Logo

चलचित्र भैरेको सुटिङ स्पटमै किन रोए बिक्रान्त बस्नेत ?

स्तावेज, मंसिर १९ गते, मंगलवार, २०७४, काठमाण्डौं – बुबा भक्त बहादुर बस्नेत र आमा इन्द्रमाया बस्नेतका सुपुत्रको रूपमा सर्लाही नवलपुरमा जन्मेका नायक बिक्रान्त बस्नेत सात वर्ष लामो अमेरिका बसाइपछि चलचित्र “भैरे” मार्फत नेपाली चलचित्र क्षेत्रमा कमब्याक गरेका छन् । उनको चलचित्र क्षेत्रको आगमनलाई नेपाली दर्शकरुले निकै उत्साहका साथ हेरेका छन् । नेपाली चलचित्र क्षेत्रमा लामो अनुभव सँगालेका नायक बिक्रान्त बस्नेत नेपाली सिनेमाका दर्शकहरुका लागी कुनै नौलो नाम भने होइन । उनले विगतमा धेरै चलचित्रहरुमा काम गरेर दर्शकहरुको मन जितिसकेका छन् ।

दीपक रायमाझीद्दारा निर्देशित चलचित्र बज्रपात,शोभित बस्नेतद्दारा निर्देशित चलचित्र “मिसन लभ इन सिक्किम” र “बारुद’, उकेष दाहालद्दारा निर्देशित चलचित्र “पल पलमा”,मदन घिमिरेद्दारा निर्देशित चलचित्र “मिस्टर डन” र सुमित्रा श्रेष्ठद्दारा निर्देशित चलचित्र “प्रेम युद्ध” लगायत दर्जनौं सुपरहिट चलचित्रहरुमा लगभग काम गरिसकेका नायक बिक्रान्त बस्नेतले नेपाल टेलिभिजन मार्फत नब्बे भागमा प्रसारित भएको ‘किनारा’नामक टेलिसिरियलमा उनले अत्यन्तै मनछुने अभिनय गरी दर्शकहरुबाट अत्यधिक वाहवाही बटुल्न सफल भएका थिए।

बि.सं २०६० सालबाट अनवरत रूपले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका कलाकार बिक्रान्त बस्नेत समाजका एक प्रखर र जोशिला युवा कलाकार हुन् । करिब ३ दर्जनभन्दा बढी चलचित्र क्षेत्रमा उत्कृष्ट अभिनयद्धारा जनताको मन जित्न सफल चर्चित नायक बस्नेतले देशका सुटिङको क्रममा प्राय सबै ठाउँमा पुगेर आफ्नो अभिनय कौशलता देखाईसकेका छन् ।

लामो अनुभव बटुलिसकेका नायक बस्नेत अपर मुस्ताङमा भने गएका रहेनछन् । चलचित्र “भैरे” मार्फत जब उनी मुस्ताङको जोमसोममा पुगे त्यहाँको प्राकृतिक सुन्दरता देखेर उनी भाव विह्वल हुँदै रोए । संसारका थुप्रै देश भ्रमण गरिसकेका नायक बिक्रान्त बस्नेत भन्छन् हाम्रो देशभन्दा सुन्दर देश संसारमै कहिपनि छैन । वास्तवमै हाम्रो देश स्वर्गको एक अनमोल टुक्राभन्दा अत्युक्ति नहोला ।

भावुक स्वभावका नायक बिक्रान्त बस्नेत शरीर हेर्दा जति हृष्टपष्ट देखिन्छन् त्यतिनै कोमल हृदयका धनी पनि छन् । मातृभूमिलाई प्राणभन्दा प्यारो ठान्ने नायक बस्नेत आफ्नो मुटुभन्दा प्यारो देशबाट बिछोडिनुपरेको पीडा कस्तो हुन्छ ? भन्नेकुरा शब्दमा बताउन चाहदैनन् । लामो समय परदेशिएर पुनः चलचित्र “भैरे” मार्फत नेपाली सिने जगतमा उपस्थिति जनाईसकेका नायक बस्नेत आफूलाई अभिनय गर्ने अवसर दिएकोमा चलचित्र “भैरे”का निर्देशक एभरेष्ट सूर्य बोहरा लगायत सम्पूर्ण “भैरे” निर्माण टोलीलाई हार्दिक आभार व्यक्त गर्दछन् ।

आगामी दिनहरूमा चलचित्र क्षेत्रमै मै समर्पित रहने साथै राम्रो सिनेमाहरुमा समय दिने उनी बताउँछन् । “जस्तो पायो त्यस्तै सिनेमामा समय दिनु भनेको समयको बर्बादी मात्र हो ।” त्यसैले थोरै चलचित्रमा अभिनय गर्ने तर प्रभावकारी भूमिका,कुशल निर्देशक र असल टिम हेरेर मात्र अबका दिनहरूमा कामगर्ने र कामगर्दै जाने सोच उनको रहेको छ । नेपाली सिनेमाको फैलदो बजार अवस्थाले नेपाली सिनेमा क्षेत्रको भविष्यप्रति उनी निकै उत्साहित रहेका छन् ।

एकातिर नेपालमा नेपाली सिनेमाहरूले करोडौंको व्यापार गर्न सफल भएका छन् भने अर्कोतिर विश्वको ओस्कार अवार्ड लगायत ठुला ठुला अवार्डहरुको ढोका ढकढक्याउने काम समेत गरिरहेको कारणले नेपाली चलचित्रको भविष्यप्रति आफू निकै आशावादी भएको उनको ठहर छ ।

” घमण्डले मानिस लाई पतन गराउँछ ” त्यसैले म कहिल्यै घमण्डी पनि थिइन र हुनेपनि छैन । मेरो सफलता भनेको नै नेपाली दर्शकको सफलता हो उहाँहरूको मायाले गर्दा नै मैले यो सफलता प्राप्त गरेको हुँ भने म कसको लागि घमण्ड गर्ने रु जात,थर, धर्म,वर्ग र कुन राजनीतिक विचारधारा भएका मानिसहरूले कार्यक्रमको आयोजना गरेका हुन् मलाई त्यो कुराले रत्तिभर पनि छुदैन ! उनी भन्छन् मलाई अरू कुनै कुराको पर्वाह छैन, “मलाई मतलब छ त केवल एउटा कुराको मात्र त्यो हो नेपाली सिनेमा,कला,साहित्यको उत्थान हुन्छ कि हुँदैन र त्यसले नेपाली सिनेमाको उत्थान ,प्रचार,प्रसार र उन्नति हुन्छ भने आफू अहोरात्र खटेर काम गर्नेछु ।”

विगतमा जसरी मेरा आदरणीय दर्शकहरुबाट मैले प्रशस्त माया र हौसला पाएको थिएँ अबपनि चलचित्र ‘भैरे’मार्फत अझै बढी नेपाली सिनेमाका दर्शकको माया भरोसा र उत्साह पाउने कुरामा म आशाबादी छु, र आगामी दिनहरूमा सम्पूर्ण रूपमा मेरो कला, सीप, जोस , जाँगर सबै देशको लागि नै अर्पण गर्नेछु ।

समयको उतार चढावले आफू निक्कै परिपक्व भएको र समयलेनै आफूलाई धेरै कुरा सिकाएको भन्दै अबको यो समय बल्ल प्रतिस्पर्धाको  रुपमा नेपाली सिने क्षेत्रमा उत्रिन तयार रहेको बताउने नायक बस्नेत बाँकी दिनहरूमा आफ्नै देशको लागि पसिना बगाउने प्रतिबद्धता व्यक्त गर्दछन् । चलचित्र “भैरे” का कलाकार बिक्रान्त बस्नेतको भविष्यको योजना छिट्टै पुरा होस् । दस्तावेज डट कमको तर्फबाट अग्रिम शुभकामना !

 Deepshikha Sharma

[email protected]

प्रतिक्रिया दिनुहोस्