Logo

लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल बन्ने

स्तावेज , बैशाख १८ गते मंगलवार २०७५, कपिलवस्तु – लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल बन्ने भएको छ । बुद्धजयन्तीको अवसरमा सोमबार राष्ट्रपति विध्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गरेकी छिन्।

लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिक लगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन लागेको हो । ठूलो क्षमताको हल नहुँदा धेरै समस्या भएपछि लुम्बिनी विकास कोषले देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्र सहितको सभाहलको निर्माण कार्य सुरु गरेको हो । केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा लुम्बिनीमा पाँच हजार क्षमताको हल बनाउने घोषणा गरेका थिए । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीको समेत सहभागिता रहेको  छ।

३२ करोड लगानी हुने

लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल निर्माणका लागि झन्डै ३२ करोड खर्च लाग्ने भएको छ । सो हल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले २२ महिनामा सम्पन्न गर्ने बताएका छन्।

सभाहलको निर्माण भएपछि लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन साधना तथा ध्यान गर्न र लुम्बिनीको प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका हुने भनाइ छ । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले भवनको लागत ४१ करोड भए पनि टेन्डर प्रक्रियामा जाँदा ३१ करोडको हारहारीमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको बताए ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्तीको खर्च साढे ६ करोड

यस वर्षको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्तीमा साढे ६ करोड खर्च भएको छ । विगत वर्षहरूमा ५० देखि ७० लाखसम्म खर्चमा हुने गरेको थियो । तीन हजार क्षमताको अस्थायी सभाहल निर्माण गर्नका लागि कोषले चार करोड रुपैयाँ खर्च गरेको छ भने अन्य कार्यक्रमका लागि दुई करोड पचास लाख खर्च गरेको छ । दुईदिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनसमेत भएकाले यसपटक बढी खर्च भएको लुम्बिनी विकास कोषले जनाएको छ।

बुद्धजयन्ती मंगलबार समापन हुने भएको छ । बौद्ध धर्मग्रन्थअनुसार लुम्बिनीमा जन्मिएका बुद्धलाई अर्को दिन तिलौराकोट दरबार लगिएको थियो । सोही परम्परालाई कायम राख्दै लुम्बिनी विकास कोषले सोमबार विभिन्न तामझामका साथ २५६२औँ बुद्धजयन्ती मनायो । मंगलबार लिटिल बुद्धलाई सझाएर लुम्बिनीदेखि कपिलवस्तुको तिलौराकोट दरबारसम्म विभिन्न झाँकीका साथ दरबारमा भित्र्याएर बुद्धजयन्तीको समापन गरिने लुम्बिनी विकास कोषले जनाएको छ।

लुम्बिनीबारे भ्रम हटाउन कूटनीतिक पहलः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई विश्वकै आकर्षक एवं पवित्र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताएका छन् । २५६२औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०७५ लाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीलाई शास्त्रहरूमा वर्णन गरिएभन्दा पनि बढी सुगन्धित, पवित्र बगैँचाका रूपमा विकास गर्ने बताए । उनले लुम्बिनीको विकास गर्न सरकार योजनाबद्ध ढंगले अघि बढेको बताए।

लुम्बिनीमा धूप र ज्ञानको मात्र होइन हावा र फूलको पनि सुगन्ध हुनुपर्ने उनको भनाइ छ । बुद्धका बाणीहरू जहिले पनि सत्यको पक्षमा रहेको उनले बताए । लुम्बिनीलाई हजारौँ वर्ष पहिले यहीँ जन्मेको सम्राट अशोकले स्थापित गरिसकेका कारण यसबारेमा बहस र विवाद गर्न जरुरी नरहेको तर्क गरे । उनले भ्रम एवं गल्ती भएर विभिन्न देशका पाठ्यपुस्तकमा गलत कुरा उल्लेख भएको भए त्यसलाई हटाउन कूटनीतिक पहल गर्ने बताए।

बुद्धजयन्ती राष्ट्रिय पर्वका रूपमा मनाउँछौँः मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षदेखि प्रदेश सरकारले बुद्धजयन्तीलाई राष्ट्रिय पर्वका रूपमा मनाउने बताए । सभालाई सम्बोधन गर्दै भने, ‘अहिलेसम्म लुम्बिनी र स्थानीयहरूबीच समन्वय गर्न नसकिएका कारण लुम्बिनीको अपेक्षित विकास हुन नसकेको हो । अब स्थानीयलाई लुम्बिनीको विकासमा जोड्न रणनीति बनाएर अघि बढ्नुपर्छ।’

यस्तो बन्दै छ भवन

लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल चीनको प्राचीन यिन यान शैलीमा निर्माण गरिने लुम्बिनी विकास कोषले जनाएको छ । ३६ हजार वर्गमिटर क्षेत्रफलमध्ये भवनले मात्रै १० हजार वर्गमिटर ओगट्नेछ । सभाहलको भित्री भागमा कुनै पिल्लर नहुने कोषले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्