Logo

एक सफल महिला उध्यमी

गुल्मी जिल्लाको अर्खावाङ गा.वि.स. वडा नं ६ मा जन्मेर हाल चन्द्रागिरी नगरपालिका दहचोकलाई कर्मथलो बनाएकी ३३ बर्षिया देवकला पन्थीको जीवनमा अनेक आरोह अवरोहरु आए । कठिन परिस्थितिलाई तृण बराबर नठानी अनेक हण्डर र ठक्करको वावुजद पनि हिम्मत नहारी परिस्थिति सँग डटेर सामना गर्दै सफलताको कथा स्वर्ण अक्षरमा लेखाउने एक होनहार संघर्षशिल,उध्यमी महिलाहरुको नाममा देवकला पन्थीको नाम अग्रपंक्तिमा राख्दा अत्युक्ति नहोला ।

 देवकला पन्थीको बिगतको कथा कम भयानक छैन । जसलाई सम्झदा उनको आँखा रसाएर आउँछ । बिगतका दिन सम्झिदै उनि भन्छिन् आज यो अवस्थामा आउन मेरो तितो बिगत धेरै प्रेरणादायी छ जसको कारण आज म यहाँ छु । भनिन्छ “ईख नभएको मानिस र बिष नभएको सर्प”को यस समाजमा कुनै काम छैन । जीवनमा सफलता हासिल गर्नको लागि मानिससँग अथाह जोश,जाँगर अनि केहि गर्ने तिब्र ईछ्या शक्ति हुनुपर्दछ तवमात्र मानिस सफलताको शिखरमा पुग्न सक्दछ ।

देवकलालाई एक सफल व्यवसायी बनाउन उनको तितो अतितको एक पाटो सहायक भएपनि निरन्तर आफ्नो पेशाप्रतिको लगाव,निष्ठा, बफादारी,हिम्मत अनि जोश जाँगरको कारण उनि एक सफल उद्यमीको रुपमा आज हामीहरु बिच छाएकी छन् । कसरी देवकला पन्थी एक सफल उद्यमी बनिन् ?उनलाई कसले उत्प्रेरित गर्यो ?उनिमाथि के कस्ता समस्या आईपरे ?आदिजस्ता अनगिन्ती सवालहरुको उत्तर जान्नु भन्दा अगाडि देवकलाको पुरानो कथा खोतल्न जरुरी हुन्छ ।

१)देवकलाको कथा
देवकलाको यात्रा यहाँबाट शुरु हुन्छ । उनको मागी विवाह भएको थियो । श्रीमान जागिरको शिलसिलामा बाहिर बस्ने भएको कारणले उनको दुख सुखमा सहयात्री बनी उनिपनी श्रीमानसँगै रहन थालिन । २०६२ सालमा तत्कालिन सरकारले शिक्षकरुलाई लाईसेन्स जारी गरेपछि अस्थायी दरबन्दीको रुपमा काम गरेका उनको श्रीमानको जागिर खोसियो ।श्रीमानको जागिर चट् भएपछि देवकलाको जिउने आधार नै खोसिएको उनले महशुस गरिन् । रित्तो हात घर जानपनि मनले मानेन ।  किनकी अव दुवैजना बेरोजगार भएका थिए ।  एकदिन देवकला र उनको श्रीमान काखमा २ महिनाको छोरी च्यापेर कसैले थाहा नपाउने गरि सुटुक्क गाउँ छोडेर अवसरको खोजिमा अन्तै हिंडे । कोठाबाट निस्कँदा पेट कटाएर राखेको पाँच हजार रुपियाँमात्र उनिहरुको पासमा थियो । कामको खोजिमा गुल्मी हुँदै तनहुँसम्म उनिहरु आईपुगे । त्यहिँ एकरात बास बसे । कहिं कतै केहि उपाय नलागेपछि तनहुँबाट पोखरातिर लागे । पोखरामा पुगेर एकरात होटलमा बास बसे । त्यहाँपनि गतिलो काम हातपार्न नसकेपछि दुवैजना काठमाण्डौं आईपुगे ।
२) शिखर चुम्ने चाहना
भक्तपुरमा दिदीको घरमा एक रातबास बसिसकेपछि किर्तीपुरमा एउटा कोठा भाडामा लिएर देवकला र उनका श्रीमान् रहन थाले । न खानेकुरा,न सुत्ने ठाउँ,न बिछ्याउने कुरा नै थियो, कलिलो सुत्केरी अवस्था,काखमा २ महिनाको दुधे बालक जसलाई खुवाउन समेत उनिहरुसँग पैसा थिएन । अत्यन्त कष्टकासाथ देवकला र उनका श्रीमानले दुई दिनसम्म जेनतेन गुजारा गरे । यसरी कतिदिन बिताउन सकिन्थ्यो र ? बाँच्नको लागि केहि न केहि कामको सख्त जरुरत थियो । तसर्थ कामको खोजिमा उनिहरुले सबैलाई हारगुहार गर्नथाले । साथीभाईको सहयोगमा उनका श्रीमानले रामेछापमा पुनःप्राईभेट स्कुलमा शिक्षकको जागिर भेट्टाए । श्रीमानको रामेछापमा जागिर पक्का भएपछि देवकलालाई अलिकति राहत मिलेजस्तो भयो । उनि छोरी लिएर गुल्मी फर्किन् । एक महिना पश्चात् गुल्मीबाट रामेछाप आई श्रीमान् श्रीमती एउटै बोर्डिङमा पढाउन थाले । देवकला र उनको श्रीमानको कठिन मेहनतले बिस्तार बिस्तार रंग ल्याउन थालिसकेको थियो । त्यहाँ पढाएर दुवैले केहि पैसाको जोरजाम गरे । त्यसपछि उनका श्रीमान् मास्टर्स डिग्री पढ्न काठमाण्डौं फर्के । साथमा देवकला पनि थिईन् । त्यतिबेलासम्म काखको छोरी २ बर्षकी भईसकेकी थिईन् ।
३)एक सफल ब्युटिसियनको रुपमा स्थापित
जीवनमा केहिगर्ने उत्साह लिएर हिँडेकी देवकलाले कहिल्यै हात बाँधेर बस्न चाहिनन् । काठमाण्डौंमा छोरी र श्रीमानलाई स्कुल र कलेज पठाएर उनि ब्युटिसियन कोर्सको लागि ब्युटि पार्लर धाउन थालिन् । उनको कठिन मेहनत पश्चात् ब्युटिसियन तालिम गरेको एकबर्ष भित्रै उनले International BeautiparlourTrainigCentere[ITC]मा Trainer को रुपमा कामगर्न थालिन् । उक्त पेशामा आवद्ध भएपछि उनले CTEVTE लगायतअन्य संस्थाहरुबाट सम्मान र प्रशंसापत्र हासिल गरिसकेकी छन् । CTEVTE बाट लिईने परिक्षामा T0T,LEVEL -2,जस्तो Programme माJUDGE को कामपनि गरिरहेकी छन् । १० बर्षको ब्युटिसियनको लामो अनुभव सँगालेर उनले २०७२ सालमा हिम्मतका साथ कलंकी मन्दिर अगाडि एकल प्रयासमा एउटा भब्य ब्युटिपार्लर खोलिन् । जसको नाम INTERNATIONAL BEAUTY PARLOUR& TRAINING CENTRE राखिएको छ । जसमा TRAINER को रुपमा ३ जना कार्यरत छन् भने ४०जना प्रशिक्षार्थीले प्रशिक्षण लिईरहेका छन् । यसको साथै प्रत्येक दिनउक्त ब्युटि पार्लरबाट १५ देखि २० जनाले नियमित सेवा लिईरहेका छन् । जसमध्ये बैदेशिक रोजगारको लागि जाने महिला प्रशिक्षार्थीहरुको संख्या बढ्दो छ ।
४)ब्युटि पार्लरमा उपलब्ध सेवाहरु
१) हेयर कटिङ
२) थ्रेडिङ

३)फेसियल/बेहुली मेकअप

४)नेल आर्ट/मेहन्दी
५)मेनी क्यूर/पेडी क्यूर
६) तेल मसाज
७)बडी स्पा
८) ट्रेनिङ
९) ब्युटि प्रोडक्ट बिक्री बितरण

६) एक सफल महिला उध्यमी र कृषि फर्मको स्थापना

ब्युटि पार्लर लगायत उनले दहचोक स्थित ६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा भाडामा लिएर २०७१ सालबाट तरकारी खेतीपनि शुरु गरेकी छन् । शुरुमा ९ लाख लगानी गरेर शुरु गरेको उनको ब्यवसायले पहिलो बर्षमै खर्च कटाएर तीन लाख आम्दानी गर्न सफल भएको थियो । हाल उनले उक्त फर्ममा गोलभेंडा खेती एवं अन्य सिजनेबल खेती गरिरहेकी छन् । उनको कृषि फर्मबाट ३ जनाले रेगुलर कामदारको रुपमा रोजगार पाएका छन् भने ब्युटी पार्लरमा ५ जनाले रोजगार पाईरहेका छन् । अहिले उनको कृषि फर्मबाट बार्षिक आम्दानी १२ देखि १५ लाखसम्म हुने गरेको देवकला बताउँछिन् । जसमा खर्च कटाएर चोखो ७ लाखजति बचत हुन आउँछ । ब्युटिपार्लर कृषि फर्मबाट आम्दानी भएको पैसाले पारिवारिक खर्च लगायत अन्य खर्चमा टेवा पुगेको उनि बताउँछिन ।

७) उत्प्रेरणाको श्रोत
जीवनमा भोगेकाउतार चढावहरु,आर्थिक अभाव र बेरोजगारी हुँदा कति पीडा हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ,देवकला बताउँछिन् । आफूसँग पैसा नहुँदा कैयौं रात भोकभोकै कटाएको उनि सम्झन्छिन् । दुखःपर्दा कोहि आफ्नो हुँदैन,आफन्त छरछिमेकले समेत ऋृण दिंदैनन् । बलेको आगो मात्र  ताप्ने यस स्वार्थी समाजको कारणबाट नै उनलाई जीवनमा केहिगर्ने हिम्मत आएको देवकला पन्थी बताउँछिन् ।
                 फाईनान्सबाट ३ लाख ऋण लिएर खोलिएको उनको ब्युटि पार्लर आज निकै शानदारसँग चलिरहेको छ । प्रशिक्षण लिने प्रशिक्षार्थीबाट मासिक आम्दानी डेढलाख सम्म हुने गरेको देवकला सुनाउँछिन् । उनले खोलेको ब्युटिपार्लर एण्ड प्रशिक्षण सेन्टरको घरभाडा मासिक २२,०००/- छ । घरभाडा र अन्यखर्च ३०,०००/-कटाएर मासिक९५,०००/-सजिलै बचत गर्न सकिने उनि बताउँछिन् । मिलनसार,सहयोगी भावना भएको कारण सबै सेवाग्राहीहरुको नजरमा देवकला हाईहाई भएकी छन् । उनको ब्युटिपार्लरमा हरेक दिन नयाँ नयाँ प्रशिक्षार्थी र सेवाग्राहीहरु खचाखच भरिएको देख्न पाईन्छ ।आफ्नो ब्यवसाय प्रति उनि अत्यन्त खुशी देखिन्छिन् । प्रेरणाको श्रोत आफ्नो श्रीमानलाई मान्ने देवकला श्रीमानको सहयोगको कारण आज आफू यहाँसम्म आई पुगेकोमा गर्व गर्छिन् । यसका साथै आफूसँग दृढ ईछ्याशक्ति हूनूपर्ने उनको ठहर छ । जसको कारण जुनसुकै कामगर्न पनि अप्ठ्यारो नहुने उनि बताउँछिन् ।

८)भविष्यको योजना
सफलताको शिखर चुम्दै गरेकी देवकलाको भविष्यको योजना उक्त कृषि फर्मलाई १५ रोपनी क्षेत्रफलमा पुर्याएर अझ बढि तरकारी खेती बिस्तार गर्ने रहेको छ । कृषि फर्म लगायत ब्युटिपार्लरलाई पनि निरन्तरता दिने उनको सोच छ । देशका बिभिन्न ठाउँमा शाखा बिस्तार गरि भविष्यमा बढि भन्दा बढि सेवाग्राहीहरुलाई स्तरिय सेवा उपलब्ध गराउने उनको योजना रहेको छ । आर्थिक अवस्था कमजोर हुनेलाई ३०% छुटमा उनले धमाधम ब्युटिसियन प्रशिक्षण उपलब्ध गराएकी छन् । देवकलाले ब्युटिपार्लरबाट न्युनतम शुल्कमा प्रशिक्षण लिएर केहिलाई रोजगार समेत दिलाएकी छन् । यो अत्यन्त खुशीको कुरा हो । जहाँ इछ्या त्यहाँ उपाय भनेझैं मनले चाहेमा कुनैपनि ब्यवसाय गर्नलाई आर्थिक अभावले नछेक्ने उनको भनाई छ । असम्भव भन्ने केहि छैन भन्ने जिउँदो जाग्दो नमुना बन्न पुगेकी छुन् देवकला पन्थी । सहयोगी भावनाको कारण आर्थिक अभाव र अवसरबाट बिमुख भएका दिदीबहिनीहरुलाई अवसर दिलाउन उनि हमेशा तयार छिन् । सफल उद्यमी देवकलालाई आगामी दिनहरुमा सोचे अनुसारको सफलता मिलोस् ,उनका भविष्यका योजनाहरु पुरा हुँदै जाउन् ,दस्तावेज डट कमको तर्फबाट उन्नती प्रगतिको अग्रिम शुभकामना । 

प्रस्तुती, दीपशिखा शर्मा

    काठमाण्डौं 

प्रतिक्रिया दिनुहोस्