Logo

मेसीलाई उछिन्दै रोनाल्डोले बनाए अद्भूत कीर्तिमान, युरोपेली क्लब फुटबलमा सय गोल

रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युरोपेली क्लब फुटबलमा एक सय गोल गर्ने पहिलो खेलाडी बन्न पुगेका छन्। उनले बुधबार राती (नेपाली समयअनुसार विहिबार बिहान) च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत वायर्न म्युनिखविरुद्ध पहिलो लेगको खेलमा २ गोल गर्दै यो कीर्तिमान बनाएका हुन्।

लामो समयदेखि गोलविहिन बनेका रोनाल्डोले आज ४७ र ७७ मिनेटमा दुई गोल गरेका थिए। उनले यो सिजन च्याम्पियन्स लिगमा ६ सय ५९ मिनेटपछि गोल गरेका हुन्। यो सिजनको च्याम्पियन्स लिगमा उनको ४ गोल हो। उनकै दुई गोलका कारण म्याड्रिडले वायर्न म्युनिखलाई उसैको घरमा २–१ गोलले पराजित गर्यो। म्युनिखविरुद्ध उनको पछिल्लो पाँच भिडन्तमा यो पाँचौ गोल थियो।

रोनाल्डोले इङ्ल्यान्डको म्यानेचस्टर युनाइटेडमा आवद्ध हुँदा युरोपेली प्रतियोगितामा १६ गोल गरेका थिए। रियल म्याड्रिडबाट भने उनको ८४ गोल थियो। ३२ वर्षीय रोनाल्डोले यो उपलब्धी चुम्न १० वर्ष २ दिन कुर्नु परेको थियो।

उनी र बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीबीच सय गोलका लागि ठूलो प्रतिस्पर्धा थियो। जसमा रोनाल्डोले मेसीलाई उछिनेका छन्। सन् २००७ को अप्रिल १० मा रोमाविरुद्ध म्यानचेस्टरबाट खेल्दै उनले युरोपेली क्लब फुटबलमा पहिलो गोल गरेका थिए।

उनले १ सय ४७ खेलमा यो उपलब्धी चुमेका हुन्। उनी पछि मेसीले १ सय १८ खेलमा ९७ गोल गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्