Logo

नन्दु राईको आई लभ यु…भाइरल बन्दै


दस्तावेज संवाददाता,युएई ,प्रवासमा रहेर पनि भर्सटायल गायकको छवि बनाएका नन्दु राईको पछिल्लो रोमान्टिक गीत ‘आइ लभ यु …’ भाइरल बन्दै गएको छ । राईको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको भिडियो दिनहुँ हजारौं दर्शकले हेरिरहेका छन् । नयाँ वर्षको अवसरमा सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोका कारण पनि धेरैले यो गीत रुचाएका छन् । मा करिब ५५ हजारभन्दा बढीले हेरिसकेका छन् ।
म्युजिक भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल निराजन प्रधानका कारण पनि उक्त गीत लोकप्रियताको शिखरमा चढ्दै गएको हो । कोरियोग्राफर उत्सव दाहालले उक्त भिडियोलाई जीवन्त पार्ने काम गरेका छन् । गीतको भाव अनुरुप नायिका पोखरेल र निराजनले अपेक्षाकृत उत्कृष्ठ अभिनय गरेको गायक राईले बताए । अर्जुन अधिकारीको निर्देशन, मोहित मुनालको एरेन्ज र निशान घिमिरेको सम्पादनमा भाइब्स क्रिएसनले सार्वजनिक गरेको म्युजिक भिडियोको लिपसिनमा गायक राई र गायिका शिला राईलाई पनि देख्न सकिन्छ ।
गायक राईको आफ्नै शब्द, संगीत र स्वरमा सजिएका गीतहरुको दोस्रो एल्बम ‘कोसेली’ विमोचन गत चैतमा काठमाडौंमा गरिएको थियो ।
केटा  : जवानीमा पिरतीको रंग छ
चारैतिर खुसी उमंग छ
केटी : फूल र भमराको मेल छ
चखेवा र चखेवीको खेल छ
बस् तिमी मलाई मन परेपछि ….आई लभ यु ।

रोजगारीका लागि सात वर्षअघि यूएई आएका भेडेटार धनकुटाका नन्दु राईले ‘सुसेली’ एल्बम चैत २१ गते विनायो क्याफे अनामनगरको हलबाट सार्वजनिक गरेका थिए । उक्त एल्बममा राईका यसअघि नै लोकप्रिय भएका ५ वटा गीतका साथमा एक गीतको म्युजिक ट्रयाक समावेश गरिएको छ । चर्चित गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा विमोचित उक्त एल्बममा राईका लोकपप, गजल, साकेला, आधुनिक गीतहरु समावेश छन् । बरालले एल्बमको समीक्षा गर्दै राज्यले कलाकर्मीहरुको रक्षा गर्नुपर्नेमा जोड दिएका थिए । गायक राईको झै गायन, लेखन तथा संगीत विधामा उत्तिकै दक्षता राख्ने संगीतकर्मी थोरै रहेको चर्चा गर्दै प्रमुख अतिथि बरालले एल्बमको सफलताको कामना गरेका थिए । सोही अवसरमा राईको आइ लभ यु….’बोलको म्युजिक भिडियोको प्रिमियर पनि प्रदर्शन गरियो । कार्यक्रममा निर्देशक अर्जुन अधिकारी, भाइब क्रिएसनका सञ्चालक पर्शुराम रिजाल, गायिका शिला राईको पनि उपस्थिति थियो । विमोचन कार्यक्रममा गायक राईले आफ्नो सांगीतिक यात्राका बारेमा प्रकाशमा पारेका थिए ।
नन्दु राईको सांगीतिक यात्रा

                   आजभन्दा सात वर्षअघि भेडेटार धनकुटाबाट रोजगारीका लागि युएई आएका नन्दु राई युएईको नेपाली समुदायमा   परिचित गायक हुन् । राईको यसअघि नै ’सुसेली लाउने‘ बोलको अडियो गीत तथा एक एल्बम पनि लोकप्रियताको शिखरमा पुगिसकेको छ । सोही एल्बममा रहेको कारुणिक गीत पिउन बाँकी छ बोलको गीतको म्युजिक भिडियोको पनि युएईमै सार्वजनिक गरिसकेका गायक राई युएईको नेपाली साँगीतिक क्षेत्रमा लोकप्रिय गायकका रुपमा परिचित छन् ।
सफल गायक बन्ने सपना देखेका राईले संगीतको क्षेत्रमा स्थापित हुन संघर्ष गरिरहेको बताए । पहिलो नेपाली तारामा ९ हजारमा छानिएर ३ सयभित्र परे पनि गायक राईको त्योभन्दा अघि जाने बाटो बन्द भएको थियो ।
एउटा बाटो बन्द भए पनि अरु बाटाहरु खोज्दै नेपाली सांगीतिक आकाशमा आफ्नो नाम दर्ज गर्ने हुटहुटीले राईलाई कहिले छाडेन । पढाइ, करियर र जिम्मेबारीको बोझले राईलाई नेपालमै बसिरहन दिएन र लागे रोजगारीको क्रममा यूएईतिर आजभन्दा सात वर्षअघि ।यूएईमा पनि उनी चुप लागेर बसेनन् । संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिन यहाँका नेपाली सांगीतिक मञ्चहरुमा छाइरहे राई ।गीतहरु गाइरहे । क्यारिकेचर पनि गर्न भ्याए ।

                   रेडियो नेपालबाट हरेक शनिबार राति प्रसारण हुने चौतारी कार्यक्रम र पछि रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र धनकुटामा बज्ने सांगीतिक कार्यक्रमहरुले उनको संगीतमोहलाई मलजल गरे । नेपाली संगीतका चर्चित गायकगायिकाहरुसँग एउटै मञ्चमा गीत गाएका राईले नेपालमा रहँदा तीन दर्जनभन्दा बढी स्टेज सोमा आफ्नो प्रस्तुति दिइसकेका छन् । संगीत प्रतिको आफ्नो लगावलाई निरन्तरता दिइरहेका राई यूएईका नेपाली सांगीतिक मञ्चहरुमा छाइरहेका यो समयका सक्रिय गायक हुन् । सबै प्रकृतिका गीत गाउन पोख्त गायक राई क्यारिकेचर पनि सिपालु छन् ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, युएईका केन्द्रीय सदस्य राई किराँत राई यायोख्या, किराँत याक्थुङ चुम्लुङ, युएई, पथरी शनिश्चरे समाज, युएई, शेर्पा केदुङ, विश्वकर्मा समाज, नेपाली एकता समाज जस्ता विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन् । उनै नन्दु आफ्ना अन्य दुई वटा लोकप्रिय गीतको म्युजिक भिडियो सार्वजिक गर्ने तयारी गरिरहेका छन् । लोकआधुनिक, पप, लोकपप तथा गजल विधाका गीतहरुलाई समेटी सार्वजनिक भएको ‘सुसेली’ एल्बमको सफलताको शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस्