अमेरिकाको युटाहमा कोरोना संक्रमणबाट ८ हजार मिंकको मृत्यु
वासिङ्टन डिसी – अमेरिकाको युटाहमा कोरोना संक्रमणबाट कम्तीमा ८ हजार मिंकको मृत्यु भएको खुलासा भएको छ । रेशमी र आकर्षक भुत्ला भएको यो जनावरमा पहिलोपटक अगस्तमा भाइरस संक्रमण देखिएको जनाइएको छ । जुलाईमा केही किसानहरु बिरामी भएलगत्तै मिंकमा पनि भाइरस देखिएको हो । प्रारम्भिक शोध अनुशार भाइरस मान्छेबाटै मिंकमा सरेको देखिएको छ । मिंकबाट मान्छेमा सरेको कुनै पनि मामला आएको छैन । अमेरिकामा मिंकमा महामारी फैलिएको यो पहिलो पटक हो । यद्यपी नेदरल्याण्ड, स्पेन, डेनमार्क लगायतका देशमा भने मिंकमा कोरोना संक्रमण देखिएको थियो ।
मिंकलाई पनि कोरोना संक्रमण भएपछि मान्छेकै जस्तो लक्षण देखिने गरेको जनाइएको छ । स्वास फेर्न गाह्रो हुने लगायतका लक्षण बढ्दै गएपछि संक्रमण भएको भोलिपल्टै मिंकको मृत्यु हुने गरेको पाइएको छ । तर अन्य कैयन जनाबरहरु कोरोनाबाट प्रभावित नहुँदा मिंक के कारणले प्रभावित भयो भन्नेबारे केही स्पष्ट छैन ।