Logo

अन्नपूर्ण पोस्ट इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टनमा कडा प्रतिस्पर्धा

धनगढीः धनगढीको क्षेत्रीय रंगशालामा जारी अन्नपूर्ण पोस्ट इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा विभिन्न जिल्लाबाट आएका खेलाडीबीच कडा प्रतिस्पर्धा देखिएको छ।

                आइतबार क्वाटरफाइनल र सेमिफाइनल चरणका खेलहरु सम्पन्न भएका हुन्। प्रतियोगिताका रेफ्री उदय अर्यालका अनुसार आइतवार भएको पुरुष सिंगलतर्फ सेमिफाइनल खेलमा देवराज राना (कैलाली)ले अमृत चौधरी (कैलाली)लाई २१–८ र २१–१८ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् भने गोकुल जोरा (कैलाली) ले प्रियन्सु क्षेत्री (कञ्चनपुर)लाई २१–१६ र २१–१७ ले पराजित गरेर फाइनलमा पुगेका हुन्।

                  पुरुष सिंगलतर्फ सेमिफाइनलमा प्रार्थना देउवा (कैलाली)ले सीमा चौधरी (कैलाली)लाई २१–४ र २१–४ ले पराजित गरी फाइनलमा प्रवेश गरेकी छिन्। अम्बिका मल्ल (कैलाली)ले एलिना तिरुवा (कैलाली)लाई २१–१५ र २१–१३ ले पराजित गरी फाइनल खेलको यात्रा तय गरेकी छिन्। पुरुष डबल्सतर्फ भएको सेमिफाइनल खेलमा सुनिल श्रेष्ठ र दिलिप देउवा (कैलाली) को जोडीले पदमराज भट्ट र मंगलबहादुर जि.एम. (कैलाली)को जोडीलाई २१–१७ र २१–१२ ले पराजित गर्दै फाइनल प्रवेश गरेका छन्।

                 त्यसैगरी राजेन्द्र बम र प्रकाश चन्द (कैलाली)को जोडीले छेदु प्रसाद चौधरी र लक्ष्मी प्रसाद चौधरी (कैलाली) को जोडीलाई २१–११ र २१–१५ ले पराजित गरी फाइनलको यात्रा तय गरेका छन्। तीनै चरणका फाइनल खेल सोमबार क्षेत्रीय रंगशाला धनगढीमा हुनेछन्। ‘भव्य समारोहबीच सोमबार फाइनल खेल सञ्चालन गर्दैछौं,’अन्नपूर्ण मिडिया नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले भन्नुभयो, ‘फाइनल खेलमा विजेता बन्ने मेन्स सिंगल, पुरुष सिंगल र पुरुष डबल्सका विजेताहरुले पाँचै क्षेत्रबाट छानिएर आएका खेलाडीसंग काठमाडौंमा प्रतिस्पर्धा गर्नेछन्।’

                 क्षेत्रीय स्तरको खेलमा जितेका खेलाडीहरुलाई काठमाडौंमा खेल खेल्न आउँदा/जाँदा यातायात खर्च आयोजकले उपलब्ध गराउने उहाँले बताउनुभयो। ‘विगतमा हामीले उपत्यकामा मात्र कर्पोेरेट ब्याटमिन्टन प्रतियोगिता गर्दै आइरहेका थियौं।’उहाँले भन्नुभयो।प्रतियोगितामा सुदूरपश्चिमका ६८ जना खेलाडीहरुले सहभागी छन्। पुरुष डबल्समा २२ जोडी, पुरुष सिंगलमा १६ जना र महिला सिंगलमा ८ जनाले सहभागिता जनाएका हुन्।

                    अन्नपूर्ण मिडिया नेटवर्कले, शनिबारदेखि सुरु गरेको सुदूरपश्चिमाञ्चल स्तरीय क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिताको सोमबार फाइनल खेल हुनेछन्। यस्तै, मध्यपश्चिमको नेपालगञ्जमा, वैशाख १७ देखि १९ गते, मध्यपश्चिमाञ्चलको बुटबलमा पनि १७ देखि १९ गते, पोखरामा वैैशाख २१ देखि २३ गते र पूर्वाञ्चलको इटहरीमा वैैशाख २ देखि २८ गते सम्म क्षेत्रीय प्रतियोगिताको आयोजना गर्नेछ।

                   सबै प्रतियोगितामा प्रथम र द्वितिय हुने खेलाडीलाई आवात जावातका लागि यातायात खर्च दिएर अन्नपुर्ण मिडिया नेटवर्कले काठमाण्डौं बोलाउने र देशैभरबाट छनौटमा परेका खेलाडीले काठमाडौंमा अन्य १४ वटा देशका अन्तर्राष्ट्रिय खेलाडीहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्