Logo

‘जी न्युजले सगरमाथा भारतले दावी गर्नुपर्छ भन्दा पनि ओली सरकार किन मौन ?’

काठमाण्डौं – भारतीय टेलिभिजन जी न्युजले सगरमाथा भारतले आफ्नो दावी गर्नुपर्ने रिपोर्ट बजाउँदा पनि ओली सरकार मौन बस्नु रहस्यमय रहेको नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी/लेलिनवादी (माले) ले जनाएको छ । बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माको अन्तरवार्ता लिएका जी न्युजका सम्पादक सुधीर चौधरीले सगरमाथा आधार शिविर कालापत्थरमै पुगेर सगरमाथालाई ‘माउन्ट सिकन्दर ’ नाम दिनुपर्ने र त्यसमाथि भारतले विश्वसामु दाबी गर्नुपर्ने भन्दै रिपोर्ट बजाएका थिए ।

नेपाल सरकारको नापी विभाग र चीन सरकारको स्वतन्त्र मापन पश्चात सगरमाथाको उचाइ ८८४८.८६ मिटर प्रमाणित भएको एक महिना नहुँदै भारतीय मिडियाबाट भएको अनर्गल प्रचारको मालेले कडा विरोध गरेको हो । मालेका महासचिव सीपी मैनालीले विज्ञप्ति जारी गर्दै राष्ट्रियताको यस्तो संवेदनशील विषयमा सरकार मौन रहेकोप्रति प्रश् नसमेत गरेका छन् । यस विषयमा सरकारले भारत सरकार समक्ष आपत्ति जनाउँदै ध्यानाकर्षण गराउन माग गरेका छन् ।

‘राष्ट्रियतासम्बन्धी यस्तो संवेदनशील बिषयमा नेपाल सरकारको मौनता रहस्यपूर्ण छ । हामी नेपाल सरकारले भारत सरकार समक्ष उपरोक्त बिषयबारे गम्भीर आपत्ति जनाउँदै त्यसले आफ्ना सञ्चार माध्यमलाई सही मार्गदर्शन गरोस् भनी त्यसको ध्यानाकर्षण गर्न जोडदार माग गर्दछौं,’ नेकपा मालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्