Logo

एसिड आक्रमण गर्नेलाई दिइने दण्ड सजाय बढाउन महिला समितिको निर्देशन

कारोबार आज ,२०७७ साल साउन २० गते मंगलवार ,काठमाण्डौं – प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले एसिड आक्रमण गर्नेहरूलाई दिइने दण्ड सजाय बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले सोमबार एसिड आक्रमणका पीडितसँग छलफल गरेपछि एसिड आक्रमण गर्नेहरूलाई दिइने दण्ड सजाय कम भएको निष्कर्ष सहित सम्बन्धित कानुनलाई समय सापेक्ष परिमार्जन गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

यसका लागि समन्वय गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महिला आयोगलाई समेत निर्देशन दिइएको छ ।छलफल पछि समिति सभापति निरुदेवी पालले बैठकका निर्णयहरू सुनाउँदै उत्पीडन तथा एसिड आक्रमण सम्बन्धी कानुनी व्यवस्था र दण्ड सजायलाई समय सापेक्ष परिमार्जन गर्न आवश्यक देखिएकाले सम्बन्धित विद्यमान कानुनमा आवश्यक संशोधन गर्ने कार्यलाई तत्काल अगाडि बढाउन निर्देशन दिइएको उल्लेख गर्नुभयो ।

समितिले एसिड आक्रमणका उजुरी तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । बैठकमा सांसदहरूले बजारमा एसिड सहज रूपमा उपलब्ध हुने भएकाले आक्रमणका घटनाहरू घटिरहेको उल्लेख गर्दै विक्री वितरणमा कडाइ गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्