Logo

रियल र बार्सिलोनाको उपाधि होड रोमाञ्चक

बैशाख २५, २०७४, अल्भारो मोराटा र जेम्स रोड्रिग्वेजले रेलिगेसनमा परिसकेको ग्रानाडा विरुद्ध दोहोरो गोल गरेपछि उपाधिको सबैभन्दा बलियो दाबेदार रियल म्याड्रिडले आफूलाई आवश्यक ३ जितमध्ये पहिलो हात पारेको छ । 

            त्यसअघि नेयमर, लियोनल मेसी र लुइस स्वारेजले निसाना लगाउँदा शीर्षस्थानमा कायम रहेको अर्को उत्तिकै बलियो दाबेदार बार्सिलोनाले भिल्लारियलमाथि ४–१ को जित निकाल्यो । रियल र बार्सा दुवै समान ८४ अंकसहित शीर्षस्थानमा छन् तर रियलले एक खेल कम खेलेको छ । 

                   रियल प्रशिक्षक जिनेदिन जिदानले हालैको साता खेलाडी परिवर्तनको नीतिलाई निरन्तरता दिए । उनले गत मंगलबार च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा एट्लेटिको म्याड्रिडलाई ३–० ले हराएको टिमका ९ खेलाडी परिवर्तन गरेका थिए । 

            ह्याट्रिक हिरो रोनाल्डोले पूरै विश्राम पाए । तर रियलले त्यसबापत कुनै सकस बेहोर्नुपरेन । ‘प्रशिक्षकका रूपमा यो मेरा लागि निकै राम्रो कुरा हो,’ जिदानले भने, ‘सबैले खेल्न पाएका छन् । सबै फिट छन् । म एकदमै खुसी छु ।’ दुई मिनेट पनि बित्न नपाउँदै लुकास भाजक्वेजको पासमा कोलम्बियन स्ट्राइकर जेम्सले गोल गरे । त्यसको ९ मिनेटपछि फावियो कोएन्ट्रोको क्रसमा उनले हेड गोल थपे । 

             मोराटाले सिजनको २० औं गोल गर्ने क्रममा डानिलोको लो क्रसमा गोल गरे । पहिलो ४५ मिनेटमै मार खाएपछि ग्रानाडाका फ्यान निकै दु:खी भए । मध्यान्तरपछि रियलले आरामले खेल्यो । अब रियलले बाँकी ३ खेलबाट मात्रै ७ अंक हात पार्न जरुरी छ । तर अन्य टिम कमजोरचाहिँ छैनन्– सेभिया, सेल्टाभिगो र मालागा ।

            रियल पछिल्लो ५ वर्षमा पहिलो घरेलु लिग उपाधि नजिक पुगेको छ । बार्साले चाहिँ साविक युरोपेली विजेतामाथि लगातार दबाब राख्न सकेको हो । भिल्लारियलविरुद्धको खेलमा उसका सुपरस्टार स्ट्राइकरहरू चले । नेयमरले २१ औं मिनेटमा मेसीले रोकेको शटमा गोल गरे । तर भिल्लारियलका स्ट्राइकर सेड्रिक बाकाम्बुले ११ औं मिनेटपछि बराबरी गोल गरे ।

             मध्यान्तर अघि मेसीको प्रहार डिल्फेक्ट हुँदा बार्साको भाग्य राम्रो भयो । यो उनको सिजनको ५० औं गोल हो । तेस्रो गोल स्वारेजले मिहिनेत र शक्ति लगाएर गरे । जाउमे कोस्टाले डि–बक्सभित्र ह्यान्ड गरेपछि मेसीले सहज तर उत्कृष्ट ढंगले पेनाल्टी सदुपयोग गरे । पेनाल्टी सिर्जना गर्नुअघि नेयमरले देखाएको फुटबल सीपको प्रशिक्षक लुइस इनरिकेले निकै प्रशंसा गरे । 

             ‘नेयमरले जे गरे हरेक फुटबल फ्यानले त्यसलाई मान्नैपर्छ,’ उनले भने, ‘त्यो फुटबल मुभ नभएर नृत्यजस्तो थियो ।’ एट्लेटिकोले आइबरमाथि १–० को नतिजा निकाल्दै कम्तीमा चौथो स्थान सुरक्षित गर्‍यो । अंक तालिकाको पुछारतिरको स्पोर्टिङ गिजोनले लास पाल्मासमाथि १–० को नतिजा निकाल्दै लिगमा जीवित रहने आशा कायम राख्यो । 

प्रतिक्रिया दिनुहोस्