Logo

प्रदेश नम्बर १ सेमिफाइनलमा

स्तावेज संवादादाता, बैशाख १७ गते सोमवार, २०७५,काठमाण्डौं – प्रदेश नम्बर १ मनमोहन मेमोरियल यू- १६ क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको पहिलो खेलमा समूह ‘बी’ मा रहेको प्रदेश १ ले प्रदेश नम्बर ६ लाई चार विकेटले हरायो । समूह ‘बी’मा एकएक खेल जितेका प्रदेश १ र प्रदेश तीनले दुईदुई अंक जोड्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्रदेश ६ ले २०.२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । ९५ रनको विजयलक्ष्य पाएको प्रदेश १ ले २६ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । प्रदेश १ को जितमा नभनित कर्णले अविजित २३ रन बनाए । लुभ कामतले २१, अभिषेक बरालले अविजित १५ र दीपेश कँडेलले ११ रन बनाए । बलिङमा प्रदेश ६ का प्रकाश जैसी र दीपक थापाले दुईदुई तथा युवराज केसीले एक विकेट लिए ।

यसअघि प्रदेश ६ का लागि ओपनर प्रकाश जैसीले ३३ रन, बबिनकुमार सारुमगरले १६ र दिनेश पुनले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन जोड्न सकेनन् । बलिङमा १ का दीपेश कँडेलले तीन, लुभ कामत र नवनित कर्णले दुईदुई तथा विपिन महतोले एक विकेट लिए । १ का लुभ कामत खेलको म्यान अफ दी म्याच घोषित भए ।

यसैगरी समूह ‘ए’ को अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ५ ले निर्धारित ३० ओभरमा सबै विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । एक सय ५४ रनको विजयीलक्ष्य पाएको प्रदेश २ निर्धारित ३० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५० रनमा समेटिएको थियो । प्रदेश ५ को जितमा सिजन माकाजूले ६१ रन बनाए । अमृत खुसिलाले १४, विशालविक्रम केसीले १२ र नवीन भट्टराईले १० रन जोडेका थिए । बलिङमा २ का सोनु शर्माले तीन, विवेक यादव र निखिल सिंहले दुईदुई विकेट लिए ।

प्रदेश २ का लागि तीर्थराज दासले ६१ रन बनाए । विवेक यादवले २५, अमृत यादवले १२, सुजित शाहले ११ र इमरान शेखले १० रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । बलिङमा ५ का कुशल मल्लले तीन विकेट लिए । कुशल म्यान अफ दी म्याच घोषित भए । रमेश कुर्मीले दुई तथा दीपेन्द्र राउत र नवीन भट्टराईले एकएक विकेट झारे ।

प्रतिक्रिया दिनुहोस्