Logo

प्रदेश प्रमुख र राजधानी तोकियो , कुन प्रदेशमा कुन ठाउँ ?

स्तावेज, माघ ४ गते बिहिवार ,२०७४,काठमाडौं — लामो समयदेखि बहसको विषय बनेको प्रदेश प्रमुख र अस्थायी राजधानीको आज टुङ्गो लागेको छ । सरकारले सातै वटा प्रदेश प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको छ ।  बुधबार ३ बजे बसेको  मन्त्रिपरिषद् बैठकले कांग्रेस र मधेसवादी दलबीच भागबन्डा गरी प्रदेश प्रमुख तोकेर नियुक्ति र शपथग्रहणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।  बैठकले सातवटै प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

 सरकारले प्रदेश १ मा डा. गोविन्द सुब्बा तुम्बहाङलाई प्रदेश प्रमुख तोकेको छ । यस्तै, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकेको हो ।

मन्त्री प्रधानले दिएको जानकारीअनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश १ को अस्थायी मुकाम विराटनगर तोकेको छ । यस्तै, प्रदेश २ को जनकपुर, प्रदेश ३ को हेटौंडा, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ । प्रदेश १ का लागि प्रमुख तोकिएका सुब्बा धनकुटाका स्थानीयवासी हुन् । अंग्रेजी विषयका प्राध्यापक सुब्बाको राजनीतिक पृष्ठभूमि कम्युनिस्ट हुँदै कांग्रेससँग जोडिएको हो ।

प्रदेश २ का लागि प्रमुख तोकिएका कायस्थ महोत्तरीका स्थानीय हुन् । उनी नेपाल सरकारका पूर्व कृषि सचिव हुन् । उनी जलस्रोत विज्ञका रूपमा समेत चिनिन्छन् । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत रहेका उनको राजनीतिक पृष्ठभूमि संघीय समाजवादी फोरम नेपालसँग जोडिएको छ । उनी सो पार्टीका केन्द्रीय सचिव हुन् ।

यस्तै, प्रदेश ३ का लागि प्रमुख तोकिएकी कोइराला काठमाडौंकी स्थानीय हुन् । माइती नेपाल संस्थामा आबद्ध उनी समाजसेवामा सक्रिय छिन् । उनी सीएनएन हिरो विजेतासमेत हुन् । कोइराला गत स्थानीय तहको निर्वाचनमा कांग्रेस प्रवेश गरेकी थिइन् ।

यसैगरी, प्रदेश ४ को प्रमुख तोकिएका कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । अर्घाखाँचीका स्थायी बासिन्दा कुँवर सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता बनेका थिए । उनले लामो समय कांग्रेस निकट कानुन व्यवसायीको संस्था डीएलएमा काम गरेका छन् । प्रदेश ५ को प्रमुख तोकिएका झा पूर्वस्वास्थ्य सचिव हुन् । खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष भएका बेला उनी स्वास्थ्य मन्त्री थिए । उनी राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरका नातेदार हुन् ।

यस्तै, प्रदेश ६ का प्रमुख तोकिएका खनाल सुर्खेतका हुन् । पञ्चायत कालमा कांग्रेसको राजनीति गरेका उनी पूर्वशिक्षक समेत हुन् । बहुदल आएपछि उनी कांग्रेसबाट राष्ट्रिय सभा सदस्य बन्न सफल भएका थिए । यसैगरी, प्रदेश ७ का लागि प्रमुख तोकिएका मल्ल कैलालीका हुन् । राष्ट्रिय पञ्चायतका सदस्यसमेत बनेका उनी राप्रपा हुँदै पछिल्ला दिन कांग्रेस राजनीतिमा सक्रिय छन् ।सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेसँगै निर्वाचन आयोगलाई कार्यतालिका अनुसार राष्ट्रिय सभा निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

अस्थायी राजधानी तोक्ने विषयमा मन्त्रिपरिषदमा पनि विवाद भएको थियो। विवादकै कारण बिहानको मन्त्रिपरिषद् बैठक निर्णय नगरी स्थगित भएको थियो। प्रदेश राजधानीको अन्तिम टुङ्गो भने सम्बन्धित प्रदेश सभाको दुई तिहाई बहुमतले लगाउने प्रावधान संविधानमा छ। दुई तिहाई बहुमतले कुनै स्थान तोक्न सकेन भने अस्थायी राजधानीमै सबै काम हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्