Logo

राष्ट्रियसभा निर्वाचन, ३२ सदस्यका लागि ५२ उम्मेदवार चुनावी मैदानमा

                                                           फाईल फोटो

स्तावेज, माघ २४ गते बुधवार,२०७४,काठमाण्डौँ – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गरेका छन् । 

 मतदानका लागि छ वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउन १२ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित  भइसकेकाले त्यहाँ निर्वाचन हुनेछैन ।  आयोगका अनुसार  कूल ५६ सदस्यका लागि हुने निर्वाचनमा २४ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले आज  ३२ सदस्यका लागि ५२ जना उम्मेदवारबीचमात्रै प्रतिस्पर्धा हुनेछ । 

नेपालको संविधानको धारा ८६ मा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । त्यस्तै, सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीनजना समेत गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ । 

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता रहेका छन् । प्रदेश नं २ मा सबै निर्विरोध निर्वाचित आजको निर्वाचनमा बाँकी ६ प्रदेशका स्थानीय तहका एक हजार २३४ र प्रदेशसभाका ४४३ गरी कूल एक हजार ६७७ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । स्थानीय तहका पदाधिकारीको प्रत्येकको मतभार १८ र प्रदेशसभाका सदस्य प्रत्येकको मतभार ४८ हुने कानुनी प्रावधान छ । 

प्रतिक्रिया दिनुहोस्