Logo

भारतीय चलचित्र महोत्सवमा नेपाली कलाकारहरुको सहभागिता

वैशाख ३, २०७४ ,अस्ट्रेलियामा एक महिनापछि हुन लागेको भारतीय महोत्सवमा नेपाली कलाकार र चलचित्रले सहभागिता जनाउने भएका छन् । महोत्सवमा कलाकार सुनील थापालाई विशेष सम्मान प्रदान गरिने भएको छ ।

अस्ट्रेलियाको सिड्नीमा मे को ७ देखि १३ तारिखसम्म  हुन लागेको भारतीय चलचित्र महोत्सव तथा अवार्डस् अफ अस्ट्रेलियामा दुई नेपाली चलचित्र र कलाकारद्वय सुनील थापा र वर्षा शिवाकोटीले सहभागिता जनाउने भएका छन् । फेण्ड्रस इण्डिया इन्टरटेन्टमेन्टले पहिलोपटक आयोजना गरेको महोत्सवमा भारतका दिग्गज कलाकारसँगै नेपाली कलाकारहरुलाई समेत सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा भारतीय र नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप कलाकार सुनील थापालाई विशेष सम्मान समेत गरिने भएको छ । महोत्सवमा भारतका चर्चित कलाकारहरु धमेन्द्र, जीतेन्द्र, शक्ति कपुर, जिम्मी शेरगिल, इलायना डिक्रुज, एकता कपुर, राकेश रोशन, जावेद अख्तर, सोनु निगम लगायतका कलाकारहरुले सहभागिता जनाउँदैछन् भने पाकिस्तानका कलाकारहरुको समेत उल्लेख्य सहभागिता रहनेछ ।

महोत्सवमा नेपाली चलचित्रको तर्फबाट दीपेन्द्र के खनालको चलचित्र लभ लभ लभ र अपील विष्टको झुम्की प्रदर्शन गरिनेछ । नेपाली चलचित्र तथा कलाकारहरुको संयोजक गरिरहेका चलचित्र निर्देशक मनोज अधिकारीले नेपाली चलचित्रलाई भारतीय र पाकिस्तानी दर्शक, समीक्षकसमक्ष प्रस्तुत गर्न पाउनु गर्वको विषय भएको बताए । अस्ट्रेलियामा आयोजना गरिएको चलचित्र महोत्सव दक्षिण एसियाकै सबैभन्दा ठूलो भएको अधिकारीले दाबी गरे ।

सिड्नीको इभेन्ट सिनेमामा मे ७ देखि ११ तारिखसम्म भारतीय, नेपाली र पाकिस्तानी चलचित्रको प्रदर्शनी गरिनेछ भने सिड्नीकै डार्लिङ्ग हार्बरमा रहेको सिड्नी इन्टरनेसनल कन्भेन्सन एण्ड एक्जिभिसन सेन्टरमा १३ तारिखका दिन समापन तथा सम्माान कार्यक्रम आयोजना गरिने अधिकारीले जानकारी दिए ।

एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्