २’ ले पहिले नै विभिन्न शीर्षकमा बनेका रेकर्डलाई समेत भत्काएर नयाँ अंक स्थापित गरिदिएको छ ।
भाटिया, रम्या कृष्णन, सत्यराज लगायतको मुख्य भूमिका रहेको तेलुगु फिल्म ‘बाहुबली २’ लाई अन्य तीन भाषामा पनि डब गरि रिलिज गरिएको थियो । अमेरिकाका ५० आइम्याक्स स्क्रिनमा रिलिज गरिएको ‘बाहुबली २’ एक सय करोड भारु कमाइ गर्ने पहिलो हिन्दी फिल्म बन्न सफल भएको छ । यसअघि उक्त रेकर्ड आमिर खान अभिनीत पछिल्लो फिल्म ‘दंगल’ का नाममा थियो । जुन फिल्मले ८० करोड भारु कमाइ गर्न सफल भएको थियो । ‘बाहुबली २’ ले कमाइमा आमिरकै दुई फिल्म ‘पीके’ र ‘दंगल’ ले बनाएका अधिकांश रेकर्डलाई पनि तोडिदिएको छ । वलिवूडमा अधिकांश ठूला फिल्म इद, क्रिसमस वा तिहार जस्ता ठूला चाडमा बिदा खाने गरी रिलिज गरिन्छ । यस्तोमा प्राय: सलमान खान, शाहरुख खान र आमिर खानकै हालीमुहाली चल्ने गर्छ । तर ‘बाहुबली २’ बिना बिदाको साता रिलिज भएरै पहिलो साताका हरेक दिन सोल्डआउट व्यापार गर्न सफल रह्यो । क्षेत्रीय भाषा र क्षेत्रीय कलाकार भएको ‘बाहुबली २’ को प्रस्तिस्पर्धा मा अन्य फिल्महरु निकै पछाडि परेका छन ।
‘बाहुबली’ का दुई भागलाई चार सय ५० करोड भारुमा बनाइएको थियो । जसमा पहिलो भागले नै विश्वव्यापी रुपमा रूपमा करिब साढे ६ सय करोड भारु कमाएको थियो । पछिल्लो समय भारतीय फिल्म व्यापारको ठूलो हिस्सा बनेर रहेको चीनमा भने ‘बाहुबली २’ रिलिज हुन बाँकी नै छ । ‘दंगल’ ले चीनमा पनि अमेरिकाकै हाराहारीमा कलेक्सन गरेको थियो र आठ सय करोड भारुको लाइफटाइम कलेक्सन गर्न सफल भएको थियो ।
राजा मौलीको फिल्मले भने सारा रेकर्ड तोड्न दुई साता पनि कुर्नु परेन । नेपालमै पनि पहिलो साता शतप्रतिशत अकुपेन्सीसहित व्यापार गरेको यस फिल्मले दोस्रो साता पनि मल्टिप्लेक्समा सोलो प्रदर्शनी पाएको छ । यहाँका व्यापार विज्ञहरू ‘बाहुबली २’ ले नेपालबाट मात्रै १२ करोडभन्दा बढी रुपैयाँको व्यापार गर्ने दावी गर्छन् । जुन व्यापार हालसम्म कुनै विदेशीभाषी फिल्मले गर्न सकेका छैनन् ।
दोस्रो सातामा समेत ६० प्रतिशतभन्दा बढीको अकुपेन्सीसहित दर्शक बटुलिरहेको ‘बाहुबली २’ ले दोस्रो साताको आइतबार मात्रै ३४ करोड ५० लाख भारुको कलेक्सन गर्न सफल भएको छ । जुन दोस्रो सातामा हालसम्म भारतीय फिल्मले गरेको व्यापारको उच्च आँकडा पनि हो । यतिबेला ‘बाहुबली २’ फिल्म घरेलु बक्स अफिसमा चार सय करोडको नयाँ रेकर्डतर्फ उन्मुख छ ।
यसका लागि ‘बाहुबली २’ लाई आमिरकै दुई फिल्म ‘पीके’ र ‘दंगल’ ले क्रमश: बनाएका लाइफटाइफ कलेक्सन ३ सय ४१ करोड र ३ सय ८७ करोड भारुलाई समेत उछिनेर जानुपर्नेछ ।राजसत्ता संघर्षका लागि दुई भाइबीचको संघर्ष र त्यसमा भाइ भारदारले खेल्ने षड्यन्त्रको माखेसाङ्लोमा उनिएको ‘बाहुबली २’ को पटकथालाई दर्शकले जति रचाएका छन्, फिल्ममा प्रयुक्त भिजुअल स्पेसल इफेक्ट्सको पनि तारिफ गरिएको छ । फेन्टासी लुक्समा ठूलो क्यानभास सिर्जना गर्न सक्ने निर्देशक राजामौलीको प्रस्तुतिलाई भारतमा मात्र नभई विश्वभरका फिल्म समालोचकले समेत प्रशंसा गरेका छन् ।