Logo

कांग्रेस उम्मेदवारको गाडीमा बम प्रहार

स्तावेज, मंसिर ४ गते, सोमबार,२०७४,सिमरा बारा – सिमरामा रोकी राखेको कांग्रेस उम्मेदवारको गाडीमाथि बम प्रहार भएको छ। आज बिहान ५ः३० बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताएका छन् । 

नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ४ (क) उम्मेदार ओमकृष्ण कार्कीको चुनावी प्रचारप्रसारका लागि खटिएको बा १४ च ६३३० नं. को स्कारफी गाडीमा सोमबार बिहान प्रेसरकुकर बम प्रहार भएको हो। जिल्ला वन कार्यालयको पछाडिपट्टि चालक राधाकृष्ण साह ठकुरीले आफ्नै घरमा पार्किङमा राखेको गाडीमा अज्ञात व्यक्तिले गाडीको तलपट्टि प्रेसरकुकर बम राखेर फरार भएको जनाइएको छ।

बम प्रहारबाट गाडीमा क्षति भएको नेपाली कांग्रेस बारा क्षेत्र नं ४ (क) प्रचारप्रसार विभाग संयोजक हरिप्रसाद थपलियाले जानकारी दिए। घटनामा गाडीभित्र राखिएको प्रचार साम्रगी, गाडीका सिसाहरुमा क्षति भएको छ। सो घटनाबारे इलाका प्रहरी कार्यालय सिमराले सिसी क्यामेराको माध्यमबाट अनुसन्धान सुरु गरिसकेको प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए। घटनामा कुनै मानवीय क्षति नभएको र घटनामा कसको संग्लना छ भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।जिपमा विस्फोट भएकामा मानवीय क्षति नभई गाडीमा सामान्य क्षति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्