Logo

पाँच वर्षदेखि लोकगायक ओछ्यानमा

 आलु र तामा हजुर छेपारोलाई जामा
भ्यागुतालाई इस्टकोट…

रेडियो नेपालमा ४१ वर्षदेखि घन्किरहने यही पुरानो गीतका गायक सोमबहादुर लामा घलान पाँच वर्षदेखि ओछयानमा छन् । आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । पक्षाघात पीडित उनी ५ वर्षदेखि हेटौंडा १० स्थित घरमै छन । २०६८ चैतदेखि उनको स्वर बन्द भएको थियो । हिँडडुल गर्न पनि सक्दैनन् । कोठाभित्र घिस्रेर यताउती गर्छन्। दिसापिसाव गर्न परिवारको सहयोग लिनुपर्छ ।

वि .सं. १९९९ मा भीमफेदीमा जन्मेका उनको घरमा ७१ वर्षीया पत्नी मात्र साथमा छिन् । एउटै छोरा अहिले दुबईमा रोजगारीमा छन् । छोराले पठाएको पैसाको भरमा घलान परिवारले प्राण धानिरहेका छन । स्वर बसेको र हिँडडुल गर्न नसक्ने भएपछि उनी भेट्न आउनेहरूसँग कुरा गर्न सक्दैनन् । आँसु झार्दैै अनुहार बिगारेर रुन्छन् मात्र । दुवै खुट्टा टेक्न हुँदैन । हात राम्ररी चल्दैनन् । भेट्न जाने साथीहरूले नेवारी, तामाङ र अंग्रेजी भाषामा बोले पनि राम्रैसँग बुझ्छन । आँखा र हातको इसाराले उत्तर दिने प्रयास गर्छन् ।

                         रेडियो नेपालमा २०३२ मै उनले रेकर्ड गरेको गीत ‘आलु र तामा… पछिल्लो पुस्तामा पनि जिब्रोमा झुन्डिएको एउटा लोकप्रिय गीत हो । घलानका केही साथीभाइ र गायन क्षेत्रका व्यक्तिहरू अहिले पनि निवासमा पुगेर उनलाई उत्साहित बनाउने गरेका छन् । ‘गायक घलान प्रतिभावान् र इमानदार व्यक्ति हुन्,’ उनको बाल्यकालदेखिको साथी देवप्रसाद श्रेष्ठले भने, ‘नियमित औषधि सेवन र व्यायाम नगर्दा उनलाई पक्षाघात भयो ।’ उच्च रक्तचापको औषधि सेवन गरिरहेका घलानले केही दिन खान छोड्नेबितिक्कै उनलाई पक्षाघात भएको परिवारले दाबी गरेको छ । घलानको उपचारका लागि मकवानपुर चेली समाज, मकवानपुर युवा समाज, काठमाडौंका विभिन्न संघसंस्थाहरूले सहयोग गरेका थिए । अहिले सहयोगको क्रम पनि टुटेको छ । पक्षाघातको रोगको कारणले थला परेका पतिलाई एक्ली पत्नीले स्याहार–सुसार गर्दै आएकी छन् । गायक घलान भने घिस्रेर घरको गेटमा आएर बाहिरी संसार हेरेर बस्छन् ।

व्हिलचेयरको अभावले गर्दा उनी यताउती गर्न पनि पाएका छैनन् । हातले इसारा गर्दै गायक घलानले भने, ‘व्हिलचियर भएको भए यताउती जान सकिन्थ्यो, छैन, के गर्ने ।’ उनको पत्निले पनि ‘व्हिलचियर भएको भए सजिलो हुन्थ्यो, किन्नलाई पैसा छैन,’ भनिन् । उनी बसेको कोठाको भित्ता प्रशंसा पत्र र सम्मान पत्रहरूले भरिएका छन् । कहिलेकाहींं उनी त्यही प्रमाण पत्र र सम्मान पत्र हेरेर एकोहोरो बन्दै आँखाबाट तररर आँसु झार्छन् । थला पर्नुअघिसम्म मकवानपुरमा तामाङ संस्कृति र परम्पराको जगेर्नाका लागि विभिन्न संस्थामा गायक घलान क्रियाशील थिए ।

आयआर्जनको कुनै पनि माध्यम नभएको गीतकार घलान तामाङ समुदायमा जिल्लामा नै एसएसली उत्तीर्ण गर्ने पहिलो व्यक्तिसमेत हुन् । भीमफेदी स्कुलबाट एसएलसी उत्तीर्ण गरेका लामाले काठमाडांैबाट आईए पास गरे । तामाङ भाषाको र लोकगीतको गरी दुइटा एल्बम बजारमा ल्याउने तयारी गरिरहेको अवस्थामै उनी थला परेकाले यो कार्य पनि पूरा हुन सकेको छैन । नेपालका अधिकांश स्रष्टाले जीवनका पछिल्लो कालखण्डमा उपचार नपाएर अशक्त र दु:खदायी जीवन व्यतीत गरिरहेको अवस्थामा उनले पनि यो नियति भोगिरहेका छन् ।

प्रकाशित: वैशाख ३, २०७४ ,

साभार- कान्तिपुर

 

प्रतिक्रिया दिनुहोस्