ढुङ्गा ठगी अभियोगमा ४ जना पक्राउ
कारोबार आज, २०७७ साल साउन १३ गते मंगलवार, पर्वत – नक्कली बहुमूल्य ढुङ्गा देखाई ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा फलेवास नगरपालिका- ५ खानिगाउँ बस्ने ४० वर्षीय निर्मल विक, निज बिककी श्रीमती ३६ वर्षीया गुमा विक, जलजला गाउँपालिका-३ डेरा गरी बस्ने बागलुङ, बागलुङ नगरपालिका-१४ बलेवा घर भएका ३५ वर्षीय मञ्जिल शाह र म्याग्दी बेनी नगरपालिका-२ ज्यामरुक घर भई सोही नगरपालिका-७ हुलाकचोक डेरा गरी बस्ने २४ वर्षीय मनिष बोहोरा रहेका छन् ।
निर्मल विकले स्याङ्जा चापाकोट नगरपालिका-६ स्थायी घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका-८ सुख्खाटोल बस्ने देव बहादुर मल्ललाई आफूसँग बहुमूल्य ढुङ्गा छ भन्दै लोभ देखाई ५० हजार रुपैयाँ लिएर पत्नी गुमाको नाममा पर्वत जिल्लाको ठेगानामा पठाएको र उक्त ढुङ्गा नक्कली समेत भएको अनुसन्धानको क्रममा खुल्न आए पश्चात उक्त कार्यमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ व्यक्तिहरु उपर ठगी सम्बन्धी मुद्धा शीर्षकमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।