Logo

रानीपोखरी पुनर्निर्माण विवाद : मल्लकालीन शैलीमै बनाउने निर्णय

स्तावेज, पौष १४ गते ,शुक्रवार,२०७४,काठमाडौं – भूकम्पबाट पूर्णरूपमा क्षति भएको रानीपोखरी पुनर्निर्माणको विवाद साम्य भएको छ । रानीपोखरीको पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले पुरानै शैलीमा बनाउने र त्यसका लागि विज्ञहरूको समिति गठन गरेपछि तत्कालका लागि यो विवाद साम्य भएको हो ।  

रानीपोखरीलाई प्रताप मल्लकालीन शैली, स्वरूप र निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गर्ने उद्देश्यले महानगरपालिकाले विज्ञ समिति गठन गर्ने निर्णय गरेको छ । महानगरले बिहीवार रानीपोखरी पुनर्निर्माणका सम्बन्धमा अध्ययन गरी १५ दिनभित्रमा सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरेको छ । समितिको अध्ययन प्रतिवेदन नआउँदासम्मका लागि महानगरले रानीपोखरी निर्माणका लागि हाल भइरहेको काम स्थगितसमेत गरेको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यको हस्ताक्षरमा बिहीवार जारी गरिएको विज्ञप्तिअनुसार उक्त समितिको संयोजकत्वमा पुरातत्त्व विभागका पूर्व–महानिर्देशक विष्णुराज कार्की रहेका छन् । उनको संयोजकत्वमा समितिमा १४ सदस्य रहेका छन् । महानगरका मेयरको अध्यक्षतामा बसेको सो बैठकमा महानगरकी उपमेयर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, पुरातत्त्व विभागका महानिर्देशक लगायत सहभागी थिए ।

३ सय ५० वर्षको इतिहास बोकेको पुरातात्त्विक सम्पदा रानीपोखरी निर्माणको जिम्मा पाएको महानगरले कङ्क्रिटको प्रयोग गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो भने निर्माणका विषयमा मेयर र उपमेयरबीचको भनाइ नै बाझिएको थियो । विवादका कारण बिहीवारको बैठक मौलिकता जोगाउने र पुरानै सामग्रीको प्रयोगबाट रानीपोखरी बनाउने निर्णयमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्